प्रदेश ५-का चार उपमहानगरकाे बजेट – दाङ खबर
Global Luja Dang

प्रदेश ५-का चार उपमहानगरकाे बजेट

MadanBhandari College

बुटवल असार १० । प्रदेश ५ का ४ वटा उपमहानगरपालिकाले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गरेका छन्। चालु आर्थिक वर्षका क्रमागत योजनामा बजेट थप्दै यी उपमहानगरपालिकाले महानगरको रुपमा अघि बढ्नका लागि तयारी गर्ने गरी बजेट ल्याएका छन्।

प्रदेश ५ का रुपन्देहीको बुटवल, दाङका घोराही र तुल्सीपुर र बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षको भन्दा ठूलो आकारको बजेट ल्याएका छन्। यी चारवटै उपमहानगरपालिकाले मंगलबार बजेट पेश गरे।

बुटवलको १ अर्ब ९० करोड
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि एक अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षका लागि १ अर्ब ६६ करोडको बजेट आएको थियो।

संघ तथा प्रदेश सरकारवाट प्राप्त हुने सशर्त अनुदान समेतलाई समावेश गर्दै गत वर्ष भन्दा करिब ३५ करोड बढि रकमको बजेट प्रस्तुत गरिएको हो । नगरसभाको पाँचौं अधिवेशनमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गुमादेवी आचार्यले आव ०७६-०७७ का लागि एक अर्ब ९० करोड बजेट प्रस्तुत गरिन्।

बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ १ अर्ब १२ करोड रुपैयाँ र पूजिगत तर्फ ७७ करोड ९८ लाख बजेट विनियोजन गरेको उनले बताईन् । बुटवलले बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि लगायतलाई उच्च प्राथमिकता दिइएको छ । बुटवलले बजेटको मुख्य उद्देश्यमा सबल आर्थिक केन्द्र समुन्नत बुटवल निर्माण गर्दै ‘समृद्ध बुटवल-खुसी जनता’ राखेको छ ।

रुपन्देहीकै सैनामैना नगरपालिकाले ९० करोड, सिद्धार्थनगर नगरपालिकाले एक अर्ब १८ करोड ४७ लाख, तिलोत्तमा नगरपालिकाले एक अर्ब ५४ करोड ३९ लाखको बजेट ल्याएका छन्।

रोहिणी गाउँपालिकाले ३७ करोड ५७ लाख, सम्मरीमाई गाउँपालिकाले ४७ करोड ३१ लाख, कोटहीमाई गाउँपालिकाले ४५ करोड ४४ लाख, मर्चवारी गाउँपालिकाले ४५ करोड १० लाख, मायादेवीले ५९ करोड ९४ लाख, गैडहवाले ५६ करोड १५ लाख, सियारी गाउँपालिकाले २७ करोड २६ लाख बजेट ल्याएका छन् । देवदह, लुम्बिनी सांस्कृतिक नगरपालिकाले असार १० मा बजेट ल्याएनन् ।

घोराहीको बजेट पौने २ अर्ब
दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि पौने २ अर्बको बजेट प्रस्तुत गरेको छ। मंगलबार पाँचौ नगरसभामा उपप्रमुख सीता सिग्देल न्यौपानेले आगामी आर्थिक वर्ष २०७६/७७को लागि १ अर्व ७८ करोड २९ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी छन्। उपमहानगरले चालु तर्फ १ अर्ब १८ करोड ९० लाख २५ हजार र पूँजीगत तर्फ ५९ करोड ३९ लाख ४१ हजार बजेट विनियोजन गरेको छ ।

कुल बजेटमध्ये १ अर्ब ४६ करोड ८ लाख ८१ हजार विकास बजेटतर्फ र ३२ करोड २० लाख ८५ हजार प्रशासनिक खर्च तर्फ बिनियोजन गरिएको उपप्रमुख न्यौपानेले बताइन्। घोराही उपमहानगरले १९ वडालाई ९० लाख विकास बजेट र १० लाख वडा कार्यालय सञ्चालन व्यवस्थापनमा बजेट छुट्याएको छ । साथै कृषि तर्फ डेढ करोड, पशु सेवातर्फ साढे ५८ लाख, सहकारी र रोजगारतर्फ साढे ६९ लाख बजेट विनियोजन भएको छ ।

