हराएकी चमेली – दाङ खबर
Global Luja Dang

हराएकी चमेली

MadanBhandari College

ऊ अजीवकी थिई । अर्को धरातलमा हुर्किएकी हो जस्तो लाग्ने ।

हातभरि राता चुरा । लामा कुर्ता सुरुवात । बाङ्गो सिउँदो । एक चुल्ठी कपाल । पटपटी फुटेका कुर्कुच्चा । ठूलो पावरदार चस्मा । यो उसको हुलुया ।

सधैँ यस्तै देखेँ–उसलाई । फुटेका कुर्कुच्चा ढाक्न छोटो सुरुवाल तानेर लामो बनाउने प्रयासमा जुट्थी ।
औषत राम्री देखिने ऊ ३५ वर्षकी थिई । यही अनुमान छ मेरो ।

पाठक ! म गगन शर्मा । पेशाले लेखक । छतमा बसेर ब्रस गर्दैगर्दा देखेको उसलाई । अहिले नि उस्तै लाग्छे ऊ । कुर्सीमा बसेर घाम ताप्दै गरेकी देखिई ऊ–हिजोदेखि आजसम्म ।

उसको अन्य वितरण नि चाहियो हैन । मैले भन्नैपर्छ–यो सब । भनिनँ भने म दोषी ठहरिन्छु ।
ऊ मलाई मनपर्ने काम गर्छे । म फूल मन पराउँछु–उसको काम भनेकै फूल गोड्नु हो ।

उसको दैनिक रुटिन–घाम ताप्नु । फूल गोड्नु अनि गमलामा पानी हाल्नु । उसले गर्ने काम यत्ति हो । आफ्नो काममा अभ्यस्त थिई–ऊ । तर, यसै कामसँग घुलिरहेकी देखिन्थी र देखिन्छे ऐलेसम्म ।
फूलको चर्चा हुँदा उसको नाम पनि जोडिएरसँगै आउँछ–नाम ऐले भन्दिनँ ।

ऊ बस्ने घर त्यस्तै अनि ऊ फूलजस्तै लाग्छ–मलाई । घरजस्तै ऊ नि फूलले घेरिएको देख्दा बिछट्टै राम्रो लाग्छ ।
मैले भािहालेँ–उसलाई देख्ने मेरो पुरानो आदत हो । र त आज पनि हेर्छु । हिजोजस्तै लाग्छे । उही काम–उही हुलिया । उही सुगन्ध–उही मादकता ।

मेरो हेराई चाल पाइछ र त एउटा तिखो नजर अनि साविककै सोचमग्नता ।
हाम्रा आँखा परिचित छन्–हामी छैनौं । म चिन्दिनँ उसलाई । सायद् चिन्दिन ऊ पनि ।
बोलचाल ? अहँ ! पटक्कै भएको होइन । ऊ र मैले ठूलै युग बितियौं । हामी दुवै उस्तै ।

समय सधैँ एकैनास रहेन । प्रतिक्षाको घडी सकिएछ । ऊ मेरो डेराको आँगनमा देखा परी–नयाँ हुलियामा । म तिनछक परेँ ।
लत्रिएको दोपट्टालाई एक हातले बेरेकी ऊ बैशाखीमा छे ।

म झनै अचम्मिनछु । ऊ मेरो घरबेटीसँग मलाई नै खोज्दै छे । ऊ मेरो कोठामा आउने पक्का भएपछि मैले वेडमाथि सगरमाथाको चुच्चो बनेका कपडाहरुलाई अँगालो हालेर दराजमाभित्र कोचार्छु । क्यारमका गोटीझंै छरिएका किताबहरु ¥याकभित्र कोचार्छु । अझ पनि धेरै मिलाउनु छ । वेडमाथि असरल्ल सिरक मिलाउन बाँकी नै छ ।

ऊ ढोकामा देखा पर्छे । बोल्छे गगन जी, के मभित्र आउन सक्छु ? ऊ मेरो जवाफको प्रतिक्षा नगरी भित्र आउँछे र आफै कुर्सी तानेर बसी । अनि मेरो मुखमै नहेरी फत्फताउन थार्छे । ‘यो अम्बिकेश्वरी–गलत । मनकामना–गलत । पशुपति–गलत । सुपादेउराली नि गलत । अझै गलत त मेरो हात हेर्ने ज्योतिषहरु ।

फेरि बिस्तारै भन्न थाली शुन्यतामै जीवन बितिरहेको छ । एकदिन ऊ फेसबुकमा भेटियो । नजिक भयौं । बिहे गर्ने बाचा ग¥यो । म बिहे गर्दिनँ भनेर बसेको मान्छे, उसको बोली व्यवहारले लठ्ठ भएँ । मैले आफ्नो उमेर ३० वर्ष भयो भनेँ । उसले फरक पर्दैन भन्यो । सायद् कान्छो थियो की ? भेट म भन्यो । हुन्छ भनेँ ।

