Florence Hospital Dang
Majestic Hotel Dang

चुनौतिमा दाङको ट्राफिक व्यवस्थापन : न्यून कर्मचारी, झुपडीमा कार्यालय

Birala Tyre Dang

नवीन अभिलाषी,
दाङ, असार १३ । दाङको ट्राफिक व्यवस्थापनमा चुनौति बढेको छ । बजारीकरण र सवारी साधनहरुको बढ्दो चापका कारण ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको हो ।

दिन प्रतिदिन सवारी साधनको चाप बढ्नु, बजारीकरण र जनघनत्वमा बृद्धि हुँदै गए पनि ट्राफिक व्यवस्थापनका लागि जनशक्ति र आवश्यक पुर्वाधार तथा संरचना नहुँदा जिल्लामा ट्राफिक व्यवस्थापनको समस्या छ ।

दाङमा ४८ हजार बढि सवारीका साधन सञ्चालित छन् । यातायात व्यवस्था कार्यालय राप्तीमा दर्ता भएका सवारी साधनहरुमध्ये वस, ट्रक, मिनिबस, मिनि ट्रक २ हजार ५ सय ५५, जीप, कार र भ्यानहरु १ हजार ६ सय ५८, मोटरसाइकल स्कुटीहरु ३७ हजार २ सय ३१, टेम्पो ३ हजार ३ सय, टेक्टर पावर टेलरहरु ३ हजार ५ सय १२ गरेर जिल्लामा ४८ हजार २ सय ५६ वटा सञ्चालनमा छन् । तर, यति ठूलो संख्यामा रहेका सवारी साधनहरुको व्यवस्थापनका लागि काम गर्ने निकायका रुपमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा भने कर्मचारीहरु ३१ जना मात्रै छन् ।

अहिले जिल्लामा ३१ जना प्रहरीले जिल्लाको ट्राफिक व्यवस्थापन हेर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मदनबहादुर कँुवरले बताउनुभयो । उहाँका अनुसार एउटा प्रहरीको जिम्मेवारीमा ९ सय ६७ सवारी साधन छन् ।

जिल्ला ट्राफिक प्रहरीले तयार पारेको तथ्यांक अनुसार ६ सय ९७ दशमलव २ किलोमिटर सडकमध्ये २ सय १४ दशमलव किलोमिटर पक्की, २ सय ५५ किलोमिटर ग्राभेल र २ सय २७ दशमलव कच्ची सडक छ । प्रति ट्राफिक प्रहरीको जिम्मेवारीमा १५ किलोमिटर सडक रहेको छ । तर, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा २२ र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरमा ९ जना गरी जिल्लामा ३१ जनाको दरबन्दी रहेको प्रमुख कुँवरले बताउनुभयो ।

‘कुनै पनि जिल्लाको ट्राफिक व्यवस्थापनको जिम्मेवारीको बारेमा कुरा गर्ने हो भने प्रहरीको काँधमा ३ प्रतिशन हुन आउँछ’, प्रहरी प्रमुख प्रहरी निरिक्षक कुँवरले भन्नुभयो, ‘तर यहा त छाडा पशु चौपाया पनि प्रहरीले नै धपाउनु पर्ने, फुटपाथ पनि प्रहरीले नै हटाउनु पर्ने, पार्किङको सुविधा पनि प्रहरीले दिनु पर्ने ? अनि कसरी हुन्छ ?’

दाङमा साँघुरो, कमजोर र कच्ची सडक हुनु, स्तरिय सडक नहुनु, छाडा पशु चौपाया हिड्नु, घर निर्माणका सामग्रीहरु सडकमा राख्नु, सडकमा फुटपाथको व्यवस्था नहुनु, सडकमै पार्किङ गर्ने, सडकमा जेव्रा क्रसिङ नहुनु, बिग्रेका सडकहरुको मर्मत नहुनुलगायतका कारणहरुले पनि दुर्घटनाको जोखिम बढेको प्रहरीले बताउँछ । सडक कार्यालय, यातायात व्यवस्था कार्यालय, स्थानिय तह, नागरिक समाज तथा आम नागरिकहरुको अनुशासनसँगै राज्यका सरोकार राख्ने निकायहरुको ट्राफिक व्यवस्थापनमा ध्यान हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

११ महिनामा ७५ जनाको मृत्यु
बितेको ११ महिनामा दाङमा भएका दुर्घटनामा परि ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म दाङमा १ सय ६० वटा सवारीका सधान दुर्घटनामा परेका थिए । ती दुर्घटनामा ७५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बताएको छ । सबै भन्दा बढि मोटरसाइकल दुर्घटना भएको प्रहरीको तथ्यांक छ । दुर्घटनामा २ सय ८८ जना घाइते भएका छन् ।

झुपडीमा ट्राफिक प्रहरी
न कार्यालय भवन, न क्वाटर, न सवारी साधन पार्किङ गर्ने संरचना । दुई वटा साना साना घरमा सीमित रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको कार्यसम्पादनमा समस्या भएको कर्मचारीहरुले बताएका छन् । चुहिने छाना भएको साना साना घरहरुमा जिल्ला ट्राफिक प्रहरी अटाउनु पर्ने बाध्यता रहेको छ, भने त्यसबाट सम्पुर्ण जिल्लाको ट्राफिक व्यवस्थापन हेर्नुपर्ने बाध्यता रहेको ट्राफिक प्रहरी प्रमुख कँुवरले बताउनुभयो ।

२०४६ सालदेखि जिल्लामा खटिएको ट्राफिक प्रहरीको कार्यालय भवनहरु अहिले सम्म पनि निर्माण हुन सकेको छैन । कार्यालय परिसरमा रहेको एउटा सानो प्रतिक्षालयमा मिटिङ राख्नुपर्ने लज्जाजनक अवस्था रहेको प्रमुख कँुवरले बताउनुभयो ।

नयाँ प्रमुखको एक्सन
जिल्ला ट्राफिक कार्यालय दाङको प्रमुखको रुपमा मदनबहादुर कँुवर आउनु भएको छ । ओमप्रकाश वाग्लेपछि प्रमुखका रुपमा आउनु भएका कुँवरले जिल्लाको सडकको अवस्था, सवारी साधनहरुको संख्या, स्थानिय सरोकार वाला निकायहरुको काम कर्तव्य र अधिकारको बारेमा प्रतिबेदन निर्माण गर्नुभएको छ । उहाँले जिल्लाका सरकारी निकाय, पत्रकार, नागरिक समाजसहितका व्यक्तिहरुसँग छुट्टा छुट्टै बैठकमा जिल्लाको ट्राफिक व्यवस्थापनका विषयमा छलफल गर्नुभएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close