यस कारण विग्रिन्छ महिलाको मुड – दाङ खबर
Global Luja Dang

यस कारण विग्रिन्छ महिलाको मुड

MadanBhandari College

काठमाडाैँ/श्रीमान्–श्रीमतीका बीचमा यस्ता विषयलाई लिएर हुने खटपट अधिकांश समय परालको आगोकै रूपमा सकिन्छ। ‘लोग्ने–स्वास्नीको झगडा परालको आगो’ भन्ने नेपाली उखानै छ। तर, सबैको घरमा श्रीमान्–श्रीमतीको झगडा परालको आगोका रूपमा मात्रै सकिँदैन। श्रीमतीले व्यक्त गर्ने असन्तोष र उनको मुड श्रीमान्ले ख्याल गर्न नसक्दा धेरैको घरझगडा भुसको आगोमा परिणत भइरहेको हुन्छ।

श्रीमान्का गतिविधिलाई लिएर चियोचर्चो गर्ने, अलिकता ढिलो अफिसबाट आउँदा पनि शंका गर्ने, गर्छु भनेका सामान्य काम नगर्दा पनि आकाश नै खस्न लागेको जस्तो व्यवहार देखाउने महिला थुप्रै हुन्छन्। यस्ता स्वभाव भएका महिलालाई उनीहरूले खोजेजस्तै गरिदिने, ‘अर्को पटकदेखि मबाट यस्तो गल्ती हुँदैन’ भनेर ललाइफकाई गरेर सामसुम पार्न पटक–पटक प्रयत्न गर्दा पनि केही सीप नलागेपछि मनोपरामर्शका लागि आउनेहरू दिन प्रतिदिन बढ्दै गएका छन्।

बाहिरबाट हेर्दा सामान्य लाग्ने गतिविधि ‘व्यक्तित्व गडबडी’ भएपछि हुन्छ भन्ने तथ्य पत्ता लगाउन विशेषज्ञता हासिल गरेका मनोचिकित्सकलाई पनि केही समय लाग्न सक्छ। पूरा गर्न सकिने ‘डिमान्ड’ राखुञ्जेल कसैले पनि श्रीमतीले घरमा यी–यी शर्त राखिन् भनेर अस्पताल लिएर आउँदैनन्। जब श्रीमतीका माग अस्वाभाविक र छिटोछिटो फेरिन थाल्छन्, त्यसपछि केही समस्या भयो कि भनेर अस्पताल आइपुग्नेहरू हुन्छन्। व्यक्तित्वको ‘प्याटर्न’ मै गडबडी भएर हुर्किएका महिलामा मात्र हुने ‘बोर्डरलाइन पसर्नालिटी डिसअर्डर’ का बारेमा जानकारी नहुने र यो समस्या पहिचान गर्न नसक्नेले महिलाले राख्ने डिमान्ड पूरा गरेरै, उनीहरूलाई बढी ‘केयर’ गरेर वा माया दर्शाएर ठीक पार्न कोसिस गरिरहेका हुन्छन्। तर, यस्तो समस्या भएका महिलाहरूको माग पूरा गरिदिएर वा उनीहरूलाई माया गरेर मात्र उनीहरूको स्वभाव परिवर्तन गर्न वा मुड अर्डरमा ल्याउन सकिँदैन। यो समस्या भएकाहरूको मुड अस्थिर हुने हुन्छ। उनीहरू बढी नै ‘इमोसनल’ हुन्छन्। छिनछिनमा मुड परिवर्तन भइरहने समस्या हुन्छ।