तुलसीपुरको एक अर्ब ७१ करोड
दाङको तुलसीपुर उपमहानगरले एक अर्ब ७१ करोड ८८ लाखको बजेट प्रस्तुत गरेको छ । मंगलबार नगरसभाको पाँचौ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख माया शर्मा आचार्यले एक अर्ब ७१ करोड ८८ लाख ६ हजार रुपैया बराबरको बजेट पेश गरिन्।

आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि सशर्त अनुदान विषयगत ४७ करोड, संघीय सरकारको वित्तीय समानीकरण अनुदान ३१ करोड ६२ लाख, आन्तरिक स्रोतबाट २५ करोड, राजश्व बाँडफाँटबाट २३ करोड ४५ लाख, सामाजिक सुरक्षा कार्यक्रमका लागि २० करोड, राजश्व बाँडफाँटबाट २ करोड ७७ लाख ९९ हजार, सशर्त अनुदानबाट १ करोड ६० लाख, युनिसेफबाट अनुदान ७५ लाख, प्रदेश सरकारको वित्तीय समानीकरणबाट ६६ लाख ७ हजार, अन्य अनुदानबाट ३ करोड, विभिन्न कोष, लगानी समेतमा मौज्दात १० करोड, समपुरक अनुदानमा ५ करोड र सडक बोर्डको रकम १ करोड आय अनुमान गरिएको छ।

त्यस्तै २०७६-०७७ मा प्रशासनिक खर्च अन्तर्गत २२ करोड ६१ लाख ६ हजार र लक्षित सामाजिक विकास कार्यक्रमतर्फ १२ करोडसमेत गरि चालुतर्फ ३४ करोड ६० लाख विनियोजन गरिएको छ। साथै आगामी आर्थिक वर्षमा उपमहानगरपालिकाले ८ करोड ७० लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ। तुलसीपुर उपमहानगरपालिकाले ‘खुसी जनतासमृद्ध तुलसीपुर, हाम्रो तुलसीपुर : राम्रो तुलसीपुर’ बनाउने लक्ष्य लिएको छ।

नेपालगञ्जमा २ अर्ब
नेपालगन्ज उपमहानगरपालिकाको बजेट दुई अर्ब २८ करोड ५४ लाख रहेको छ। नेपालगन्जमा गत वर्ष झन्डै साढे २ अर्बको बजेट थियो। पाँचौ नगरसभामा नगर उप–प्रमुख उमा थापामगरले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि २ अर्ब २८ करोड ५४ लाखको बजेट प्रस्तुत गरिन्।

थापाले प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ १ अर्ब २१ करोड ४७ लाख, पूँजीगत तर्फ १ अर्ब ४ करोड ३७ लाख, वित्तिय व्यवस्थापनका लागि ३ करोड छुट्याइएको छ। बजेट पेश गर्नुअघि नगर प्रमुख डा. धवल शमसेर राणाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘स्मार्ट’ नेपालगन्ज बनाउने बताएका थिए।

उपमहानगरका प्रवक्ता प्रमोद रिजालले एडीबीका परियोजनाको काम सकिँदै गएकाले बजेटको आकार घटेको बताए। बाँकेको राप्ती सोनारी गाउँपालिकाले ७२ करोड ६ लाखको बजेट ल्याइएको छ। कोहलपुर नगरपालिकाले ८० करोड ६१ लाखको बजेट ल्याएको छ । खजुरा गाउँपालिकाले गत वर्ष ५९ करोड विनियोजन गरेकोमा यो वर्ष बढाएर ६६ करोड २६ लाखको बजेट ल्याएको छ । बैजनाथ गाउँपालिकाले ५८ करोड १० लाखको बजेट ल्याएको छ।

विकट नरैनापुर गाउँपालिकाले ४३ करोड ३४ लाखको बजेट ल्याएको छ । जानकी गाउँपालिकाले पनि ११ करोड बढीको बजेट ल्याएको छ। डुडुवा गाउँपालिकाले नारी शिक्षामा जोड दिँदै छोरी जन्मेमा ५ हजार रुपैयाँको खाता खोल्ने कार्यक्रम ल्याएको छ। कन्या मुद्दती शिक्षा योजना नाम दिइएको यो कार्यक्रममा अभिभावकले पनि थप पाँच हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ।

देशसञ्चारबाट

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close