Victoria College Dang

निर्मला हत्याकाे दश महिना – दाङ खबर

निर्मला हत्याकाे दश महिना

MadanBhandari College

दाङ जेठ २९ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एकवर्ष पूरा हुन लागेको छ । यो बीचमा मुलुकमा विभिन्नखालका घटना भए । ती घटनामा संलग्नको पहिचान गरी मुद्दा अघि बढेको छ । तर अन्तर्राष्ट्रिय रुपमा समेत चर्चामा आएको निर्मला हत्याकाण्डको अनुसन्धान प्रक्रियामा भने प्रहरी सफल हुन सकेको छैन । यद्यपी प्रहरीले अनुसन्धान जारी राखेको जनाउँदै आएको छ ।

गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा कञ्चनपुर भीमदत्तनगर–२ महुलीयाकी १३ वर्षीया बालिका निर्मलाको शव फेला परेको थियो । निर्मला हत्याकाण्डका अभियुक्तको पहिचान गर्न नसक्दा प्रहरी आलोचनाको तारो बन्न पुगेको छ ।

प्रहरी अधिकारीले पटक–पटक औपचारिक होस या अनौपचारिक रुपमा निर्मला हत्याकाण्ड ठूलो टाउको दुखाइको विषय भएको बताउने गरेका छन् । प्रहरी अधिकारीनै बर्खास्तीदेखि निलम्बनसम्म भएको निर्मला हत्याकाण्ड–बलात्कारको पछाडि कसको हात थियो शंकाको विश्वसनीय सुइ अझै भेटिएको छैन । बेलाबेला अनुसन्धानका क्रममा नयाँ–नयाँ तथ्य फेला परेको बताइएको भए पनि पुष्टि गर्ने प्रमाण फेला परेको छैन ।

कहाँ चुक्यो ‘इन्टेलिजेन्स’ ?

अपराध अनुसन्धानको मुख्य जिम्मेवारी नेपाल प्रहरीकै हो । तर अपराध अनुसन्धानमा महत्वपूर्ण सूचना दिएर सघाउने काम राष्ट्रिय अनुसन्धान विभागको पनि हो । तर निर्मला हत्याकाण्डपछि राष्ट्रिय अनुसन्धान विभागको कुनै भरपर्दा सूचना निर्मला हत्याकाण्डबारे आउन नसकेको प्रहरी अधिकारी बताउँछन् । बरु उल्टै राष्ट्रिय अनुसन्धान विभागकै कर्मचारी निर्मला हत्या प्रकरणमा शंकाको घेरामा तानिए ।

कैलालीको टीकापुर हत्याकाण्ड होस् या काठमाडौंमा तीन साताअघि भएको श्रृङ्खलाबद्ध वम विस्फोट होस् निर्मला हत्याकाण्डपछिको सूचना संकलन र सम्प्रेषणमा अनुसन्धान विभागको काममाथि प्रश्न उठेको छ ।

नेपाल प्रहरीले पनि सादा पोशाकमा प्रहरी सूचना संकलनमा खटाउँदै आएको छ । तर गोप्य सूचना संकलनको मुख्य दायित्व राष्ट्रिय अनुसन्धान विभागकै हो । अनुसन्धानमा संलग्न अधिकारी राष्ट्रिय अनुसन्धान विभागको ‘इन्टेलिजेन्स’को कुनै भरपर्दो सूचना नआएको अनुसन्धानमा सक्रिय प्रहरी बताउँछन् ।

‘‘हाम्रो स्रोत साधनको अधिकतम प्रयोग त हामीले गरिरहेकै छौं । त्यसमा राअको सूचना हुँदा झन सहजता हुन्थ्यो । किनभने उनीहरुलाई सबैले चिन्दैनन्,’’ अनुसन्धानमा सक्रिय एक प्रहरी अधिकारीले भने ।

सेना, नेता–कार्यकर्ता र गुण्डा समूहमाथि अनुसन्धान

पछिल्लो १० महिनामा प्रहरीले शंकास्पद एकहजार भन्दा बढी व्यक्तिसँग सोधपुछ र ५ सय बढीसँग बयान लिइसकेको छ । ६० जनाभन्दा बढीको डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको छ । चारजना नेपाली सेनाका जवान, केही दलका नेता–कार्यकर्ता, ट्यापे, मुन्द्रे, गुण्डा समूह, खेलाडीमाथिसमेत अनुसन्धान गरिएको थियो ।

योबाहेक कल डिटेल हेर्नेदेखि शंकास्पद व्यक्तिको सामाजिक सञ्जालमाथि समेत निगरानी गरिएको थियो । अनुसन्धानका क्रममा बयान शंकास्पद देखिएपनि डीएनए म्याच भने कसैको भएन । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले स्थानीयले प्रहरीलाई सूचना नदिएर सहयोग नगरेको गुनासो गर्दै आएका थिए । तर पछिल्लो समय स्थानीयले प्रहरीले मागेको सूचना दिन थालेको एक अधिकारीले बताए । तत्कालीन प्रहरी नेतृत्वले गत भदौ ४ गते दिलिप सिँह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर दिलिपको डीएनए निर्मलाको भेजिनल स्वावसँग मेल नखाएपछि उनी छुटेका थिए ।
तर दिलिप हत्यारा हुन् कि होइनन् भन्नेमा प्रहरीमै दुइमत छ । एकथरी प्रहरी अधिकारी दिलिपको संलग्नता हुनै नसक्ने दाबी गर्छन् भने अर्कोथरी प्रहरी अधिकारी अनुसन्धान अहिल्यै सकियो भन्न नमिल्ने तर्क गर्दै विष्टकै वरिपरी अनुसन्धान जारी राख्नुपर्ने तर्क गर्छन् ।

पेचिलो बन्दै अनुसन्धान

त्यसले गर्दा अनुसन्धान थप पेचिलो बन्दै गएको छ । यसबीचमा प्रहरीले देश–विदेशमा भएका सम्ममाथि पनि निगरानी बढाएको छ । पछिल्लो समय प्रहरीले आसपासका सबै वडाका घरका सदस्यको विवरण संकलन गरेको थियो । विवरणमा खासगरी साउन १० गतेको समयमा त्यो घरका सदस्य कहाँ थिए ? उनीहरुको पृष्ठभूमि के हो ? अहिले कहाँ छन् भन्ने कुरा पनि केलाइएका छन् ।

हत्यापछि कयौं रोजगारीको शिललिशलामा भारत गएका छन् भने कोही वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएका छन् । अहिले प्रहरीले त्यो पाटोलाई पनि हेरिरहेको एकजना प्रहरीले जानकारी दिए ।

तर निर्मला बलात्कार–हत्यामा चिनजानकै व्यक्तिको संलग्नता हुन सक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीको छ । एक अधिकारीले भने,‘‘यसमा चिनजानकै व्यक्तिले गरेको हुन सक्ने सम्भावना छ । नेपालमा भएका कयौं घटनामा नजिकैका आफन्त वा चिनजानकै व्यक्तिको संलग्नता पाइएको छ । हामी सबै पक्षबाट हेरिरहेका छौं ।’’

बाह्रखरीबाट

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close