Victoria College Dang

आज बालश्रमविरुद्धको दिवस – दाङ खबर

आज बालश्रमविरुद्धको दिवस

MadanBhandari College

काठमाडौँ, जेठ २९ । सिन्धुपाल्चोक घुन्सा गाउँका १३ वर्षीय हीरा बम्जन दशैँअघि काठमाडौँ दिदीकहाँ आएका थिए । पहाडी गाउँभन्दा फरक रमझममा घुम्दाघुम्दै एक दिन उनी जरी भर्ने काम गर्न पुगे ।

उनले भने, “महिनाको तीन हजार दिन्थ्यो, म भन्दा ठूला र म जस्तै अरु पनि धेरै काम गर्थँे । दशैँमा घरफर्केपछि भने आमाले आउन दिनुभएन तर हातमा पैसा परेपछि फेरि त्यस्तै पैसा कमाउने लत बस्योे ।’’

चार जना दिदनीबहिनी र दुई दाजुभाइमध्येका माइला उनलाई सहरमै बसेर कमाउने इच्छा छ । त्यही इच्छा पूरा गर्न यही जेठ २४ गते अरु तीनजना साथीसहित घरबाट भागेर बम्जन काठमाडौँ आइपुगेका हुन् । कक्षा ४ मा पढ्दै गरेका सोमबहादुर थिङ १२ वर्ष, कक्षा ५ मा पढ्ने बादल बम्जन १२ वर्ष र कान्छा गोले १२ वर्ष उनीसँगै काठमाडौँ आएका छन् । बादल बम्जनले भने, “त्यही ट्वाक ट्वाके काम (जरी भर्ने) गर्ने भनेर आएको तर काम गर्ने ठाउँ नै फेला परेन ।” चारैजनालाई मङ्गलबार बालबालिका खोजतलास समन्वय केन्द्रले उद्धार ग¥यो । प्रहरीले पक्रेपछि काम गर्ने ठाउँ खोज्न नपाएको बालकहरूले बताए ।

आएको दिन बस्ने ठाउँ नपाएर मकैबारीमा भोकभोकै रात बिताएको उनीहरूले बताए । यसअघि गाउँका केटाकेटी काठमाडौँ आएर जरी भर्ने, गलैँचा कारखानामा काम गर्ने गरेर पैसा कमाएर घर फर्केको देखासिकी गर्दै यसरी भागेर काठमाडौँ आएको बालबालिका बताउँछन् । बम्जनले हिरासँगै दशैँअघि आएको एक बालक गोकर्णको एक गाडी ग्यारेजमा काम गरिरहेको जानकारी दिए । “यहाँ दिनभरि घुम्न पाइन्छ अनि काम ग¥यो भने पैसा पनि पाइन्छ,” बम्जन भन्छन् , “गाउँ रमाइलो छैन, घुम्ने ठाउँ र राम्रो लुगा लाउन पनि पाइँदैन ।”

बाह्र वर्ष हाराहारीका हुम्लाकी अमिता र बर्दियाकी सन्जु (नाम परिवर्तन) भने घरको आर्थिक अवस्था कमजोर भएकै कारण परिवारको जोहो टार्न काठमाडौँका ठूलाबडाका घरमा काम गर्छन् ।

काम गरे वापत घरमालिकले वार्षिक खर्चसहित काठमाडौँको सरकारी स्कुलमा पढाइदिने सर्तमा आएका हुन् । १४ वर्षका रोशन थापा (नाम परिवर्तन) राजधानीको स्थानीय रुटमा चल्ने माइक्रो बसका कन्डक्टरको काम गर्छन् । ४ कक्षा पढ्न छाडेर उनी श्रम बजारमा पसेका हुन् ।

बानेश्वर कोटेश्वर रुटको गाडीमा भे्टदा उनले भने, “पैसा कमाउनु परेन, गाउँमा बसेर के गर्ने, गुरुजी बन्न मन छ त्यो भन्दा पहिले कन्डक्टर बन्नुपर्छ रे ।” सवारी चालक बन्न अब एसएलसी पास हुनैपर्छ भन्ने ज्ञान उनलाई छैन । उनीहरू जस्तै हजारौँ बालबालिका यतिबेला जोखिमपूर्ण बालश्रममा संलग्न छन् ।

बुधबार विश्वभर बालश्रमविरुद्धको दिवस मनाउँदै गर्दा नेपालका बालबालिका भने श्रम गर्न बाध्य छन् । नेपालमा पनि यो वर्ष ‘बालबालिका श्रममा होइन सपना हेर्न रमाउँछन्’ भन्ने नाराका साथ बालश्रमविरुद्धको दिवस मनाइँदैछ ।

होटल, पर्यटन, मनोरञ्जन क्षेत्र, घर, ईंटाभट्टा, जरी भर्ने, गलैँचा कारखाना, सवारी साधन, ग्योरज, उद्योगलगायतका क्षेत्रमा बालश्रमिक रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

