गाउँमा टिक्दैनन् युवा ? विदेशबाट फर्किएर फेरि विदेश – दाङ खबर
Global Luja Dang

गाउँमा टिक्दैनन् युवा ? विदेशबाट फर्किएर फेरि विदेश

MadanBhandari College

सुजल श्रेष्ठ
प्यूठान, असार २९ । प्यूठानको गौमुखी गाउँपालिका ७ नारिकोटका बसन्तराज गिरी (३०) अहिले वैदेशिक रोजगारीका लागि कुवेत जाने तयारीमा हुनुहुन्छ । गाउँमा रोजगारीको अवसर नपाएपछि गिरी फेरी विदेश जान लाग्नु भएको हो ।

उहाँ रोजगारीको लागि विदेश जान लाग्नु भएको यो पहिलो पटक होइन, गिरी यसअघि फरक फरक दुइ देशमा काम गरि सक्नुभएको छ । दुई/दुई वर्ष साउदी र कतारमा बसेर गाउँ फर्किए पछि, अब गाउँ मै बस्ने निर्णय गरे पनि गाउँमा आयआर्जनको बाटो नभेटिए पछि,फेरी वैदेशिक रोजगारी मै जाने निर्णय गरेको बताउनुहुन्छ गिरी । यस पटक वहाँ कुवेत जान तयारीमा हुनुहुन्छ ।

‘यहाँ गाउँमा काम नै पाइदैन, यहाँ बसेर के गर्नु, त्यसैले यसपटक कुवेत जाने तयारी गरेको गरीरहेकोछु,’ गिरीले भन्नुभयो, ‘एक त यहाँ काम पाइदैन, पाए पनि नियमित काम पाइदैन ।’ गिरी काठ र स्टिलको काम गर्न पोख्त हुनुहुन्छ । विदेशमा चार वर्ष काठ र स्टिल कै काम गरेको अनुभव छ । गाउँमै बसेर काठ र स्टिलको काम गर्न खोजे पनि गाउँमा यस्तो काम कमै पाइने, कति कति बेला कामै नपाउने उहाँको गुनासो छ । ‘घरमा बुवाले पनि मिस्त्री काम गर्नुहुन्छ, उहाँले भन्नुभयो, तर के गर्ने नियमित काम पाउन गाह्रो छ ।

बसन्त गिरी जस्तै ३९ वर्षिया कुल बहादुर कुवर पनि वैदेशिक रोजगारीबाट गाउँ फर्किनुभएको २ वर्ष भयो । कुवर २ वर्ष कतार र ३ वर्ष मलेशियामा काठको काम गरेर नेपाल फर्किनु भएको हो । काठको काममा सिपालु कुवर अहिले गाउँकै एक विद्यालयको लागि झ्याल ढोका बनाउन व्यस्त भए पनि फेरि वैदेशिक रोजगारीमा मै जाने सोच बनाइ रहनुभएको छ । कुवर यस पटक भने कुवेत जाने तयारीमा हुनुहुन्छ ।

‘गाउँमै काम गर्ने भनेर विदेशबाट फर्किएको हो, तर के गर्ने ? यहाँ काम गरेर जिविको चलाउनै गाह्रो पर्छ ।’ विदेशमा गरेको दुःख गाउँमै गर्ने मन भएपनि गाउँमा अझै भने जस्तो काम गर्ने वातावरण नबनेको र काम अनुसारको पैसा नहुने कुवर बताउनुहुन्छ ।

परिवार चलाउन समस्या भएरै यहाँका युवो ,भारतका विभिन्न शहर र खाडी मुलुकमा काम र पैसाको खोजीमा पुगेका छन् । यसरी कामको खोजीमा विदेशिने युवाहरु गाउँमा महंगोमा ऋण सापटी लिएर विदेश जाने गर्दछन् ।

महंगोमा ऋण सापटी लिएर विदेश जाने मध्येका नारिकोटकै २० वर्षीय मधुराम सामत पनि एक हुन । घरको आर्थिक अवस्था कमजोर भएकै कारण ५ कक्षा पढ्दा पढ्दै छाडेर विदेशिन जानु परेको दुख सुनाउनु हुन्छ मधुराम सामत वहाँ भन्नुहुन्छ “ऋण लिएर कतारगएको थिए,१४ महिना मै फर्किनु पर्यो ।’

