पाँचथर रहस्यमय हत्याकान्ड – दाङ खबर
Global Luja Dang

पाँचथर रहस्यमय हत्याकान्ड

Birala Tyre Dang

काठमाडौं जेठ ७ । पाँचथरको मिक्लाजुङ गाँउपालिकामा सोमबार राति भएको हत्याकान्डमा प्रहरीले मृतक बमबहादुर फियाकका कान्छा ज्वाईँ मान बहादुर माखेमको संलग्नता आशंका गर्दै अनुसन्धान अगाडि बढाएको छ। माखेम मंगलबार बिहान मिक्लाजुङमै झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए। माखेम, बमबहादुरका कान्छा ज्वाईँ हुन्।

मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राती बमबहादुरको परिवारका ४ जना र उनका ज्वाईँ धनराज शेर्मासहित उनका परिवारका पाँच जनाको धारिलो हतियारले विभत्स हत्या भएको थियो । हत्याकान्डमा माखेमकी श्रीमती मनकुमारीको समेत हत्या भएको छ। माखेम र मनकुमारीबीच अदालतमा सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । उनीहरुबीच विगत ५/६ वर्षयता सम्बन्ध राम्रो नरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरुबाट दुई सन्तान जन्मिए पनि ती दुवै बाँचेका थिएनन् । मनकुमारी पछिल्लो समय माइतमा बस्दै आएकी थिइन्। माखेम मिक्लाजुङ-७ मा बस्दै आएका थिए।

‘माखेमले आत्महत्या गरेको र उनको बमबहादुरको परिवारसँग सम्बन्ध राम्रो नरहेकाले अनुसन्धान उनीबाटै सुरु भएको हो। तर यो नै निष्कर्ष भने होइन’, स्थानीय प्रहरी इलाकाका प्रमुख प्रहरी निरिक्षक तेजप्रसाद यादवले भने। घटनास्थललाई प्रहरीले अहिले घेराबन्दी गरेको छ। प्रमुख जिल्ला अधिकारी घटनास्थल पुगिसकेका छन्।

दुई परिवारमा बाँचेकी एक्ली ‘किशोरी’

सोमबार राति हत्या गरिएका धनराज शेर्मा र बमबहादुर फियाकको घर करिब आधा घन्टाको पैदल दुरीमा पर्छ। तर यी दुवै परिवारमा हत्याकान्ड मच्चियो एकै रात। धनराजका परिवारका सबै मारिए।

बमबहादुरको परिवारमा भने एक जना मात्र बाँच्न सफल भइन्। ती किशोरी बमबहादुरकै जेठी छोरीकी छोरी १४ वर्षीय सिता खजुङ हुन्। उनको दमकस्थित आम्दा अस्पतालमा उपचार भईरहेको छ। प्रहरीले सिताको निधार र दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ। धनकुटा घर भए पनि उनी मावल बसेर स्थानीय विधालयमा कक्षा ९ मा अध्ययनरत छिन्।

मुकुन्डो लगाएर आएका एक मानिसले राती १० बजे परिवारका सदस्यलाई धारिलो हतियार प्रहार गर्न थालेपछि ती किशोरी करिब ६० मिटरको दुरीमा रहेको छिमेकीको घरमा गएर लुकेको प्रहरीले जनाएको छ। ‘ तपाईहरु चुप लाग्नुस् नत्र तपाईहरुलाई पनि मार्छन्’, छिमेकीलाई ती किशोरीले भनेको कुरा उदृत गर्दै प्रहरी निरिक्षक यादबले भने।

राती १० बजे घटना भएको र छिमेकीलाई ती किशोरीले जानकारी गराएको भए किन सबै चुप लागेर बसे ? रहस्यमय बनेको छ। सिताले आफुलाई बाटासम्म खेदाउँदै आए पनि ती हतियारधारीले भेट्टाउन नसकेको बताएको प्रहरीले जनाएको छ। ‘ त्यत्रो घटना हुँदापनि छिमेकीले केही नसुन्नु र केही सुईको पाएकाले पनि केही नगर्नुले घटना रहस्यमय देखिन्छ’, अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन्। घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनास्थलतर्फ लागिसकेको छ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close