बाढी र डुबानको जोखिममा प्यूठान उपत्यका – दाङ खबर
Global Luja Dang

बाढी र डुबानको जोखिममा प्यूठान उपत्यका

MadanBhandari College

प्यूठान असार २६ । प्यूठान उपत्यका बाढी तथा डुबानको जोखिममा परेको छ । प्यूठान उपत्यका (झिमरुक फाँट) भएर बग्ने झिमरुक नदी र त्यसका शाखा नदीको बहाव बढ्दा उपत्यका डुबानको जोखिममा परेको हो ।

प्यूठान नगरपालिकाभित्रका जुम्री खोला, हल्दी खोलाको किनार अतिक्रमणले समेत जोखिम बढाएको छ । गत साता हल्दी खोलामा आएको बाढीले प्यूठान नगरपालिकाको वडा नं ४ बिजुवारका केही घर डुबानमा परेको बिजुवारका स्थानीय प्रवीण विकले बताए । स्थानीय सरकारले जथाभावी रूपमा सडक बनाउँदा हल्दीखोलामा लेदोसहितको बाढी आएर बस्ती डुबानमा परेको स्थानीयको गुनासो छ ।

यस्तै झिमरुक नदीले खेतीयोग्य जमीन कटान गर्दा नदी बस्तीमा पस्ने खतरा बढेको छ । झिमरुक नदीको किनार अतिक्रमण गरी सडक तथा अन्य भौतिक संरचना बनाउँदा नदीको बहावले बस्ती जोखिममा पार्ने देखिएको छ । झिमरुक नदीले गौमुखी, झिमरुक, नौबहिनी, ऐरावती गाउँपालिका र प्यूठान नगरपालिका आसपासको जमीन कटान गरेको छ । जिल्लाका यी बस्तीका करीब ५ हजार घरधुरी वर्षायाममा त्रासमा बस्ने गरेका छन् । गतवर्ष बाढी र डुबानमा परी झिमरुकका ६ पुरुष र ३ महिलाको ज्यान गएको थियो ।

प्यूठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले वर्षायाममा हुन सक्ने डुबान एवं कटान रोक्न तटबन्ध निर्माण गरिएको बताए । ‘झिमरुक नदी पस्न सक्ने ठाउँहरूमा बाँध भर्न लगाइसकिएको छ,’ उनले, ‘अन्य स्थानमा समेत बाढीबाट हुन सक्ने क्षति कम गर्न धेरै काम भएका छन् । अर्खा, रजबारामा वर्षा मापन यन्त्र र बिजुवारमा पानीको बहाव नाप्ने यन्त्र राखिने उनले बताए ।

त्यस्तै उद्धारका लागि नेपाल प्रहरीसहितका सुरक्षा निकाय तयारी अवस्थामा रहेको उनले जानकारी दिए । झिमरुक माडी परियोजनाअनुसार संघ र प्रदेश सरकारमार्फत नदी नियन्त्रणका लागि अनुरोध गरिएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । नदी नियन्त्रणका लागि गतवर्ष नगरपालिकाले १ करोड खर्च गरेको समेत उनले जानकारी दिए ।

अभियानबाट

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close