आज उभौली पर्व – दाङ खबर
Global Luja Dang

आज उभौली पर्व

MadanBhandari College

दाङ जेठ ४ । प्रकृति र पितृको पूजा गरी आज किरात समूदायको महान् चाड उभौली पर्व मनाइँदै छ । खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस् भन्ने कामनासहित किरात समुदायले बाली लगाउने समय पारेर पितृ तथा भूमिको पूजाआजा गरी उभौली पर्व मनाउने प्रचलन छ ।

उभौली पर्वको अवसरमा अवसरमा परम्परागत वेषभूषामा सजिएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ । किरात समुदायले प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमादेखि १५ दिनसम्म उभौली मनाउने गरेका छन् ।

बालीनाली नबिग्रीयोस् भनेर प्रकृतिको पूजा गरेर मनाइने यो पर्वमा किरात विधिअनुसार सुम्निमा र पारुहाङको पूजा गर्ने गर्छन् । मान्छेलाई खेती गर्ने ठाउँ दिने प्रकृति र खेती गर्न सिकाउने पूर्वजको सम्मानस्वरुप यो पर्वमा भूमिपूजा गरिन्छ ।

साकेला पर्वको अवसरमा परम्परागत वेषभूषामा सजिएका दाजुभाई, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ । साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ ।

अहिले किरात बसोबास रहेको प्रत्येक गाउँ युवायुवती, केटाकेटी, बूढापाकाको जमघट तथा साकेला गीत र नाचले गुञ्जयमान बनेको छ । साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमा र उठाउने बेला मंसिर पूर्णिमामा दुई पटक मनाइन्छ ।

साकेला पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, लगायत जिल्लाका किरात समुदायको बसोबास रहेको ठाउँमा धुमधामका साथ मनाउने गरिएको छ ।

उभौलीलाई राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य पर्व मान्ने गरेका छन् । पछिल्लो समय जातीय सद्भाव तथा सांस्कृतिक सहअस्तित्व कायम राख्दै सबै जातजाति उभौली चाडको खुशियाली साट्दै शुभकामना आदानप्रदान गर्न थालेका छन् । आफन्त, साथीभाइ, नातागोता, छरछिमेकबीच पारिवारिक तथा व्यक्ति–व्यक्तिबीच शुभकामना आदानप्रदान गर्ने क्रम बढेको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close