म सुन्दैछु–उसलाई । ऊ बोल्दैछे उही शैलीमा । ‘म निकै खुसी थिएँ । कुर्ता सुरुवात फालेर पाइन्ट टिशर्ट लगाएँ । सुनका टप फालेँ, इयर रिङ लगाएँ । ओठमा हल्का लिपिष्टिक । थोरै कपाल अगाडि ल्याएर निधारतिरै असरल्ल छोडेँ । पावरदार चस्माको ठाउँमा रातो÷खैरो चस्मा भयो । चप्पलको ठाउँ अग्लो हिलले लियो । ठसठस माटोको गन्ध आउने अठिला र फुटेका हातहरु तोरीको तेलले मिरेर मलायम बनाउने प्रयास गरँे । अब म अर्कै भैसकेकी थिएँ । भित्रभित्रै धेरै खुसी थिएँ । अनि थोरै लजाकी पनि ।’
म अचम्मिदै छु । ऊ किन खुल्दैछ मसँग ।

मेरो ध्यान केन्द्रीत गर्दै आफूलाई खोल्दैछे बिस्तारै–बिस्तारै । ‘जीवनकै सबैभन्दा प्यारो क्षण थियो त्यो । घरी मुस्काउँथेँ, घरी आफैसँग कुरा गर्थेँ । एक दिन त्यो ठाउँमा पुगँे म, जहाँ उसले भनेको थियो । त्यति लामो बाटो कसरी पार गरेँ थाहा पाइन । त्यहाँ पुगेपछि मेरो एउटै काम भयो, उसलाई कुर्नु । मनभरि ऊ कस्तो होला ? को होला ? के भन्ला ? मलाई कस्ती भन्ला ? भन्दै समय बितेको पत्तै पाइएन । १ घण्टा बितिसकेछ फेरि फोन गरेँ । उसले बाटोमा आउँदै गरेको जानकारी दियो । म असाध्यै खुसी थिएँ । घरी आफ्ना कपडा मिलाउँथेँ । घरी बाटोमा हिड्नेहरुलाई हेर्थेँ अनि लजाउँथेँ–आफैसँग । लाग्थ्यो बाटो हिड्नेहरु मलाई नै हेर्दैछन् । धेरै समय बित्यो । सूर्यले धर्ती छा्ड्ने सुरसार गर्न थाल्यो । चराहरु गुँड फर्किन थाले । तर, ऊ आएन । खुव बाटो हेरँे । साँझ हुँदासम्म उसलाई कुरिरहेँ । ऊ आउनेमा म बिश्वस्त थिएँ । आश लागिरहेको थियो ।

यसबीच धेरै पटक उसका नम्वरहरु डायल गरिरहेँ । तर, फोन सम्पर्क बाहिर थियो । अब कुर्नुको आवश्यकता भएन । धैर्यताले सीमा पार गरिसकेको थियो । जब मनमा अब ऊ आउँदैन भन्ने विचार मनमा आयो । एकाएक छटपटी भयो । आकाशतिर फर्केर बेस्सरी चिच्याएँ । आँखाबाट अबिरल आँशु झर्न थाल्यो । बाँच्नै मन लागेन । सास फेर्न नि गाह्रो भयो । जमिनमा हात बजारी–बजारी रुन थालेँ । मनमा एक्कासी कुविचार आयो । नजिकै एउटा ठूलो ढुङ्गा थियो । बल्ल–बल्ल उठाएँ र टाउकोमा हानेर मर्छु भन्ने सोचेँ । शरी थर्थराइरहेको थियो । हातहरु सन्तुलनमा थिएनन् । हातबाट ढुङ्गा चिप्लिएर खुट्टामाथि खस्यो । त्यसपछि होस भएन । एकैपटक हस्पिटलमा होस खुल्दा वरिपरी आफ्ना मान्छेहरु थिए । अनि सधैंका लागि बैशाखी नै मेरो जीवनको साथी भएको छ । यही हो गगन जी, मेरो कथा ।’

यति भनिसक्दा उसँग आँशुको भेल थियो । क्रन्दन थियो । पीडा छचल्किएर कोठा पुरै ढाक्दै थियो । उसँग सोध्ने धेरै कुरा थिए । धेरै भन्नुथियो उसलाई । तर, सकिनँ । उसले त्यो अवसर दिइन ।

लामो स्वास तानी र बैशाखीको भरमा उठ्दै गर्दा भनि,‘सर म चमेली । मिल्छ भने मेरो ब्यथा छापिदिनुहोला । कथा पढेपछि कतै ऊ फर्केर आउँछ कि ? एकचिम्टी आशा बाँकी छ ।’

मेरो जवाफ नपर्खिएर बाहिरिई ।

पाठक धेरै दिनदेखि खोज्दैछु–चमेलीसँगै उसको एकचिम्टी खुसी । धेरै भौतारिएँ–घोराही, लमही, तुलसीपुर अनि भालुवाङतर्फ । भेटेमा खबर पाउँ, चमेलीसँग धेरै बोल्नु छ । सुनाउनु छ मैले भोगेको लामो इतिहास । भविष्यको खुसीसँगै खोज्नुछ । जोड्नुछ उसको र मेरो सपनालाई ।

हुलिया बिर्सिनेका लागि जानकारी
नाम–चमेली ।
उचाई–५ फिट ।
वर्ण–गहुँगोरो । हातभरि राता चुरा । लामा कुर्ता सुरुवात । बाङ्गो सिउँदो । एक चुल्ठी कपाल । पटपटी फुटेका कुर्कुच्चा । ठूलो पावरदार चस्मा ।
पत्राचारका लागि
गगन शर्मा, घोराही–११, दाङ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close