नदी कटान क्षेत्र नियन्त्रणका पूर्व तयारी – दाङ खबर
Global Luja Dang

नदी कटान क्षेत्र नियन्त्रणका पूर्व तयारी

MadanBhandari College

दाङ,असार २९ । नदी कटान क्षेत्र नियन्त्रणका लागि डिभिजन वन कार्यालय दाङले ४ हजार बाँसका बिरुवा रोपेको छ । वर्षातको समयमा आउने बाढीले जमिन कटान गर्दै आइरहेकोमा त्यसलाई नियन्त्रण गर्न नदी तटिय क्षेत्रका विभिन्न पाँच ठाउँमा यो वर्ष ४ हजार बाँसका बिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

लगाइएका बिरुवाको संरक्षणका लागि स्थानीय उपभोक्ताहरुकै सक्रियतामा बाँस रोपण कार्य गरिएको डिभिजन वन कार्यालय दाङका डिभिजनले वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनुभयो । उपभोक्ताहरुले यस बास रोपेर संरक्षण गरेवाफत् एक बिरुवा एक सय रुपैया समेत दिइएको छ ।

जिल्ला वन क्षेत्र समन्वय समिति दाङको आइतबार घोराहीमा भएको बैठकमा डिभिजनल वन अधिकृत ज्ञवालीले प्रत्येक वर्ष बिरुवा रोप्ने तर त्यसको संरक्षण नहुने प्रवृत्तीलाई अन्त्य गर्नका लागि यो वर्षदेखि संरक्षणमुखी बृक्षरोपण कार्यक्रम गरिएको बताउनुभयो ।
वर्षभर वन क्षेत्रमा भएका गतिविधि बारे प्रस्तुत प्रतिवदेनमा बगरलाई वन गराउने अभियान थालिएको उल्लेख गरिएको छ । सो कार्यक्रमअन्तर्गत यो वर्ष मात्रै ४० हेक्टर बगरलाई तारजाली गरी करिव ६४ हजार बिरुवा लगाइएको छ । स्थानीय वन समूहकै अगुवाईमा थालिएको बगरलाई वन बनाउने कार्यक्रममा स्थानीयलाई सो कार्यका लागि स्थानीय वन समूहलाई प्रतिहेक्टर एक लाख रुपैया समेत कार्यालयले दिएको छ । दाङको ढिकपुर, धर्ना, लक्ष्मीपुरको बेलुवा, हापुर लगायतका नदीले कटान गरी बगर बनेको क्षेत्रमा तारजाली सहित बृक्षरोपण गरिएको कार्यालयले जनाएको छ ।

यसैगरी घोराही र तुलसीपुर उपमहानगरपालिकासहितका सडकको छेउमा शोभायमान प्रजातिका बिरुवा लगाउने काम पनि यो वर्ष गरिने बैठकमा समितिका सदस्य सचिव डिभिजनल अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । गोलमोर, करबिन फूल, छतिवन, चाप, कपुर, क्रिसमस ट्रि लगायतका नयाँ प्रजतिका ३ हजार ५ सय बिरुवा रोपी तारबार गर्ने समेत कार्यक्रममा जानकारी दिइयो ।

त्यस्तै, उत्तरतर्फको जंगलमा यो वर्ष मात्रै ५० हजार जडिबुटी लगाइने भएको छ । बंगलाचुली, बिजौरी, धर्नालगायतका पहाडी भेगमा कुरिलो, सर्पगन्धा, तेजपात, अमला प्रजातिका ५० हजार बिरुवा लगाउन शुरु गरिएको छ । पछिल्लो दुई दशकमा दाङको वन क्षेत्र बढेको छ । यो अवधिमा करिव १० हजार हेक्टर वन क्षेत्र बढेको कार्यालयले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नदीले कटान गरिएको वन क्षेत्रमा बृक्षरोपण गरी स्थानीयलाई सामुदायिक वनका रुपमा हस्तान्तरण गर्ने कार्यबाट जिल्लाको वन क्षेत्र बढेको डिभिजनल अधिकृत ज्ञवालीको भनाई छ ।

जिल्ला वन क्षेत्र समन्वय समिति दाङका सभापति जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सर्वपक्षीय सहभातिमा वन गुरुयोजना तयार गरी सोही आधारमा जिल्लाको वन क्षेत्रको विकास गरिनुपर्नेमा जोड दिएका छन् ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close