मोटरसाइकल मर्मत तालिम सिक्दै युवाहरु – दाङ खबर
Global Luja Dang

मोटरसाइकल मर्मत तालिम सिक्दै युवाहरु

Birala Tyre Dang

दाङ, जेठ ५ । प्रदेश ५ सरकारले स्वरोजगारमुलक कार्यक्रम सञ्चालनमा ल्याएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत प्रदेशका ३५ स्थानीय तहमा स्वरोजगारमुलक कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

विकासका हिसावले पछाडि परेका गाउँपालिकाहरुमा सुरुभएको कार्यक्रमअन्तर्गत युवाहरुले धमाधम सीपमुलक तालिम लिइरहेका छन् । यसैबीच आइतबारदेखि दाङको घोराहीमा मोटरसाइकल मर्मत तालिम सुरु भएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सिफारिस तथा कार्यान्वयन समिति राजपुरको सहयोग एवं दाङ सुचना तथा अध्ययन केन्द्र घोराहीको आयोजनामा तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीले युवाहरुलाई स्वरोजगार बनाउने अभियानमा सरकार लागि परेको बताउनुभयो । बेरोजगारी समस्या समाधानका लागि मुलुकका तीनवटै सरकार लागिपरेको भन्दै संयोजक नेपालीले सरकारले प्रदान गरेको अवसरलाई सदुपयोग गर्नतर्फ सबै लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि एवं मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम दाङका सहजकर्ता श्रीधर राजभण्डारीले दाङका बबई, राजपुर र वंगलाचुली गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालनमा रहेको बताउनुभयो । प्रत्येक गाउँपालिकाका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट ४५ लाख ९० हजार वजेट विनियोजन गरिएको भन्दै राजभण्डारीले उक्त वजेट शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा खर्च हुने बताउनुभयो ।
कार्यक्रममा घोराही अटो टाउन व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खत्री, नेपाल अटो मेकानिकल टे«ड युनियन दाङका अध्यक्ष दीलबहादुर क्षेत्रीलगायतले बोल्नुभएको थियो । असार ३ गतेसम्म सञ्चालन हुने तालिममा राजपुर गाउँपालिकाका १४ जना युवाहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा मेकानिकल इञ्जिनियर प्रशान्त जिसी र दुर्गा खत्री रहनुभएको छ ।

यसैबीच वंलाचुली गाउँपालिकाका युवाहरुका लागि आइतबारदेखि मोटरसाइकल मर्मत तालिम सुरु भएको छ । गाउँपालिकाका उपाध्यक्ष यमुना घर्तीको अध्यक्षता एवं जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको छ । महिला सरोकार केन्द्रद्वारा सञ्चालित ४५ दिने तालिममा गाउँपालिकाका १६ जना युवाहरुको सहभागिता रहेको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close