प्यूठानका सबै स्थानीय तहमा प्राविधिक शिक्षा – दाङ खबर
Global Luja Dang

प्यूठानका सबै स्थानीय तहमा प्राविधिक शिक्षा

MadanBhandari College

प्यूठान बैशाख ३० । प्यूठानका ९ ओटै स्थानीय तहमा प्राविधिक शिक्षा सञ्चालन गरिएको छ । जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाका सामुदायिक विद्यालयमा प्राविधिक विषयको पठनपाठन हुन थालेको हो ।

विद्यार्थीलाई विद्यालय तहको शिक्षापछि नै स्वरोजगार उद्यमी बन्न प्रेरित गर्ने र बेरोजगारी घटाउने उद्देश्यले प्राविधिक विषयको पाठ्यक्रम लागू गरिएको सम्बद्ध विद्यालयले बताएका छन् । यसअघि प्राविधिक शिक्षा पढ्न बाहिर जानुपर्ने बाध्यता थियो । जिल्लामा प्राविधिक विषयका कक्षा सञ्चालन भएपछि आर्थिक अवस्था कमजोर भएर प्राविधिक शिक्षा पढ्न नपाएका विद्यार्थीको चाहना पूरा भएको छ । अहिले जिल्लाका सामुदायिक विद्यालयले प्राविधिक शिक्षा अध्यापन गराउन थालेपछि आफूहरू लाभान्वित भएको विद्यार्थीहरू बताउँछन् ।

यहाँका सामुदायिक विद्यालयले कृषि बाली विज्ञान, सिभिल इन्जिनीयरिङ, कम्प्युटर इन्जिनीयरिङ लगायत विषयको पढाइ शुरू गरेका छन् । विद्यालयहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)बाट अनुमति लिई प्राविधिक शिक्षा पढाउन थालेका हुन् । जिल्लाको सबैभन्दा पुरानो मुक्ति माध्यमिक विद्यालयले विगतका वर्षदेखि कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनीयरिङ विषयको अध्यापन गराउँदै आएको छ । त्यस्तै प्यूठान नगरपालिकाको क्षेत्र विकास मावि पुण्यखोला र बालविद्या मावि मरन्ठानाले गत वर्षदेखि कृषि बाली विज्ञान विषयको पढाइ सञ्चालनगर्दै आएका छन् ।

यसै शैक्षिक सत्रदेखि जिल्लाका झिमरुक गाउँपालिकाको बालशिक्षा माविले सिभिल इन्जिनियरिङ, गौमुखी गाउँपालिकाको गौमुखी मावि ठूलाबेँशीले कृषि बाली विज्ञान, स्वर्गद्वारी नगरपालिकाको उमा माहेश्वरी मावि सारीले बाली विज्ञान, सरुमारानी गाउँपालिकाको सरस्वती मावि, नौबहिनी गाउँपालिकाको गंगा मावि, मल्लरानी गाउँपालिकाको भानुभक्त माविले कृषि बाली विज्ञानका साथै माण्डवी गाउँपालिकाको माण्डवी मावि र ऐरावती गाउँपालिकाको मोती मावि बरौंलाले कम्प्युटर इन्जिनीयरिङको पढाइ शुरू गरेको शिक्षा विकास समन्वय एकाइ समिति, प्यूठानका प्रमुख शिवराज पण्डितले बताए ।

सामुदायिक विद्यालयले प्राविधिक शिक्षाको अध्यापन गराउन थालेपछि विद्यार्थीलाई विषय छनोटमा सघाउ पुगेको गौमुखी मावि ठूलाबेँशीका शिक्षक जयेश्वर जैसीले बताए । ‘विपन्न र आर्थिक अवस्था कमजोर भएर बाहिर पढ्न जान नसक्ने गौमुखी क्षेत्रका विद्यार्थी लाभान्वित भएका छन्,’ उनले भने । गौमुखी गाउँपालिका जस्ता दुर्गमका विद्यार्थीले कम लगानीमा प्राविधिक शिक्षा अध्ययन गर्न पाउने विश्वास उनले व्यक्त गरे । घरगाउँकै विद्यालयमा प्राविधिक शिक्षा सहुलियतमा अध्ययन गर्न पाउने भएपछि विद्यार्थीहरू उत्साहित छन् ।

अभियानबाट

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close