नेपालमा बढ्दै आत्महत्या – दाङ खबर
Global Luja Dang

नेपालमा बढ्दै आत्महत्या

MadanBhandari College

रामहरि ओझा/ नेपाली समाजमा पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गएका छन् । दिनहुँजसो आत्महत्याका समाचारहरु पढ्न र सुन्नु परेको छ । त्यसो त आत्महत्याका घटना नेपालमा मात्रै नभएर बिश्वभरि नै हुने गरेका छन् । बिश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार बिश्वमा प्रत्येक बर्ष करीव ८ लाख मानिसले आत्महत्या गर्छन । यस आधारमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गरेको हुन्छ ।

नेपालमा आत्महत्या गर्नेहरुमध्ये करीव ७२ प्रतिशतले झुण्डिएर आत्महत्या गर्छन् । बिष सेवन गरेर, आफूले आफैंलाई गोली हानेर, आगो लगाएर, हामफालेर, करेण्ट लगाएर, हातहतियारको प्रयोग गरेर आत्महत्या गर्ने गरेको पाइन्छ । कतिपय अवस्थामा आत्महत्यालाई हत्या भएको भन्दै मुद्दा परेका घटनाहरु छन् । यसले सामाजिक सम्वन्धमा खलल पुर्‍याउँछ । आत्महत्यालाई आफ्नो माग पूरा गराउने सौदाबाजीको रुपमा पनि प्रयोग गर्ने गरेको छ ।

नेपाल प्रहरीको पछिल्लो पाँच बर्षको तथ्यांक हेर्दा २४ हजार ६३९ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ०७४/७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरेको देखिन्छ । ०७३/०७४ मा ५ हजार १३१ जनाले आत्महत्या गरेका छन् भने ०७२/०७३ मा ४ हजार ७०५ जना र ०७१/०७२ मा ४ हजार ३५० जनाले आत्महत्याको बाटो रोजेका छन् । त्यस्तै ०७०/०७१ मा ५ हजार १०७ ले आत्महत्या गरेका छन् ।

पाँच वर्षको अवधिमा आत्महत्या गर्नेहरुमा ११ हजार ६४५ महिला रहेका छन् । कुल आत्महत्या गर्नेमध्ये १ हजार १४६ बालबालिका छन् । यस आधारमा देशभरिमा प्रत्येक दिन १४ जनाले आत्महत्या गर्छन् भन्ने हिसाव निकाल्न सकिन्छ । तथ्याङ्क हेर्दा प्रत्येक बर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गइरहेको छ । यो तथ्याङ्क प्रहरीसम्म आएको जानकारी मात्रै हो ।

अहिले पनि दुर्गम ग्रामीण क्षेत्रमा हुने आत्महत्याका घटनाहरु वा शहरमै पनि सम्भ्रान्त घरानामा हुने आत्महत्याका घटनाहरु प्रहरीको अभिलेखसम्म आउँदैनन् । प्रहरीलाई जानकारी गराए पोष्टमार्टम लगायतका कानुनी प्रक्रियाहरु पूरा गर्नुपर्ने झण्झटिलो र खर्चिलोमा लाग्नु भन्दा स्वाभाविक मृत्युु भन्दै अन्तिम संस्कार गर्ने चलनले कतिपय ग्रामीण क्षेत्रका घटनाहरु अभिलेखमा आउँदैनन् । यदि सवै घटनाको अभिलेखीकरण हुने हो भने यो संख्या अझ बढी हुन सक्छ ।

प्रत्येक वर्ष सेप्टेम्बर १० लाई विश्व आत्महत्या रोकथाम दिवसका रुपमा मनाइँदै आएको छ । आत्महत्या रोकथाम दिवसको सन् २०१८ को नारा ‘आत्महत्या नियन्त्रणका लागि सबै एकजुट होऔं’ भन्ने तय गरिएको थियो ।

डोटी जिल्लामा गरिएको एक अध्ययनबाट कुल आत्महत्या गर्ने संख्याको करीव ३८ प्रतिशत बेरोजगारीका कारण आत्महत्याको तहमा पुग्छन् । विगत तीन बर्षमा डोटी जिल्लामा आत्महत्या गर्ने ४७ व्यक्तिका परिवारका सदस्यहरुमा गरिएको उक्त अध्ययनले प्रेम सम्वन्ध बिग्रेर वा पारिवारिक–सामाजिक कारणले प्रेम बियोगमा परेर आत्महत्या गर्ने १७ प्रतिशत रहेका छन् ।

