Victoria College Dang

खसी बिक्री गरेर तीन करोड आम्दानी – Page 2019 – दाङ खबर

खसी बिक्री गरेर तीन करोड आम्दानी

MadanBhandari College

तनहुँ साउन २९ । तनहुँको भिमाद नगरपालिका–९ भानुमतीकी नरमाया थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । गत वर्ष रु आठ लाख मूल्य बराबरका खसीबोका बिक्री गरेका उनले त्यही रकमले अहिले घरखर्च चलाउँदै आएका छन। उनले ३५ वटा बाख्रा पालेका छन् । सोही ठाउँका श्रीमाया आलेले गत वर्ष रु ६ लाख मूल्य बराबरको खसीबोका बिक्री गरे । त्यस्तै सोही ठाउँकै डिलमाया आलेले पनि गत वर्ष रु ६ लाख मूल्य बराबरको खसीबोका बिक्री गरे । घिरिङ गाउँपालिका–५ माझकोटका नन्दवीर थापाले पनि गत वर्ष रु पाँच लाख बराबरको खसीबोका बिक्री गरे ।

थापा र आले मात्र होइन, यहाँका अधिकांश महिलाले बाख्रापालनबाट आयआर्जन गर्दै आएका हुन् । तनहुँ, लमजुङ र कास्कीका बाख्रापालक कृषकले गत वर्ष खसीबोका बिक्री गरेर रु तीन करोडभन्दा बढी आम्दानी गरेका छन् । हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँको साझेदारीमा तीन जिल्लामा सञ्चालित ‘पशुवस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको संस्था सबलीकरण परियोजना’ मार्फत गठन भएका नौ वटा सहकारीमार्फत कृषकले रु तीन करोड ४४ लाख १७ हजार ५५९ को खसीबोका बिक्री गरेका छन् ।

सहकारीमा आबद्ध ९०० भन्दा बढी कृषकले बढीमा रु आठ लाखसम्म खसीबोका बिक्री गरेर आम्दानी गरेको नेपाल एकीकृत ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सहकारीमा आबद्ध कृषकले सहकारीमार्फत खसीबोका बिक्री गरेका छन् । सहकारीले कृषकले उत्पादन गरेको खसीबोका खरीद गरी व्यापारीलाई सिधै बिक्री वितरणको व्यवस्था मिलाएको थियो ।

भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट ४४६ खसी बिक्रीमार्फत रु एक करोड २५ लाख ३६ हजार ४५७, भिमाद नगरपालिका–४ स्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट २३६ खसी बिक्रीमार्फत रु २५ लाख ५१ हजार ५००, शुक्लागण्डकी नगरपालिका–१ स्थित दिदीबहिनी कृषि सहकारीबाट १४६ खसी बिक्रीमार्फत रु १३ लाख दुई हजार ८०५, घिरिङ गाउँपालिका–५ स्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीबाट ५१३ खसी बिक्रीमार्फत रु ५६ लाख ६१ हजार २०९, घिरिङ गाउँपालिका–२ स्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीबाट २४३ खसी बिक्रीमार्फत रु २० लाख २९ हजार १७१, व्यास नगरपालिका–८ स्थित शुभदीप सामाजिक उद्यमी महिला सहकारीबाट १५९ खसी बिक्रीमार्फत रु १४ लाख ७९ हजार ८ सय ३४, मध्यनेपाल नगरपालिका–१ स्थित सप्तधारा सामाजिक उद्यमी महिला सहकारीबाट ४१९ खसी बिक्रीमार्फत रु ४७ लाख ४२ हजार १५, सुन्दरबजार नगरपालिका–१ स्थित भगिरथी सामाजिक उद्यमी महिला सहकारीबाट २३१ खसी बिक्रीमार्फत रु २३ लाख ९६ हजार ७४३ र मादी गाउँपालिका–९ स्थित मिजुरे सामाजिक उद्यमी महिला सहकारीबाट २२० खसी बिक्रीमार्फत रु १७ लाख १७ हजार ८२५ आम्दानी भएको छ । कार्यक्रम संयोजक पौडेलका अनुसार उक्त अवधिमा ती सहकारीमा आबद्ध ९०० कृषकले दुई हजार ६१३ खसी बिक्री गरेका थिए ।