उपचारक्रममा भेटिएका प्रतिनिधि केस।
केस नं. १ : काठमाडौँकी स्थायी बासिन्दा हुन्, रेबिका शर्मा (नाम परिवर्तन)। आर्थिक रूपमा सम्पन्न परिवारमा हुर्किएकी उनले उच्च शिक्षा हासिल गरेकी छिन्। उनको विवाह पनि सम्पन्न परिवारमै भएको थियो। उनका श्रीमान् प्राइभेट कम्पनीमा काम गर्थे। रेबिका स–साना विषयलाई लिएर श्रीमान्सँग दिनहुँ झगडा गरिरहन्थिन्। श्रीमान् अफिसबाट आउन थोरै समय ढिला हुँदा पनि उनी नानाथरी शंका गर्थिन्। श्रीमान् अफिसमा भएका बेलामा अफिसमा फोन गरेर चियोचर्चो गर्ने र थोरै ढिला गरेर घर पुग्दा अरू केटीलाई भेट्न गएको र आफूलाई छोड्न लागेको भन्दै झगडा गर्थिन्। सामान्यतया मानिसमा शंका गर्ने बानी हुन्छ। श्रीमान्ले श्रीमतीलाई अनि श्रीमतीले श्रीमानलाई तथा प्रेमीले प्रेमिका र प्रेमिकाले प्रेमीलाई केही न केही शंका गरेकै हुन्छन्।

श्रीमान् अरू केटीसँग लागेको शंका गरिरहने उनमा भने अनौठो खालको समस्या थियो। आफूलाई श्रीमान्ले छोड्न लागेको भनेर शंका गरिरहने उनी भने कोही सुन्दर पुरुष देख्यो भने त्योसँग सम्बन्ध बढाउन मरिहत्ते गर्ने खालकी थिइन्। उनलाई मन पर्ने नायक तथा गायकहरूसँग भेटघाट गराउनुपर्‍यो भनेर श्रीमान्सँग करकर गर्थिन्। कतिचोटि फ्यानका रूपमा उनले केही नायक तथा गायकसँग भेटघाट पनि गरिन्। यसरी भेटेकाहरूलाई महँगो उपहार पनि दिन्थिन् उनी। उनलाई मन पर्ने नायक वा गायकका फिल्म तथा गीत टेलिभिजनमा प्रसारण हुँदा उनी, ‘ल अब उसलाई भेटिहाल्नुपर्‍यो’ भनेर श्रीमान्सँग किचकिच गर्न थालिहाल्थिन्। तर, उनले खोजेको र चाहेको बेला सेलिब्रिटी भेट्न सम्भव हुने कुरा पनि भएन। दुईचार पटक केही सेलिब्रिटीसँग भेटघाट गराउन पहल गरेका रेबिकाका श्रीमान् श्रीमतीको अस्वाभाविक आनीबानी देखेर दिक्क थिए। श्रीमान् अरू केटीसँग लागेको शंका गर्ने रेबिका आफू भने सुन्दर केटाहरू पट्याउन लागिपरेकी हुन्थिन्। सेलिब्रिटीसँगको भेटघाटलाई स्वाभाविक रूपमा लिएका रेबिकाका श्रीमान्ले अन्य परपुरुषसँग पनि श्रीमतीले हिमचिम बढाउन थालेपछि डिभोर्स गरे।

केस नं. २ : रश्मिला (नाम परिवर्तन) २३ वर्षकी भइन्। उनक आमाबुबा दुवै जना राजनीतिमा सक्रिय छन्। आर्थिक रूपमा सम्पन्न अभिभावकले उनलाई कुनै कुराको अभाव हुन दिएका छैनन्। छोरीले भनेका सबै डिमान्ड पूरा गरिदिँँदै आएका छन्। तर, उनका माग एकपछि अर्को गर्दै थपिँदै गए। उनी यतिसम्म ‘ओभर डिमान्डिङ’ भइन् कि कतिपय अवस्थामा उनका अभिभावकले उनको माग पूरा गर्न नसक्ने अवस्था बन्यो। ५०/६० हजार रुपैयाँ पर्ने पफ्र्युमदेखि एक लाख रुपैयाँसम्म पर्ने डिजाइनर कपडा उनको डिमान्डमा पर्न थालेका थिए। उनले आमाबाको नाममा महँगो सामान पाइने पसलमा गएर उधारोमा समेत सामान खरिद गर्ने गरेकी थिइन्। उनले भनेको भएन भने उनी आफूलाई नै हानि हुने गरी नाडीमा ब्लेडले चिर्नेसम्मको काम गर्थिन्।

