विद्यालयले तपाईंको बच्चालाई मनरोगी त बनाउँदै छैन ? – दाङ खबर
Global Luja Dang

विद्यालयले तपाईंको बच्चालाई मनरोगी त बनाउँदै छैन ?

MadanBhandari College

जेठ १। विद्यालयको कुरा गर्दा तपाईंको बच्चा कति फुरुंग हुन्छ ? शिक्षक/शिक्षिकासँग कति झ्यामिन्छन् ? कक्षाकोठामा कति रमाउँछन् ? साथीसंगीसँग कति घुलमिल हुन्छन् ?यी प्रश्नहरुको उत्तर एक-एक केस्रा केलाएर हेर्नुहोस् । किनभने, तपाईंको बच्चामाथि विद्यालयमा अत्याचार पनि भइरहेको हुनसक्छ ।

विद्यालयको प्रसंग उठ्नसाथ बच्चाको अनुहार मलिन हुन्छ । शिक्षक/शिक्षिकाको नाम लिनसाथ बच्चा भयभित हुन्छन् ।कक्षाकोठाको कुरा गर्नसाथ बच्चा निरास हुन्छन् । साथीसंगी देख्नसाथ हतोत्साही हुन्छन् ।

यदि त्यसो हो भने तपाईंको बच्चा विद्यालय जान त्यती रुची गर्दैनन् । अनेक वहाना गर्छन् । विद्यालय, पुस्तक, झोला, युनिर्फम, टिफिन बक्स केही पनि हेर्न मन गर्दैनन् । शिक्षकको अघिल्तिर घोसेमुन्टो लगाउँछन् । स्वर काँप्छ । विद्यालयको संघार टेक्नसाथ रुन्चे अनुहार लगाउँछ । साथीसंगी भेट्नसाथ लुक्न खोज्छन् ।

त्यसो हो भने तपाईं ढुक्क हुने बेला छैन । सर्तक हुनुहोस् । सजग हुनुहोस् । यो बच्चाको समस्या होइन । कक्षाकोठा, विद्यालय, शिक्षक-शिक्षिका वा उनकै सहपाठीको समस्या हो ।

हामी बच्चालाई विद्यालय पठाउँछौ र ढुक्क हुन्छौ । बच्चाले पढ्न, लेख्न सिक्छन् भन्ने लाग्छ । विद्यालयमा पुगेपछि नयाँ-नयाँ कुरा सिक्छन् भन्ने लाग्छ । बच्चा चलाख, बौद्धिक र व्यवहारिक हुन्छ भन्ने लाग्छ । तर, सबैको हकमा र सबै विद्यालयको हकमा यस्तो हुँदैन ।

कतिपय विद्यालयले बच्चालाई मनोरोगी बनाउन सक्छ ।झट्ट सुन्दा अपि्रय लाग्छ । तर, सत्य हो । विद्यालयकै कारण बच्चाहरु हतोत्साही, कमजोर, भयभित, आतंकित हुन्छन् । किन यस्तो हुन्छ ?

किनभने विद्यालयको वातावरण, शिक्षिक/शिक्षिकाको व्यवहार, सहपाठीको प्रवृत्ति आदिले बच्चाको मनोवलमा ठेस पुर्‍याउन सक्छ । कस्तो अवस्थामा यस्तो हुन्छ त ?

तपाईं देख्नुहुन्छ, कतिपय विद्यार्थीहरु हाँसीखुसी विद्यालय पुग्छन् । खेल्छन् । उप|mन्छन् । पढ्छन् । रमाउँछन् । उनीहरु निर्धक्क घर र विद्यालय आउजाउ गर्छन् । शिक्षक-शिक्षिकासँग सहज मान्छन् । त्यही कारण शिक्षक/शिक्षिकालाई लाग्छ, ‘सबै विद्यार्थी यस्तै हुन् । यदि कुनै विद्यार्थी विद्यालय आउन मान्दैन । डराउँछन् । शिक्षकसँग बोल्दैनन् । साथीसँग घुलमिल हुँदैनन् भने त्यो बच्चाको समस्या हो ।’