यस्तै पारिवारिक समस्याका कारण आत्महत्या गर्ने अर्थात् परिवारमा भएको झै–झगडा, अभाव वा मनमुटावका कारण आत्महत्या गर्नेहरु १२.७६ प्रतिशत र परीक्षामा असफल भएर १०.६३ प्रतिशत रहेका छन् । स्वास्थ्य समस्या वा मानसिक समस्याका कारण आत्महत्या गर्छ भन्ने आम बुझाई रहेको छ । तर, यस अध्ययनले आत्महत्या गर्नेहरुमध्ये ८.५१ प्रतिशतले मात्रै स्वास्थ्य समस्याका कारण आत्महत्या गर्ने गरेको देखाउँछ । नसालु पदार्थ सेवन गरे ६.३८ प्रतिशत र अन्य सामाजिक झमेलाका कारण ६.३८ प्रतिशतले आत्महत्या गर्ने गरेका छन् ।

आत्महत्या प्रायः १५ देखि २४ बर्ष उमेर समूहका व्यक्तिहरुले गरेको देखिन्छ । आत्महत्याको एउटै कारण सवै व्यक्तिमा लागू हुन्छ भन्ने हुँदैन । उदासिनता, रक्सी र अन्य लागु औषधीको दुरुपयोग, दीर्घरोगी, मानसिक स्वास्थ्य समस्या, द्वन्द्व, घरेलु हिंसा, आफन्तको मृत्यु, गरिवी, वेरोजगारी, मायामा धोका, पढाइमा असफल जस्ता कारणले व्यक्ति आत्महत्याको तहमा पुग्ने गरेको छ ।

आत्महत्याको कारण

आत्महत्याको अर्थ स्वयंलाई मार्नु भन्ने हो । प्रत्येक आत्महत्या व्यक्तिगत समस्याका कारण हुने गर्छन् । व्यक्तिले विभिन्न आकाङ्क्षाहरु पालेको हुन्छ र ती आकाङ्क्षाहरु तत्काल पूरा होऊन भन्ने चाहन्छ । ती चाहनाहरु पूरा नभएपछि आत्महत्या गर्न पुग्छ । तर, समग्रतामा अध्ययन गर्दै जाँदा कुनै व्यक्ति आत्महत्याको तहमा पुग्नुको मुल कारण समाज हो । हरेक व्यक्तिका ईच्छा, चाहना, आवश्यकताहरु हुन्छन् । उसले ती ईच्छा, चाहना, आवश्यकताहरुलाई परिपूर्ति गर्न चाहान्छ । तर, समाजले उसलाई छुट दिँदैन । यस्तो अवस्थामा आवेशमा गरिएको निर्णयले व्यक्ति अप्राकृतिक मृत्युवरण गर्छ । व्यक्तिलाई आत्महत्याको तहसम्म पुर्‍याउन समाज उत्प्रेरकको भूमिका गर्छ ।

उदाहरणका लागि पछिल्लो समयका आत्महत्याका घटनाहरुलाई लिन सकिन्छ । युवा–युवतीवीच प्रेम सम्वन्ध भयो, उनीहरु बिहे गर्न चाहान्छन् तर समाजले जातको नाममा, धर्मको नाममा, वर्गको नाममा वा यस्तै कुनै वहानामा उनीहरुलाई बिहे गर्ने अनुमति दिँदैन । सँगै मर्ने, सँगै जीउने बाचाका साथ प्रेम गरेको युगल जोडी छुट्टिनु पर्दा युवा वा युवती वा दुवै आत्महत्याको तहमा पुग्छन् ।

त्यस्तै परीक्षामा असफल हुँदा धिक्कार्ने हाम्रो समाज बेरोजगार हुँदा “निकम्मा” उपमा दिन्छ । यी र यस्ता कतिपय सामाजिक कुराहरु छन्, जसले गर्दा व्यक्ति आत्महत्याको तहमा पुग्छ । त्यसकारण आत्महत्याको मुख्य कारण समाज नै हो । पौराणिक कालमा पनि आफू पृथ्वीमा जुन काम गर्न आएको हो त्यो काम सकिएपछि “स्वयं समाधिस्थ” भएका कथा पनि पढ्न पाइन्छन् शास्त्रहरुमा । त्यसरी समाधिस्थ हुनु पनि आत्महत्या नै हो । तर, परिस्थिति अनुसार आत्महत्याको परिभाषा फरक–फरक हुँदोरहेछ ।

