Florence Hospital Dang
Majestic Hotel Dang

इतिहास रच्ने तयारीमा महिला क्रिकेट खेलाडी

Birala Tyre Dang

टीका बस्नेत
दाङ मंसिर १९ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगीताको मिति नजिकिदै गर्दा दाङका महिला क्रिकेट खेलाडीहरु तयारीमा जुटेका छन् । यही आउँदो माघ २५ गतेदेखि हुन लागेको प्रतियोगीतामा विजय हासिल गर्नका लागि खेलाडीहरुले तयारी तीब्र पारेका हुन् ।

क्षेत्रीयस्तर र राष्ट्रिय स्तरमै बलियो मानिने जिल्लाका महिला खेलाडीहरुले आउँदो राष्ट्रिय प्रतियोगीतामा पनि विगतको ईतिहास कायम राख्ने उद्देश्यका साथ तयारी तीब्र पारेको दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले जानकारी दिनुभयो । दाङको महिला क्रिकेट टिमले क्षेत्रीय प्रतियोगीतामा २ पटक प्रथम स्थान, विद्यालयस्तरिय राष्ट्रिय प्रतियोगीतामा दोस्रो हासिल गरिसकेको भन्दै अध्यक्ष मजगैयाले यस पटक पनि पुरानो ईतिहास कायम राख्ने गरी तयारी गरिरहेको जानकारी दिनुभयो ।

आर्थिक अभावका बीचबाट तयारी चलिरहेको भन्दै अध्यक्ष मजगैयाले संघले खेलाडीहरुलाई आत्मबल प्रदान गर्ने कार्य गरिरहेको बताउनुभयो । ‘यही आउँदो माघ २५ गतेदेखि आठौं राष्ट्रिय प्रतियोगीता हुँदैछ । प्रतियोगीताको मिति नजिकिँदा समेत सरोकारवाला सरकारी निकायबाट चिन्ता र चासो प्रकट नभएपछि संघले खेलाडीहरुको अभ्यासको व्यवस्था गरेको छ’, अध्यक्ष मजगैयाले भन्नुभयो, ‘खेलाडीहरुको मनोवल बढाउने कार्य गरिरहेका छौं । संघ पनि आर्थिक रुपमा कमजोर भएकाले खेल प्रशिक्षक खटाउने र संघका पदाधिकारीहरुबाट आर्थिक संकलन गरी सामग्री जुटाउने काम भएको छ ।’

खेलकुद मन्त्रालयबाट प्रतियोगीताको तयारीका लागि भनेरवजेट आएको भए पनि महिला क्रिकेटको तयारीका लागि हालसम्म खेलकुद विकास समितिले कुनै पनि खालको वजेट उपलब्ध नगराएको अध्यक्ष मजगैयाले बताउनुभयो । ‘खेलकुद मन्त्रालयबाट प्रतियोगीताको तयारीका लागि भनेर १५ लाख वजेट आएको जानकारी हामीलाई प्राप्त भएको थियो । राष्ट्रियस्तरमै जिल्लालाई चिनाउने महिला क्रिकेटरहरुका लागि वजेट उपलब्ध नहुनु दुःखद् पक्ष हो’, अध्यक्ष मजगैयाले भन्नुभयो ।

यता जिल्लाका महिला खेलाडीहरुले खेलकुद विकास समितिले आफूहरुलाई उपेक्षा गरेको बताएका छन् । महिला क्रिकेट टिमका क्याप्टेन सर्मिला रोकामगरले जिल्ला खेलकुद विकास समितिले सम्पूर्ण खेलको छनौट प्रतियोगीता गर्ने भए तापनि महिला क्रिकेट छनौट नगरेर आफूहरुमाथि सौतेनी व्यवहार देखाएको बताउनुभयो ।

१९ सदस्यीय टिम घोषणा

प्रतियोगीताको मिति नजिकिदै जाँदा जिल्लाको महिला क्रिकेट टिम घोषणा गरिएको छ । क्रिकेट संघ दाङले पुराना र नयाँलाई मिलाएर १९ सदस्यीय जिल्लाको महिला क्रिकेट टिम घोषणा गरेको अध्यक्ष मजगैयाले जानकारी दिनुभयो । उहाँका अनुसार सरस्वती जीएम, सर्मिला रोकामगर, युवा शर्मा, नगिता पुन, लक्ष्मी चौधरी, अनिता चौधरी, मञ्जु चौधरी, शारदा भुसाल, मधु डिसी, समिक्षा भण्डारी, बविता विसी, कमला जीएम, ओमकुमारी बिक, विपना घिमिरे, रविना चौधरी, सफिला खातुन, प्रभा चौधरी, साजना थारु कुमाल र सुजाता पोख्रेल टोलीमा समावेश हुनुभएको छ ।

दाङ–कपिलवस्तु मैत्रीपूर्ण सिरिज
दाङमा पहिलोपल्ट महिला क्रिकेट खेलाडीहरुको सिरिज हुने भएको छ । क्रिकेट संघ दाङको आयोजनामा यही मंसिर २१ र २२ गते घोराहीको गुलरिया क्रिकेट मैदानमा महिला क्रिकेट सिरिजको आयोजना हुन थालेको महिला टिमका प्रशिक्षक केशव अधिकारीले जानकारी दिनुभयो । कपिलवस्तु र दाङका महिला खेलाडीहरुका बीचमा सिरिजको आयोजना हुन थालेको प्रशिक्षक अधिकारीले जानकारी दिनुभयो । सिरिजका लागि संघका अध्यक्ष प्रदिप मजगैयाले सहयोग गरिरहेको प्रशिक्षक अधिकारीले जानकारी दिनुभयो । २ दिनमा ३ खेल हुने भन्दै प्रशिक्षक अधिकारीले उक्त सिरिजका लागि ५० हजार बाराबरको खर्च अनुमान गरिएको जानकारी दिनुभयो ।

आजदेखि दाङमा खेलाडी छनौट
यता जिल्ला खेलकुद विकास समिति दाङले आजदेखि खेलाडी चयन सुरु हुने जनाएको छ । समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले आजदेखि २२ गतेसम्म विभिन्न खेलका जिल्ला टिम चयन गरिने जानकारी दिनुभयो । आउँदो माघ २५ गतेदेखि हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगीताको तयारी तीब्र पारिएको भन्दै अध्यक्ष डाँगीले खेलका लागि भौतिक पूर्वाधार निर्माणको कार्यमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । प्रतियोगीताअन्तर्गत दाङमा ६ वटा खेलका प्रतियोगीता हुने अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दाङमा कराँते, फुटवल, व्याडमेण्टन, साइकिलिङ, उसु र महिला क्रिकेट प्रतियोगीता हुनेछन् । जिल्लाका घोराही, लमही र तुलसीपुरमा प्रतियोगीता हुने अध्यक्ष डाँगीले बताउनुभयो । समितिले कुनै पनि खेल र खेलाडीहरुलाई भेदभाव नगरेको भन्दै अध्यक्ष डाँगीले केन्द्रबाट आएको वजेटलाई सम्बन्धित खेलका सरोकारवालाहरुसँगको सहकार्यमा वजेट खर्च गरिरहेको बताउनुभयो ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close