किसानले उत्पादन गरेको खसीबोका गाउँबाटै बिक्री गर्ने र बढीभन्दा बढी मूल्य कृषकले पाऊन् भनेर सहकारीमार्फत खसी बिक्री गर्ने व्यवस्था मिलाइएको भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवी मोक्तान आलेले जानकारी दिए । ‘मूल्यशृङ्खलाका पात्र घटाएर कृषकलाई सेवा दिन सहकारीमार्फत खसी बिक्री गर्ने व्यवस्था मिलाइएको थियो’, उनले भने ।

भगिरथी सामाजिक उद्यमी महिला सहकारीकी व्यवस्थापक शोभा बरालका अनुसार कृषकलाई सहज होस् भन्ने उद्देश्यले सहकारीले गाउँमै हाटबजारको व्यवस्था गरी खसी बिक्री गर्ने व्यवस्था मिलाएको थियो ।

बाख्रापालक कृषकले पशु आहारा व्यवस्थापनका लागि उन्नत जातका घाँस नर्सरी स्थापना गरेका छन् । बाख्रालाई खुवाउनका लागि सहकारी संस्थाले नै सुधारिएको दाना उत्पादन गरेर सदस्यहरुलाई बिक्री गर्ने व्यवस्था मिलाएको छ भने सूक्ष्म पोषक तत्वका लागि खनिज ढिक्काको व्यवस्था पनि सहकारीले नै मिलाउने गरेको छ ।

परियोजना सञ्चालनपछि व्यावसायिक बाख्रापालन

चार वर्षअगाडि परम्परागत रुपमा बाख्रापालन गर्ने यहाँका कृषक अहिले व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका छन् । दुई÷चार वटा मात्रै बाख्रा पालेका कृषकले अहिले ४०÷४५ वटा बाख्रापालन गरिरहेका छन् । हेफरको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्रले सञ्चालन गरेको परियोजनामा चार हजारभन्दा बढी कृषक आबद्ध छन् ।

परियोजनामार्फत बाख्रापालक कृषकलाई पशु स्वास्थ्य शिविर, घाँसको बीउ बेर्ना वितरण, तालीम र बजारीकरणमा सहयोग पु¥याउँदै आएको कार्यक्रम संयोजक पौडेलले जानकारी दिए । पहिलो चरणको तीनवर्षे कार्यक्रम सम्पन्न भएर दोस्रो चरणको कार्यक्रम अहिले दोस्रो वर्षमा प्रवेश गरेको छ ।

‘परियोजना सञ्चालन भएपछि परम्परागत रुपमा बाख्रा पालिरहेका कृषक व्यावसायिक बनेका छन्’ उनले भने, ‘जसले गर्दा कृषकको जीवनशैलीमा परिवर्तन आएको छ ।’ परियोजनाको अनुदान र कृषकको साझेदारीमा सुधारिएको खोर निर्माण गरिएको छ । पौडेलका अनुसार प्रत्येक सहकारीमा दुई जनाका दरले ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तयार गरिएको छ ।

भानुमतीकी दिलमाया थापाले हेफरको साझेदारीमा परियोजना सञ्चालनपछि व्यावसायिक बन्नुपर्छ भन्ने प्रेरणा जागेको बताए । परियोजनाको शुरुआतसँगै उक्त वडामा सञ्चालन गरिएको आधारशिला तालीमको प्रभाव स्वरुप व्यावसायिक बाख्रापालनमा लागेको उनले बताए ।

आधारशिला तालीमअन्तर्गत पशु तथा स्रोतको उचित व्यवस्थापन तालीम लिएपछि गाउँमै बसी बाख्रापालन गर्नुपर्छ भन्ने सोचाइ आएको स्थानीयवासी नरमाया थापाले बताए । गाउँबाट बसाइँसराइ गर्ने मनसायसहित बजारमा घर किनिसके पनि तालीमको प्रभावले बसाइँसराइको योजनालाई थाती राखेर व्यावसायिक बाख्रापालनतर्फ लागेको उनले बताए । ‘अहिले बाख्रापालनबाट वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी हुने गरेको छ’, उनले भने, ‘बाख्रापालनबाट सन्तुष्टि मिलेको छ ।’