उनको डिमान्ड महँगा सामानमा मात्र सीमित थिएन। उनी आफूभन्दा कम उमेरका एक जना युवासँग प्रेम सम्बन्धमा पनि थिइन्। अलि परको नाता पर्ने ती युवासँग बिहे गरिदिनुपर्‍यो भन्ने उनको माग थियो। उनका आमाबाले उनले भनेको केटासँग बिहे नगर्न पटक–पटक आग्रह गरे। तर, उनले त्यो केटासँग बिहे गराइदिए आफू सुध्रिने भन्दै अड्डी कसिन्। छोरी सुध्रिन्छिने भने ठीकै छ भनेर उनका आमाबाले उनले भनेकै केटासँग बिहे गराइदिए। तर, उनको बानीमा कुनै परिवर्तन आएन। बिहे गरेको दुई महिना नबित्दै उनी श्रीमान्सँग बस्न नसक्ने भन्दै माइत आइन्। छिनछिनमा बदलिरहने छोरीको मुड र अनौठो बानीको बारेमा सोधपुछ गर्न उनका आमाबा अस्पताल आएका थिए।

रश्मिलासँग मनोपरामर्शका क्रममा लामो कुराकानी गरेपछि मात्र उनमा ‘बोर्डरलाइन पर्सनालिटी डिसअर्डर’ भन्ने मानसिक समस्या रहेको निक्र्यौल भयो। ‘एक्ली छोरी हो, भनेको पुर्‍याइदिऊँ’ भन्दै उनका आमाबाले लामो समय छोरीले भनेजस्तै गरे। पढाइमा पनि अब्बल रहेकी उनी निकै स्मार्ट देखिन्थिन्। सामान्य मानिसले उनमा मानसिक समस्या छ भन्ने पत्ता लगाउनै सक्दैनथे। ‘सम्पन्न परिवारकी छोरी हुन्, अलिकता डिमान्ड त गरिहाल्छिन् नि’ भनेर उनका नजिकका आफन्तले पनि उनमा समस्या छ भन्ने पत्तो पाएका थिएनन्। बोर्डरलाइन पर्सनालिटी डिसअर्डर हुनेहरूले गर्ने कतिपय व्यवहार सामान्य लाग्ने र ‘यसको बानी नै यस्तै हो, पछि ठीक भइहाल्ला नि’ भनेर अभिभावकले सोहीअनुसार व्यवहार गर्दै जाँदा समस्या पहिचान नै नभएर जटिल हुँदै गरेको पाइन्छ। जब कसैले आफैँलाई हानि गर्ने व्यवहार देखाउन थाल्छ वा पूरा गर्नै नसकिने माग गर्न थाल्छ, त्यसपछि मात्र परामर्शका लागि अस्पताल पुग्ने गरेको पाइन्छ। ५० जना मानसिक रोगका बिरामी चेकजाँच गर्दा कम्तीमा पनि आठदेखि १० जनामा यस्तो समस्या भेटिने गरेको छ।

केस नं. ३ : १४ वर्षकै उमेरमा १० वर्ष जेठो केटासँग बिहे भएकी एक महिलाको रुचि सुन्दा जो कोही पनि छक्क पर्थे। सानैमा बिहे भएका कारण कलिलो उमेरमै शारीरिक सम्पर्क राख्नुपर्दा उनमा आघात परेको थियो। बिहे भएको केही वर्षपछि उनले श्रीमान्लाई छोडिन् र आफ्नो पढाइ जारी राखिन्। पढाइ पूरा गरेर सरकारी सेवामा रहेकी ती महिला नयाँ–नयाँ पुरुषसँग सम्बन्ध बनाउने गर्थिन्। कतिपयसँग बिहे नै गर्थिन्। तर, कसैसँग पनि लामो सम्बन्धमा नरहने उनको बानी थियो। कसैलाई विश्वासमा लिने र उसलाई विश्वासघात गर्दा उनलाई आनन्द आउने उनी बताउँथिन्। मनोपरामर्शका लागि आइपुगेकी ती महिलामा पनि व्यक्तित्व गडबडीको समस्या थियो।

