जनताको कामसँगै तरकारी खेती गर्दै वडाध्यक्षहरु – दाङ खबर
Global Luja Dang

जनताको कामसँगै तरकारी खेती गर्दै वडाध्यक्षहरु

Birala Tyre Dang

दाङ, जेठ १३ । स्वरोजगार बन्ने उद्देश्यका साथ दाङका वडाध्यक्षहरुले सामुहिक रुपमा तरकारी खेती सुरु गर्नुभएको छ । जिल्लाको घोराही उप–महानगरपालिका वडानम्वर–१७ का अध्यक्ष खुसीराम चौधरी, वडानम्वर–१३ का अध्यक्ष रविलाल घर्ती र वडानम्वर–७ का अध्यक्ष खोपीराम चौधरीले सामुहिक रुपमा तरकारी खेती गरेर जाँगर चलाएमा आफ्नै भूमिमा अर्थोपार्जन गर्न सकिन्छ भन्ने उदाहरण सुरु गर्नु भएको छ ।

वडानम्वर–७ को घुस्रामा तीन विगाहा जग्गामा तरकारी खेती सुरु गरेको भन्दै वडाध्यक्ष खुसीराम चौधरीले आत्मनिर्भरताको बाटोमा लाग्नका लागि तरकारी खेतीमा लागेको बताउनुभयो । जनताको कामसँगै व्यवसायमा लागेको भन्दै अध्यक्ष खुसीरामले आफूहरुले तरकारी खेती सुरु गरेपछि व्यवसायीक तरकारी खेती गर्नेहरुको संख्या बढ्दै गएको बताउनुभयो । ‘जनताको कामसँगै तरकारी खेती पनि गर्दै आइरहेका छौं । बेरोजगारी समस्या बढ्दै गएको समयमा रोजगारी आफ्नै घरआँगनमा छ भन्ने देखाउनु पनि हाम्रो उद्देश्य हो’, वडाध्यक्ष खुसीरामले भन्नुभयो, ‘हाम्रो सिको गर्दै व्यवसायीक तरकारी खेती गर्नेहरु बढ्दै जानुभएको छ ।’
६ लाख रुपैयाको लागतमा तरकारी तरकारी खेती सुरु गरिएको भन्दै वडाध्यक्ष खोपीराम चौधरीले मासिक ६० हजार आम्दानी हुने गरेको बताउनुभयो । भिन्डी, करेला, काउली, बन्दा, टमाटरलगायतका तरकारी रोपेको भन्दै वडाध्यक्ष खोपीरामले बिहान साँझको समयमा आफूहरुले काम गर्ने र दिउँशोको समयमा काम गर्नका लागि २ जना कर्मचारी राखेको जानकारी दिनुभयो ।

‘वडावासीहरुलाई आत्मनिर्भरताको बाटो देखाउन ६ लाखको लागतमा तरकारी खेती सुरु गरेका थियौं । अहिले सोही व्यवसायले आम्दानी दिन थालेको छ । प्रत्येक महिना ६० हजार रुपैया आम्दानी गर्दै आएको छौं’, ‘जनताको कामसँगै व्यवसाय गर्दा आत्मसन्तुष्टि मिलेको छ । हामीले नभ्याएको समयमा काम गर्नलाई २ जना कर्मचारी राखेका छौं ।’

घोराही वजारदेखि ४ किलोमिटरको दुरीमा रहेको वडाध्यक्षहरुको तरकारी खेतीमा तरकारी किन्नका लागि व्यवसायीहरु पुग्ने गरेका छन् । रासायनिक मलको बढ्दो प्रयोगले उत्पादनमा ह्रास आएको भन्दै अब आर्गेनिक खेतीमा जाने तयारी गरिरहेको वडाध्यक्ष रविलाल घर्तीले जानकारी दिनुभयो । घोराही वजारमा भारतबाट आउने तरकारीले गर्दा आफ्नो उत्पादनले राम्रो मूल्य नपाएको वडाध्यक्ष खुसीरामले गुनासो गर्नुभयो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close