समस्या बच्चाको होइन । उनीहरुको बुझाई र हेराईको हो ।एउटा बच्चा जसरी विद्यालयमा सहज मान्छन्, अर्को विद्यार्थीले त्यसरी नै सहज मान्छन् भन्ने छैन । यसरी असहज मान्ने विद्यार्थीलाई कस्तो व्यवहार गर्ने ? कसरी उनीहरुको मनोवल उकास्ने ? कसरी उनीहरुलाई रमाइलो गराउने ? यस कुरामा शिक्षक/शिक्षिकाले सोच्नुपर्छ ।

दुःखलाग्दो चाहि के छ भने, यस्ता बच्चालाई उत्साहित गर्ने भन्दा पनि बेवास्ता गर्ने प्रवृत्ति छ । त्यही कारण समस्या थप जटिल हुँदै जान्छ। यस्तो अवस्था आउँछ, कि बच्चालाई विद्यालयको नाम सुन्नै मन लाग्दैन । शिक्षक/शिक्षिकाको अनुहार सम्झनै मन लाग्दैन ।

कमजोर बच्चा अपहेलित

खासगरी विद्यालयले जो विद्यार्थी पढ्नमा तगडा छन्, सोधेका प्रश्नको फटाफट जवाफ दिन्छन्, नियमित होमवर्क गर्छन् त्यस्ता विद्यार्थीलाई ‘अब्बल’ भनेर प्रशंसा गर्छन् । यस्तै विद्यार्थीप्रति शिक्षक/शिक्षिकाको बढी झुकाव पनि रहन्छ । किनभने, पढाईमा तगडा बच्चा शिक्षक/शिक्षिका र विद्यालयका लागि समेत राम्रो मानिन्छ । विद्यार्थीले परीक्षामा हासिल गर्ने अंक एवं सफलतालाई विद्यालयले आफ्नो सफलताको मापदण्ड बनाएको हुन्छ ।

जब विद्यार्थीले उच्च अंक ल्याउँछ । परीक्षामा सर्वोत्कृष्ट हुन्छन् । विद्यालय त्यसबाट लाभान्वित हुन्छन् । यही कारण अधिकांश विद्यालयको जोड हुन्छ, विद्यार्थीलाई धेरै भन्दा धेरै तगडा बनाउने । यो उनको निजी फाइदासँग जोडिएको कुरा पनि हो ।

तर, सबै विद्यार्थीको वौद्धिक क्षमता एकनास हुँदैन । शिक्षकले पढाएको कुरालाई सहजै ग्रहण गर्न सक्ने क्षमता हुँदैन । पढेको पाठ स्मरण गर्नसक्ने क्षमता हुँदैन । उनीहरु सही ढंगले पढ्न र लेख्न पनि जान्दैनन् । प्रयास गर्दागर्दै पनि उनीहरु साथीहरुभन्दा पछि पर्छन् ।

यस किसिमका विद्यार्थीलाई विद्यालयले ‘कमजोर’को ट्याग लगाइदिन्छ । कमजोर विद्यार्थीप्रति शिक्षक/शिक्षिका त्यती उत्सुक हुँदैनन् । उनीहरुले नपढेकोमा, पढेको कुरा नबुझेकोमा, सही ढंगले जवाफ नदिएकोमा, नियमित होमवर्क नगरेकोमा शिक्षक/शिक्षिका क्रोधित हुन्छन्। यस्ता विद्यार्थीलाई सकेसम्म कुटपिट गरेर, थर्काएर, लोभ देखाएर पढ्न/लेख्न लगाइन्छ ।