‘स्काई फोल्डिङको काममा गएको थिए,’ कम्पनी नै बन्द भयो।त्यहि बसेर अर्को काम गर्ने विकल्प नै भएन अनि नेपाल फर्किए’ । आफु र आफनो परिवारको जिवन राम्रो बनाउने सपनाले विदेश पसेका सामत, कम्पनी बन्द भएर नेपा फर्किदा, अब के गर्ने भनेर चिन्तीत हुनु स्वभाविक नै हो ।

फेरि अर्को कुनै जाने कि भन्ने विचार पनि वहाँको मनमा नआएको होइन तर ६३ वर्षिया आमालाई छोड्र जाने आँट गर्न नसके पछि सामतले अहिले गाउँमै कुखुरापालन व्यवसाय सुरु गर्नु भएको छ । ‘अहिले गाउँमै कुखुरा पाल्न थालेको छु,’ यसैबाट केहि हुन्छ की भन्ने आश गरेको छु ।’

२० वर्षमा गयो ज्यान
नरिकोटबाटै वैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेका दोम बहादुरको ०७४ भदौ २० गते काम गर्ने क्रममा दुर्घटनामा परेर ज्यान गएको बुवा मिन बहादुरले बताउनुभयो । वहाँ भन्नुहुन्छ ‘छोरा घर आउने बेला भएको थियो,घर आउने बेला त्यो घटना घट्यो ।’

मिन बहादुरका चार भाई छोरा मध्ये तिन भाइको विदेशमै थिए र दुई भाई अझै पनि रोजगारीका लागि विदेश मै छन् । वहाँ भन्नुहुन्छ ‘माइलो साउदीबाट फर्केर फेरी कतार गएको छ,’ ‘कान्छो छोरा इन्डिया आउनेजाने गर्छ ।’ घरमा आर्थिक अवस्था कमजोर भएकाले विदेशिन बाध्य भएको उहाँ बताउनुहुन्छ । ‘कमाउन जाने ठाउँ कि इन्डिया हो कि विदेश हो,’ उहाँले भन्नुभयो, ‘गाउँमा यतिकै बसेर के गर्नु र ?’

एकै घरका पाँचभाई विदेशमा
गौमुखी गाउँपालिका–७ भुमेकाथानमा एक परिवारको सात भाईमध्ये पाँच जना रोजगारीका लागि विदेश नै जाउने आउने गर्छन । भक्त बहादुर खड्का (३७) सात भाई मध्ये जेठा हुनुहुन्छ । ०६१ सालदेखि उहाँ निरन्तर रोजगारीको शिलशिलामा विदेश जाने आउने गरिरहनुभएको छ । एघार वर्ष साउदी अरब बसेर फर्किएका खड्का फेरी अहिले दुवाइ जाने सोंचमा हुनुहुन्छ ।

फोरम्यानको काम गरेको लामो अनुभव भएपनि गाउँमा त्यही खालको काम नपाउने हुँदा वहाँ फेरि विदेश नै जान लागेको बताउनुहुन्छ । लामो समय विदेश बस्दा खड्काको सन्तान पनि ढिला भयो । ‘विहे गरेको १६ वर्षपछि अहिले बल्ल सन्तान जन्मिएको छ,’ उहाँले भन्नुभयो, ‘परिवारबाट विदेश नजान आग्रह गरेपनि विदेश बाहेक विकल्प छैन ।’ ‘गाउँमा पोल्टी फार्म खोल्न खोजेँ, कतैबाट सहयोग पाइएन ।’ सरकारले युवालाई रोजगारी दिने भनेर नीति नियम बनाए पनि वातावरण नबनी सकेको उहाँको बुझाई छ । कमाउने उमेर हुनासाथ विदेश जानुपर्ने बाध्यता अझै रहेको उहाँले सुनाउनुभयो ।

उहाँ जस्तै उहाँका अरु सात भाईमध्ये पाँच जना रोजगारीका लागि विदेश आउजाउ गर्ने गरेको भक्त बताउनुहुन्छ । माईला हिरा बहादुर खड्का मलेसिया पछि साउदी, साइला जिवन खड्का साउदी पछि कतार, सुवास खड्का कतारमा रोजगारीका लागि आउजाउ गरिरहने उहाँले जानकारी दिनुभयो ।

एक घर एक विदेश

नगरकोटी वडा कार्यालयले पछिल्लो पटक संकलन गरेको तथ्यांक अनुसार नारिकोटमा आठ सय ३० घरधुरी छ । जसमा चार हजार दुई सय १५ जनसंख्या छ । उक्त आठ सय ३० घरधुरीमा ‘एक घर एक विदेश’ रहेको स्थानीयहरु बताउँछन् ।तर यसको आधिकारीक तथ्यांक भने वडासँग पनि छैन । गाउँबाट विदेश जानेको तथ्यांक वडाले अहिले सम्म संकलन गरेको छैन ।

