प्रचण्डकाे खुलासा – दाङ खबर
Global Luja Dang

प्रचण्डकाे खुलासा

MadanBhandari College

काठमाडौं जेठ १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एकजना अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सम्झौता कार्यान्वयनमा कुनै बाधा नआउने भन्दै पहिलोपल्ट सार्वजनिक अभिव्यक्ति दिएका छन् । प्राइम टेलिभिजनबाट प्रशारण हुने कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अति गोप्य राखिएको सहमति सार्वजनिक भएपछि अहिले नेकपामा तरंग उत्पन्न भएको छ । २०७५ वैशाख २ गते भएको सहमति कार्यान्वयनमा कुनै बाधा नपुग्नेमा आफू विश्वस्त रहेको प्रचण्डको धारणा छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते ६ बुँदे संयुक्त घोषणा भयो । र, पार्टी एकीकरणलाई औपचारिकता दिइयो । त्यसको अघिल्लो दिन नै दुई पार्टीबीच गोप्य पाँचबुँदे सहमति भएको थियो । जसले फरक–फरक कार्यदिशा र पृष्ठभूमिबाट आएका दुई दलबीच एकीकरणको वातावरण तयार भयो ।
सहमतिबारे नेकपावृत्तमा गाइँगुइँ चलेको भए पनि बाहिर आएको थिएन । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले उक्त कार्यक्रममा केपी ओली र आफूले साढे दुई–साढे दुई वर्ष सरकार सञ्चालन गर्ने सहमति गरेको बताएका थिए । “पार्टी एकता गर्दा समझदारी भएको छ । पार्टीको निर्णय गर्दा सहमतिबाट जानुपर्छ । सरकारको नेतृत्व आलोपालोबाट गर्ने सहमति भएको छ,” प्रचण्डको भनाइ थियो । लिखित सहमति भएको छ ? भन्ने प्रश्नको जवाफमा उनले भने– “लिखितै छ । बाहिरै आइसकेको छ । किताबमा छापिएरै आइसकेको छ ।”

सहमतिमा के छ ?

नेकपाले एकवर्षसम्म सहमति गोप्य राखेको थियो । तर, एबीसी टेलिभिजनका संस्थापक अध्यक्ष शुभशंकर कँडेलले लेखेको ऐतिहासिक एकताका आधारहरूमा अत्यन्त गोप्य राखिएको उक्त सहमति छापिएको छ । पाना नम्बर २०१ मा सहमतिको छ बुँदा खुलाइएको छ भने पाना नम्बर २ मा सम्झौताको प्रतिलिपि नै छापिएको छ ।

सहमतिको पहिलो बुँदामा जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीमा जनवाद र माओवादसम्बन्धी राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवादका रूपमा अगाडि बढाउने । आगामी एकता महाधिवेशनमा वैचारिक, राजनीतिक विषय एवम् नेतृत्व निर्माण र सङ्गठन सम्बन्धी विषय अल्पमत र बहुमतका आधारमा नभइ सहमति र सहझदारीका आधारमा टुंगो लगाउने उल्लेख छ ।

दोस्रो बुँदामा पार्टी एकताका संगठनात्मक सिद्धान्त समानता, सम्मानजनक र न्यायोचित हुने उल्लेख छ । तेस्रो नम्बर बुँदामा एकता महाधिवेशन नहुँदासम्म पार्टीका सम्पूर्ण निर्णयहरू विधिसम्मत र कमिटीबद्ध छलफलका आधारमा लिने तथा दुवै अध्यक्षको सहमति र हस्ताक्षरपश्चात् निर्णयको आधिकारिकता मानिने उल्लेख छ ।

चौथो बुँदामा समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख छ । पाँचौँ बुँदामा महाधिवेशनसम्मका लागि केन्द्रीय समिति २४१ र २२० गरी ४४१ र स्थायी समिति २५ र १८ गरी ४३ जनाको रहने उल्लेख छ । तर, पछि चार सदस्य थपेर ४४५ सदस्यीय केन्द्रीय कमिटी र दुई सदस्य थप गरेर ४५ जनाको स्थायी कमिटी बनाइएको थियो ।

पार्टी अध्यक्षद्वले हस्ताक्षर गरेको गोप्य सम्झौताका साक्षीका रूपमा तत्कालीन एमाले उपमहासचिव विष्णु पौडेलले र माओवादी केन्द्रका कार्यालय सचिव रहेका जनार्दन शर्माले हस्ताक्षर गरेका छन् ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close