केस नं. ४ :आमाबुबा बैदेशिक रोजगारीमा गएका एक युवती मामाघरमा बस्थिन्। उनी सानो कुरामा पनि चित्त दुखाउने, संसारमा आफ्नो भन्ने कोही नभएको बताउने र सबैले आफूलाई बेवास्ता गर्ने गरेको बताउँथिन्। बेला–बेलामा झनक्क रिसाउने, रिसाएपछि नाडी काट्ने, घरको छतमा गएर फाल हाल्न खोज्नेजस्ता हर्कत गर्थिन्। एक्लोपन महसुस गर्थिन्। उनलाई आफन्तहरूले छोड्छन् कि भन्ने डर लागिरहन्थ्यो। उनी पनि उपचारका लागि अस्पताल आइपुगेकी थिइन्। मनोपरामर्शका क्रममा उनीमाथि सानैमा यौनदुव्र्यवहार भएको थाहा लाग्यो। जसले गर्दा उनमा व्यक्तित्व गडबडी भएको थियो। ‘पर्सनालिटी डिसअर्डर’ हुने विभिन्न कारण छन्।

वैज्ञानिक रूपमा पुष्टि भएको कारण चाहिँ सानो उमेरमा हुने यौन दुव्र्यवहारलाई मान्ने गरिएको छ। मानिसको व्यक्तित्व जनाउने ‘पर्सनालिटीको प्याटर्न’ टिनएज पार नगर्दै बनिसक्छ। जस्तो कि, १८ वर्षको हुँदासम्म मानिसको व्यक्तित्वको करिब–करिब ढाँचा तयार भइसकेको हुन्छ। यो ढाँचा परिवर्तन हुन दिमागसम्बन्धी ठूलै रोग वा कुनै दुर्घटनामा परेको हुनुपर्छ। अन्यथा, कसैको पनि ‘पर्सनालिटी प्याटर्न’ उसको आवश्यकता पूरा गरिदिएर, कसैलाई बढी माया दर्शाएर परिवर्तन हुँदैन। व्यक्तित्व नै गडबड भएर हुर्किएकाहरूलाई बाहिरबाट जतिसुकै माया दर्शाए पनि, मनोपरामर्श गरे पनि उनीहरूको समस्या पूर्ण रूपमा निको हुँदैन। बोर्डरलाइन पर्सनालिटी डिसअर्डर भएकाहरूको पूर्ण उपचार सम्भव छैन। केही औषधि तथा मनोपरामर्श दिएर उनीहरूले देखाइरहेका स्वभाव तथा आनीबानीमा कमी ल्याउन भने सकिन्छ।

कसरी चिन्ने ?
गडबडी तब मात्र भनिन्छ, जब ती बानी–व्यहोरा सबै परिवेशमा उस्तै रहन्छन् र त्यसले व्यक्ति स्वयंलाई वा अरूलाई नोक्सानी पुर्‍याउँछ। त्यस्तै ती बानी व्यहोराहरूको सुरुवात बाल्यकाल वा किशोरावस्थामा नै भएको हुनुपर्छ। लागुपदार्थको असर वा अन्य मानसिक रोग (साइकोसिस, उदासी, चिन्ताको गडबडी आदि) हो, ध्यानपूर्वक छुट्याउनु पनि पर्छ। यी सबै अवस्था साथसाथै पनि हुन सक्छन्, जसले छुट्याउन गाह्रो हुन सक्छ।

के हो व्यक्तित्व गडबडी ?
व्यक्तित्व गडबडीसम्बन्धी मानसिक समस्या बोर्डरलाइन पर्सनालिटी डिसअर्डर महिलामा हुने गम्भीर मानसिक समस्या हो। माथि उल्लेख गरिएका भिन्न–भिन्न केसहरू उपचारका क्रममा भेटेका केही नमुना हुन्। महिलामा मात्र हुने यस्तो समस्यालाई घरपरिवारका मानिसले बेलैमा पहिचान गर्न सक्दैनन्। मनोचिकित्सकले पनि लामो कुराकानी र ‘बिरामीको डिटेल हिस्ट्री’ लिएपछि मात्र बोर्डरलाइन पर्सनालिटी डिसअर्डर भएको पत्ता लाग्छ।