‘गाउँबाट विदेश जाने धेरै नै छन,’ वडा अध्यक्ष श्यामलाल पुरीले भन्नुभयो, ‘विदेश जानेको अभिलेख राखिएको छैन ।’ विगतमा भन्दा पछिल्लो समय विदेश जानेको संख्या घटेको उहाँको अनुमान छ । बैदेशिक रोजगारीबाट कमाएको रकमको खासै सदुपयोग पनि हुन नसकेको र विशेष गरी आवास, शिक्षा, स्वास्थ्य क्षेत्रमा नै खर्च हुने गरेको छ वहाँको अनुभव छ । २०५०/०५२ सालदेखि नारिकोटबाटा रोजगारीका लागि विदेश जाने क्रम शुरु भएको हो तर गाउँ भित्रिएको रेमिट्यान्स उत्पादनमुलक क्षेत्रमा खर्च ै हुन नसकेको उहाँको भनाई छ । तर गाउँकै अमृत माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र गिरीको अनुभव भने फरक छ । वहाँ भन्नुहुन्छ “ कक्षा ८ मा फेल हुने र १० पास गरेर रोजगारीका लागि विदेश जाने बढी छन् । १० पास गरेर माथिल्लो कक्षा नपढ्दै कमाउनका लागि छात्र विदेशमा पुग्छन । माथिल्ले कक्षा पढ्ने छात्र भन्दा बढी छात्रा हुन्छन् ।”

रोजगारीका लागि गाउँबाट विदेशिएका युवाले गाउँका विद्यालय÷संस्थालाई बेलाबेलामा सहयोग गर्छन् । अमृत माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षाका लागि गाउँबाट विदेशिएका युवाले सात लाख १८ हजार पाँच सय ७ रुपियाँ बराबरको सहयोग गरेका छन् । ‘विदेश गएका युवाले गाउँमा केहि पर्दा आर्थिक सहयोग गर्छन,’ प्रधानाध्यापक गिरीले भन्नुभयो, ‘खेलकुद, सांस्कृतिक कार्यक्रम, रचनात्मक कार्यमा समेत उनीहरुले सहयोग गरिरहन्छन् ।’

राहदानी बनाउने बढ्दै
जिल्ला प्रशासन कार्यालय प्यूठानमा हालसम्म १३ हजार तीन सय ६३ जनाले राहदानी बनाएको तथ्यांक छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार जिल्लाबाट राहदानी बनाउन थालेदेखि यो आर्थिक वर्षको जेठ मसान्तसम्म उक्त राहदानी बनेको हो ।

आर्थिक वर्ष ०७४/७५ मा एक हजार दुई सय ९९ र चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नौ सय ५२ जनाले राहदानी बनाएको उहाँले जानकारी दिनुभयो । यसबाहेक जिल्लाबाट सिफारिस लिएर सिधै काठमाण्डौबाट पनि राहदानी बनाउने गरेको उहाँले जानकारी दिनुभयो ।

जनचेतना अझै छैन
भर्खरका युवादेखि पाको उमेरसम्मका व्यक्ति वैदेशिक रोजगारीमा जाने गरेका छन् । सूचना प्रविधिको विकास भएपनि अझैपनि विदेश जाने व्यक्तिहरुमा सुरक्षित रुपमा कसरी जाने भन्ने ज्ञान छैन । विदेश जाने भनेर एमआरपी भर्न आउँछन्, रेडक्रस प्यूठानका मन्त्री दामोदर शर्माले भन्नुभयो, विदेश जाने मात्र सोंच छ कसरी सुरक्षित रुपमा जाने भन्ने उनीहरुलाई थाहा नै हुँदैन । वैदेशिक रोजगारीका नाममा जिल्लाका धेरै व्यक्ति ठगिएको हुनसक्ने उहाँ बताउनुहुन्छ । सुरक्षित आप्रवासनका लागि केहि समय जिल्ला प्रशासनमा डेक्स राखेर सूचना दिने काम गरेपनि अहिले त्यो कार्यक्रम नरहेको उहाँले बताउनुभयो । (यो फिचर एन्टेना फाउन्डेशन नेपाल र क्ष्च्भ्ह् को फेलोसिपमा तयार पारिएको हो ।)

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close