एक गाउँः एक उत्पादन

आँबुखैरेनी गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउन ‘एक गाउँ : एक उत्पादनको नीति’ अवलम्बन गरिएको छ । गाउँअनुसारको सुहाउँदो खेती गर्नका लागि कृषकलाई अनुदानको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए । उनका अनुसार पौवा, पतेनी, ढेडेगाउँ, छापस्वाँरा, ज्यामिरेमा अमिलो र कागती, नयाँ गाउँमा सुन्तला, भाँगेमा गोलभेडा, हिलेखर्क, जालभञ्ज्याङमा टिमुर र कफी खेतीमा अनुदानको व्यवस्था गरिएको छ । उक्त गाउँबाट उत्पादित वस्तुको व्यवस्थापन तथा बिक्री वितरणका लागि हाटबजारको व्यवस्था मिलाइने उनले जानकारी दिए ।

आर्थिक कारोवारलाई प्रभावकारी एवं पारदर्शी बनाउन, आयस्तर र बचतमा अभिप्रेरित गर्नका लागि सबै परिवारमा एक घर एक बैंक खाता खोल्ने नीति लिएको गाउँपालिकाले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चितताका लागि हरेक वडामा स्वास्थ्य संस्था स्थापना गर्ने भएको छ ।

वडा कार्यालय जोड्न सडक सञ्जाल

आँबुखैरेनी गाउँपालिकाले सम्पूर्ण वडामा सहज सडक पहुँच पु¥याउने भएको छ । गाउँवासीलाई सहजरुपमा वडा कार्यालयसम्म पुग्ने व्यवस्था मिलाउन गाउँपालिकाले सडक पहुँच तथा वडा कार्यालय जोड्ने पक्की सडक सञ्जाल निर्माणको प्रक्रिया अगाडि बढाउन लागेको हो ।

छवटै वडासम्म पुग्ने सडक कालोपत्रेलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए । ‘गाउँपालिकाका धेरै वडा कार्यालय पुग्ने बाटो कच्ची छ’, उनले भने, ‘वडा कार्यालयसम्म पुग्ने बाटो कालोपत्रे गर्ने नीति अवलम्बन गरी कार्ययोजना बनाइएको छ । गाउँपालिकाले नयाँ ट्रयाक खोल्ने कामलाई नित्साहित गर्ने र गाउँपालिकाभित्रका सबै सडकको मापदण्ड, सडक सीमा कार्यविधि तयार गरी लागू गर्ने तयारी गरेको थापाले बताए । उनका अनुसार गाउँपालिका गौरव तथा वडा गौरवका आयोजना पहिचान र कार्यान्वयनमा जोड दिइएको छ ।

गाउँ कार्यपालिका, वडा कार्यालयको भवन तथा विभिन्न वडामा रहेको स्वास्थ्यचौकी, आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिँदै अध्यक्ष थापाले भवन मापदण्ड आचारसंहितालाई कार्यान्वयन गरिने बताए । तीन वर्षभित्र गाउँपालिकाभित्र रहेका काठे पोललाई विस्थापित गरी सिमेन्ट तथा स्टिल पोलको व्यवस्था, सबै वडामा विद्युत् तथा सञ्चारसुविधाको व्यवस्था मिलाइने उनले बताए ।

हरियाली प्रवद्र्धन, वृक्षरोपण तथा वन विस्तार एवं वातावरणमैत्री स्थानीय शासन सञ्चालनमा जोड दिँदै गाउँपालिकालाई ग्रिन सिटीको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । पोखरी, तालतलैया, बरपीपल चौतारीको संरक्षण र सम्वद्र्धन, परम्परागत खानेपानीको स्रोत र मुहानको संरक्षण गर्दै पुराना एवं जीर्ण अवस्थाका कुवा तथा पोखरी मर्मत तथा संरक्षण गर्ने नीति लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिए ।

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्