Global Luja Dang

समाज परिवर्तनसँगै अपराधका प्रकृति फेरिए

Birala Tyre Dang

काठमाडौंँ, जेठ १ । कुनै बेला निकै ठूलो सङ्ख्यामा उजुरी पर्ने गर्भपतन, भ्रुणहत्या र हाडनाता करणी जस्ता जघन्य अपराधसँग सम्वन्धित मुद्दा काठमाडौंँ उपत्यकाको प्रहरी कार्यालयहरूमा आउन छाडेका छन् ।

समाज परिवर्तनसँगै शिक्षा, सचेतना र सूचना प्रविधिको विकासले यस्ता कतिपय अपराधका घटना शून्यमा झरेका छन् भने केही घटनामा कमी आउनुमा कानुनी सुधार तथा प्रहरीको सक्रियता प्रमुख कारक रहेको पाइएको छ ।

महानगरीय प्रहरी कार्यालय अन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटा प्रहरी परिसर र परिसर अन्तर्गत वृत्तहरूबाट १७३ प्रकारका अपराधको अनुसन्धान तथा कानुनी कारवाहीका लागि मुद्दा दर्ता हुने गर्छन् ।

ती मध्ये ४१ भन्दा बढी अपराध तथा अपराधजन्य घटनाहरू करिब शुन्यको अवस्थामा पुगेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका मुद्दा शाखा प्रमुख मोहन थापा गर्भपतन, भ्रुणहत्या र हाडनाता करणी अपराध हुनै छोडेको बताउनुहुन्छ ।

चिठीपत्र खोलेको, हराएको, चोरी भएको, बालविवाह, टेलिफोन कल वाइपास (भीओआईपी), छुवाछूत, सार्वजनिक सम्पत्ति हिनामिना, नदी तथा पोखरीमा हामफालेर, घाँटी काटी, विषालु सिरिन्जले घोपी र गोली हानी हत्या तथा आत्महत्या गर्ने जस्ता अपराधमा कमी आएको छ ।

नेपाल ल क्याम्पसका अपराध शास्त्रका प्रा.डा. रजीतभक्त प्रधानाङ्गा केही अपराध स्वत हराउँदै गएको बताउनुहुन्छ । यसका पछाडि धेरै कारणहरु छन् उहाँले भन्नुभयो– फौजदारी कानुनमा आएको सुधार, समाज परिवर्तन, चेतनाको विकास र प्रविधिको प्रयोगकले परम्परागत अपराध घट्दै गएका हुन ।

त्यो समयको प्रहरी र अहिलेको प्रहरीको अपराध अनुसन्धान, कानुनी अधिकारमा धेरै परिवर्तन आएको छ, यो समाजको परिवर्तनसँगै आएको सुधार पनि हो उहाँले थप्नुभयो– आधुनिक समाजको विकाससँगै परम्परागत अपराध हराउँदै जान्छन् नयाँ किसिमका अपराध सिर्जना हुन्छन् ।

प्रचलित कानुन अनुसार, ज्यान, चोरी, सङ्गठित तथा आर्थिक अपराध, आत्महत्या, सामाजिक विभेद, महिला तथा बालबालिका, सवारी र विविध गरी आठ शीर्षकमा ती १७३ किसिमका मुद्दाको प्रहरीले अनुसन्धान तथा कानुनी कारवाही सञ्चालन गर्दै आएको छ ।

‘डुबेर मर्न र मार्नलाई काठमाडौँ उपत्यकामा पानी नै छैन’ महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीका अनुसार, राजनीतिक परिवर्तन, शिक्षा र चेतनास्तरबृद्धि भएसँगै गर्भपतन, भ्रुणहत्या, हाडनाताकरणी र बालविवाह सम्बन्धी अपराध कानुनले नै पूर्णनिषेध गरेको छ । कतिपय अपराध प्रहरीकै सक्रियतामा ठप्प पारिएका छन् ।’

महानगरीय प्रहरी कार्यालयको आर्थिक वर्ष २०७४÷७५ मा तथ्याङ्कले छुवाछूत, धर्मपरिवर्तन, बोक्सी, घरेलु हिंसा, सवारीबाट चौपायाको मृत्यु, अमानवीय तथा त्रूmर यातना, ज्यानमार्ने उद्योग गरी जवरजस्ती चोरी, रहजनी चोरी, पुरातात्विक वस्तुको चोरी र हुलाकसँग सम्वन्धित मुद्दा शुन्य देखाएको छ ।

साइकलको ठक्करबाट मृत्यु, बम विस्फोट गराई कर्तव्यज्यान, गोली हानी हत्या, झूट्टा विवरण पेस गरी नागरिता लिएको, कर्तव्य गरी झुण्याई गरिने हत्या, अबैध कल बाइपास, बच्चा जन्माई ज्यूँदै फालेको, नोटरी र राज्यविरुद्धको अपराधमा पनि मुद्दा दर्ता हुन छाडेका छन् ।

महानगरीय प्रहरी प्रमुख शैलेश थापाक्षेत्री पनि कतिपय अपराध चेतनाको स्तर बृद्धिसँंगै कानुनी सुधार, अपराधका घटनामा आएको परिवर्तन र प्रविधिका कारण घटेकोमा सहमत जनाउनुहुन्छ । इन्टरनेटको सुविधासँंगै दूरसञ्चार, चिठ्ठीपत्र र कलबाइपास अपराध स्वतः हराउँदै गएको हो उहाँले थप्नुभयो ।

त्यस्तै, दूरसञ्चार ऐनअन्तर्गत अर्कैको टेलिफोन तार चोरी गरी प्रयोग गरेमा दण्ड जरिवानाका अपराधहरू मोवाइल प्रयोगमा आउन थालेपछि हराउदै गएको भनाई प्रहरीको छ । आधुनिक सूचना प्रविधिको प्रयोगसँगै नयाँ शैलीका साइवर अपराध बढ्दै जानथालेका छन् ।

सवारीको ठक्करबाट चौपाया मृत्यु, चौपाया चोरी, पशुकरणी र शिशु चोरी मुद्दा पनि हराउँदै गएका छन् । मुलुकी ऐनको खारेजीसँगै नयाँ अपराध संहिता कार्यान्वयनमा आएपछि मुद्दाको घटना प्रकृतिलाई फरकढङ्ले प्रस्तुत गर्न सक्ने ब्यवस्था गरिएको छ । शिशु चोरी अपराधलाई अपहरण मुद्दामा पनि प्रस्तुत गर्न सकिने कानुनी व्यवस्था रहेको छ ।

गाेरखापत्रबाट

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close