Victoria College Dang

‘अनुदानले व्यवसायी उत्साहित’ – Page 2019 – दाङ खबर

‘अनुदानले व्यवसायी उत्साहित’

MadanBhandari College

सुरेन्द्र खत्री रुकुम (पश्चिम) साउन २८ । परम्परागत रुपले कृषि, पशु तथा कुखुरापालन गर्दै आएका कृषकहरु पछिल्लो समय सरकारबाट अनुदान पाउन थालेपछि व्यवसायिक बन्न सुरु गरेका छन् । आफ्नो थोरै लगानीले ठूलो व्यवसाय सञ्चालन गर्न नसकिने भन्दै चिन्तित बनेकाहरुका लागि सरकारी अनुदान उत्साह, हौसला र प्रेरणाको महत्वपूर्ण पाटो बनेको हो ।

मुसिकोट नगरपालिका –४ ठाराढुंगामा यसअघि आफ्नो व्यक्तित रुपमा लेयर्स कुखुरा पालन गर्दै आउनुभएका दिपकराज खड्का अहिले कर्णाली प्रदेश सरकारबाट अनुदान पाएपछि सामुहिक रुपमा फर्म दर्ता गरेर व्यवसायिक यात्राको थालनी गर्नुभएको छ । मुसिकोट एग्रो फार्म नेपालको नामबाट करिब ३२ लाख रुपियाँ लगानीमा लेयर्स कुखुरापालन व्यवसाय सञ्चालन गरिएको खड्काले बताउनुभयो ।

प्रदेश सरकारको कृषि मन्त्रालय अन्तर्गत पशुसेवा विज्ञ केन्द्र रुकुम पश्चिमबाट १२ लाख ८९ हजार रुपियाँ अनुदान पाएपछि र फार्मको तर्फबाट १९ लाख सातहजार रुपियाँ लगानी थप गरेर व्यवसाय अगाडि बढाइएको हो । उहाँ लगायत स्थानीय पाँचजना युवाहरुले यसमा लगानी गर्नुभएको छ ।

‘आफ्नो मात्रै लगानी हुँदा यसको पूर्ण कार्यान्वयनमा लापरवाही समेत हुन सक्छ ।’ व्यवस्थापक खड्काले भन्नुभयो,‘सरकारको अनुदान पाउँदा नियमित अनुगमन समेत हुने भएकोले मापदण्ड अनुसार बजेट कार्यान्वयन गरेर लाभ हासिल गर्न सकिने रहेछ ।’ यस रकमले तीनवटा खोर निर्माण, औजार उपकरण, कुखुराका चल्ला तथा दाना खरिद लगायतको काम गरिएको छ ।

फार्ममा अहिले पाँचहजार ६०० कुखुराहरु रहेकोमा धेरैले अण्डा दिन सुरु गरिसकेका छन् । अबको दुई महिनापछि दैनिक पाँचहजार कुखुराले अण्डा दिने फार्मले जनाएको छ । अहिले दैनिक २४ हजार रुपियाँको दाना मात्र खर्च हुने र आठहजार रुपियाँ मात्र आम्दानी हुने गरेको फार्मका व्यवस्थापक खड्काले बताउनुभयो ।

यसबाहेक मासिक १२ हजार रुपियाँ पारिश्रमिक लिने दुईजना कर्मचारीहरु समेत राखिएको उहाँको भनाइ छ । अझै केही महिना घाटामै भएपनि त्यसपछिका महिनामा दैनिक ५० हजार रुपियाँभन्दा बढि आम्दाननी हुने अपेक्षा गरिएको छ । सरकारको अनुदान प्राप्त गरेपछि आफूहरुको समेत लगानी थप गरी स्थानीय स्तरमै दाना उद्योग गर्ने तयारी समेत गरिएको खड्काले बताउनुभयो ।

गोर्खापत्र अनलाईबाट

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्