अहिले विद्यार्थीलाई कुटपिट गर्न वा गाली गर्न छुट छैन । यद्यपी मनोवैज्ञानिक रुपमा विद्यार्थीलाई भयभित वा आतंकित बनाउने काम भने अरु बढी हुन्छ । जस्तो कि, कमजोर विद्यार्थीलाई उनीहरुले बेवास्ता गर्छन् । कमजोर विद्यार्थीप्रति ध्यान दिदैनन् । कमजोर विद्यार्थीको हेरचाह गर्दैनन् । कमजोर विद्यार्थीप्रति प्रेममय व्यवहार गर्दैनन् । कमजोर विद्यार्थीसँग घुलमिल गर्दैनन् । यसबाट कमजोर विद्यार्थी थप हतोत्साही हुन्छन् । उनीहरुको मनोवल कमजोर हुन्छ । पढाई-लेखाईको काम उनीहरुलाई निकै जटिल हुन्छ ।यी बच्चाहरु शिक्षक/शिक्षिकासँग घुलमिल हुनै सक्दैनन् । शिक्षक/शिक्षिका सम्झदा पनि उनीहरु डराउँछन् । उनीहरुको मन खिन्न हुन्छ ।

सहपाठीको व्यवहार

शिक्षक वा विद्यालयको कारण मात्र होइन, आफ्नै सहपाठीको कारण पनि कतिपय बच्चाले विद्यालय छाड्ने गर्छन् ।खासगरी धेरै नबोल्ने, पढाईमा कमजोर, शान्त स्वभावका, संवेदनशिल बच्चाहरुलाई आफ्नै सहपाठीले हेप्ने, होच्याउने, जिल्याउने, चलाउने, कुटपिट गर्ने गर्छन् ।

कपी खोस्ने, जुत्ता लुकाइदिने, ब्याग फोहोर बनाइदिने, खाजा खोसिदिने गर्छन् । आफ्नै सहपाठीले गर्ने यस्तो व्यवहारको प्रतिकार गर्न सक्दैनन् । चुपचाप सहन्छन् । यसले उनीहरुको मनमा भने निकै ठेस पुग्छ । जबकी आफ्नै सहपाठीले गर्ने दुव्र्यवहारबारे खुलेर बोल्न, भन्न सक्दैनन् । साथीहरुले हेपेको, चलाएको त उनले अनुभूत गरिरहेकै हुन्छन् । तर, न त्यसको विरोध गर्न सक्छन्, न त व्यक्त गर्न नै ।हो, यस किसिमका विद्यार्थी आफ्नै सहपाठीको डरले विद्यालय जान हच्किन्छन् ।

तर, हामी अबुझ छौ

हाम्रा बच्चा किन विद्यालयदेखि भयभित छन् ? किन उनीहरु शिक्षकदेखि डराउँछन् ? किन सहपाठीसँग घुलमिल हुँदैनन् ?हामी खोज्ने प्रयास गर्दैनौ । बरु आफ्नै बच्चाको कमजोरी देख्छौ । आफ्नै बच्चाको गल्ती देख्छौ । जबरजस्ती विद्यालय पठाउँछौ । जबकी उनीहरुका लागि विद्यालय यातना गृहभन्दा कम हुँदैन ।

उनीहरु आमाबुवाकै मन राख्नका लागि विद्यालय जान्छन् । विद्यालयमा रहँदा उनीहरु भयभित हुन्छन् । हतोत्साही हुन्छन् । खिन्न हुन्छन् । मनमा डर मात्र हुन्छ । त्यही डरको पढेको कुरा बुझ्दैनन् । आखिरमा उनीहरुको मनोबल अरु कमजोर हुनपुग्छ । उनीहरु थप विक्षिप्त हुन पुग्छन् । कसरी विद्यालयबाट भाग्ने ? कसरी शिक्षकको नजरबाट लुक्ने ? कसरी साथीसंगीको भिडबाट उम्कने भन्ने सोच्दा सोच्दै उनीहरु मनरोगी बन्न पुग्छन् ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close