यस्तै, बच्चाहरुको बढ्दो महत्वाकाङ्क्षा र आफ्नो आयश्रोतको तालमेल मिलाउन नसकेर आत्महत्या गर्नेहरू पनि भेटिएका छन् भने अर्कोतर्फ अभिभावकहरुले छोडेर हिँडेपछि उनीहरूका बच्चाहरुको एक्लोपन र गलत सङ्गतले नशालु पदार्थ एवं कुलतमा फस्ने गरेको पनि भेटिन्छ ।

अभिभावकहरुको अनुपस्थितिमा जीवनलाई नबुझ्दै गर्ने ‘लिभिङ् टुगेदर रिलेसनसिप’मा धोका, अविश्वास र अपरिपक्व अवस्थामा रहेको अवैध गर्भाधारणले युवायुवतीहरुलाई आत्महत्या गर्न बाध्य बनाएको भेटिन्छ र वृद्धवृद्धाहरुले आफ्नै सन्तानबाट सहनु परेको अपहेलना र मानसिक तनाव आर्थिक अभाव, विभिन्न किसिमका रोगहरुलाई खप्न नसकेका कारण समेत आत्महत्या गर्ने गरेको पाइन्छ ।

समाजशास्त्री इमाइल दुर्खिमले सामाजिक, सांस्कृतिक, धार्मिक मान्यताले समाजलाई बाधेर राखेको हुन्छ भनेका छन् । उनले धर्म भनेको एउटा यस्तो संयन्त्र हो जसले व्यक्तिहरु माथि नियन्त्रण गर्दछ भनेका छन् । दुर्खिमले आफ्नो पुस्तक ‘सुसाइड’ मा समाजमा हुने आत्महत्याका घटनाहरु व्यक्तिगत कारण नभई सामाजिक कारणबाट हुने बताएका छन् ।

आत्महत्या विश्वभरिमा जनस्वास्थ्यको सवाल बनेको छ । यसले समाज, देश र विश्वलाई प्रभावित बनाएको छ । आत्महत्याबाट युवाहरु बढी प्रभावित रहेका छन् । १५–२९ उमेर समूहका मानिसहरुको दोश्रो ठूलो मृत्युको कारण आत्महत्या बनेको छ । आर्थिक अवस्था कमजोर भएका र मध्यम आर्थिक अवस्था भएका मुलुकहरुमा यो समस्या बढी देखिए पनि विश्वभरि नै समस्याका रुपमा रहेको छ ।

पछिल्लो अवस्थामा नेपाली समाजमा आत्महत्याका कारणहरु हेर्दा, सामाजिक सञ्जाल र सञ्चार उपकरणहरुको दुरुपयोग अर्को महत्वपूर्ण कारण भएको छ । सञ्चार उपकरणबाट एक आपसमा जोडिँदै जाँदा प्रेम सम्वन्धसम्म पुग्ने, पछि परिवारका कारण छुट्टिने अवस्था आउने वा धोका पाउने, बालबिवाह र बहुबिवाह बढी हुने, ढाँटेर अर्को बिवाह गर्ने जस्ता घटनाहरु हुँदै जाने र अन्ततः आत्महत्याको तहमा पुग्ने गरेको पाइन्छ । यस्ता घटनामा पनि कारण भने समाज नै हुने गरेको छ ।

डोटी जिल्लाको अध्ययनमा शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा आत्महत्या गर्नेको संख्या बढिरहेको पाइन्छ । अभाव, दवाव र अपहेलना शहर भन्दा ग्रामिण क्षेत्रमा बढी भएका कारणले पनि ग्रामिण क्षेत्रका बासिन्दाहरुले आत्महत्याको तहमा पुगेका हुन सक्छन् । अर्कोतर्फ कानुनी उपचारका लागि सहज पहुँच नभएका कारण पनि ग्रामीण क्षेत्रमा आत्महत्याका घटनाहरु बढी छन् ।

(लेखक स्नातकोत्तर तहको समाजशास्त्र विषय अन्तरगत “डोटी जिल्लामा आत्महत्या : कारण र प्रभाव” शीर्षकमा शोधकर्ता हुन्)

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close