बाल रक्षा अभियानले गरिरहेको अध्ययन अनुसार काठमाडौँको ३२ नम्बर वडामा १०६ बालबालिका जोखिमयुक्त फर्ममा श्रम गरिरहेका छन् । त्यस्तै, ३१ नम्बरमा २६ जना, १० मा ५४ जना काम गरिरहेका छन् । अभियन्ता कृष्ण खतिवडाले अन्य वडामा बालश्रमिक खोजी र पहिचान गर्ने काम भइरहेको बताउनुभयो ।

उहाँका अनुसार २०७४ चैतदेखि २०७६ को जेठ महिनासम्म काठमाडौँ केन्द्रित रहेर गरेको अध्ययनमा मागीखाने काममा नेपाली दुई सय र गैर नेपाली पाँच सय बालबालिका पाइएको थिए । न्यूनतम कमिसनका भरमा सडक ब्यापारमा श्रम गरिरहेका बालबालिकाको सङ्ख्या चार सय रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अन्य ७७ जिल्लामा जति छन् त्यो भन्दा बढी बालश्रमिक काठमाडौँमा छन्, बालश्रमको कारखाना बन्दैछ काठमाडौँ ।”

श्रमशक्ति सर्वेक्षण अनुसार ९० को दशकमा नेपालमा जोखिमयुक्त तथा घरेलु श्रमसमेत गरेर २६ लाख हाराहारी श्रमिक बालबालिका थिए ।
सन् २००८ मा भएको सर्वेक्षणले १६ लाख बालश्रमिक रहेको देखाउँछ । त्यस्तै, सन् २०१७–२०१८ को सर्वेक्षण अनुसार ज्यालाको आदान प्रदान भएको बालश्रमिकको सङ्ख्या दुई लाख ८६ हजार छ ।

त्यस्तै, निजी प्रयोजनका लागि काम लगाइएका र सेवा प्रदायक काममा राखिएका बालबालिका २१ देखि २५ लाखको सङ्ख्यामा रहेका छन् । त्यो तथ्याङ्कबाट जोखिमयुक्त काममा रहेका र कानुनले निषेध गरेको काम गरिरहेका बालबालिकाको यकिन तथ्याङ्क व्यवस्थापन गर्ने कार्य चलिरहेको आईएलओ प्रतिनिधि नारायण भट्टराईले बताउनुभयो ।

मनोसामाजिक समस्या
किशोर अवस्थामा दुव्र्यसनमा परेर चुरोट, गाजा तथा ट्याब खाने लतमा परेर समस्यामा परेका बालबालिकाको अवस्था जटिल हुने शिक्षण अस्पतालका मनोचिकित्सक प्रोफेसर डा. सरोज ओझा बताउनुहुन्छ ।

उमेर बढ्दै जाँदा बालबालिकमा हर्मोन परिवर्तनसँगै उनीहरुको चालचलनमा समेत परिवर्तन आउँछ । त्यसमा अभिभावकले ख्याल गर्न सकेन र उचित वातावरण दिन सकेन भने कुलतमा लाग्ने समभावना उहाँले औँल्याउनुहुन्छ । ओझाले भन्नुभयो, “त्यही परिवर्तनपछि बानीजस्तो भइसकेपछि छुटाउन गाह्रो हुन्छ, फ्रस्टेसन बढ्दै जान्छ ,साथी, घरपरिवारबाट टाढा हुन्छ ।”

हराएकाहरू बालश्रममा
बालबालिका बेपत्ता क्रमसँगै उनीहरू बालश्रममा फेला पर्ने क्रम बढेको बालबालिका खोजतलास समन्वय केन्द्र काठमाडौँका अधिकृत सन्तोषचन्द्र अधिकारीले बताउनुभयो ।

“काठमाडौँका शिक्षित परिवारदेखि होटल, रेष्टुरेन्ट र कारखानाबाट बारम्बार बालश्रमिकको उद्धार गरिरहेका छौँ,” उहाँ भन्नुहुन्छ, “परिवार भएका र नभएका दुबैथरी बालश्रम यहाँ छन् ।”

उहाँका अनुसार सम्पन्न परिवारका बालबालिका कुलत र लहैलहैमा लागेर श्रममा पर्ने गरेका छन् । उहाँका अनुसार, सडकमा पुग्ने र बालश्रममा पर्ने ६० प्रतिशत बालबालिकाको परिवार बिग्रहमा छ ।

सरकारी योजना
वयस्क श्रमिकको वकालत धेरै अघिदेखि सरकारको प्राथमिकतामा रह्यो । दिगो विकासको लक्ष्य प्राप्त गर्ने बाटोमा सरकार अघि बढेसँगै बालश्रम न्यूनीकरणलाई सरकारले यस वर्षदेखि प्राथमिकतामा राखेर ठूलो हिस्साको बजेटसमेत बिनियोजन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्ष पहिलो पटक साढे सात करोड बजेट बालश्रम न्यूनीकरणमा छुट्याएको मन्त्रालयका उपसचिव सुजन जोजिजुले बताउनुभयो ।

गाेरखापत्रबाट

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close