शंकालु श्रीमती छिन् भने उनको शंका कसरी मेटाउने भन्नेमा श्रीमान् लागिपरेका हुन्छन्। जिद्दी छोरी भएका आमाबाउ छोरीको सबै माग पूरा गर्न लागिपरेका हुन्छन्। तर, कसैले पनि उनीहरूको हुर्काइको बेला केही खराबी भएको थियो कि भनेर सोचेका हुँदैनन्, जसले गर्दा यो समस्या पहिचान गर्न कठिन हुने गरेको छ। बोर्डरलाइन पर्सनालिटी डिसअर्डर हुने विभिन्न कारणमध्ये सानैमा हुने यौन दुव्र्यवहारलाई मानिएको छ। व्यक्तित्व भन्नाले मानिसका ती सबै शारीरिक र मानसिक पक्षहरूका परिवर्तनशील संरचना हुन्, जसले वातावरणमा घुलमिल हुने उसको खास पहिचान परिभाषित गरेका हुन्छन्। कसैको व्यक्तित्व बुझ्नु भनेको कुनै परिवेशमा उसले के–कस्ता प्रतिक्रिया गर्ला भन्ने पूर्वानुमान गर्न सक्नु हो। व्यक्तित्वका थुप्रै पक्ष भए पनि मनोचिकित्सामा सोच, विचार, मिजास, आवेश र अन्तरव्यक्तिगत सम्बन्ध महत्त्वपूर्ण हुन्छन्।

उपचार कसरी गर्ने ?
व्यक्तित्व गडबडीको परिभाषा नै स्थायित्व हो र उपचार गर्नु भनेको कसैको प्राकृतिक स्वभाव बदल्न खोज्नु हो। जुन पूर्ण रूपमा असम्भव नभए पनि एकदम कठिन अवश्य हुन्छ। औषधि–उपचार समस्याजनक एकाध लक्षण वा अलग थप मानसिक रोगप्रति लक्ष्य गरी सिफारिस गर्न सकिन्छ। अन्य मनोवैज्ञानिक उपचार जस्तो ‘कग्निटिभ एन्ड डायलेक्टिकल बिह्याभिएर थेरापी’ आदिले पनि समस्यामूलक लक्षण कम गर्न कोसिस गरिन्छ। पुरुषमा के हुन्छ ? बोर्डरलाइन पर्सनालिटी डिसअर्डर पुरुषलाई हुने समस्या होइन। पुरुषहरूमा ‘एन्टी सोसल पर्सनालिटी डिसअर्डर’ हुन्छ। यस्तो समस्या हुनेहरूले अरूको मुड, आवेग, सोचविचार, दुःख आदि केही पनि महसुस नगर्ने हुन्छन्। अरूलाई पीडा दिँदा रमाइलो मान्ने तथा समाजमा स्थापित नियम–कानुन तोड्दा आनन्द मान्ने हुन्छन्। जसले गर्दा यस्तो समस्या भएका पुरुषले हत्या, बलात्कार, बाल यौन दुराचारजस्ता अपराध गर्ने सम्भावना बढी हुन्छ।

मिजासको गडबडी :जलवायुमा घाम, पानी, हुरीबतास भनेजस्तै सबै मानिस भित्री वा बाह्य परिस्थितिअनुसार छिनछिनमा खुशी, दुःख, रिस आदि आवेग (इमोसन) महसुस गर्छन्। त्यस्ता दैनिक परिवर्तनहरू भए पनि केही महिनाभर मूल रूपमा रहने एउटा गुणको आधारमा जाडो, गर्मी, वर्षा मौसम भनेजस्तै मानिसका पनि परिवर्तनशील मिजास हुन्छन्। परिवर्तन कति ढिलो, कति चाँडो, कति लामो, कति बेजोड भन्ने कुरा ठाउँ र समयअनुसार मौसम भनेझैँ मानिसपिच्छे मिजास परिवर्तन (मुड डिसअर्डर) को आ–आफ्नै खाका हुन्छन्।

मानिसको आफ्नो स्वभावभन्दा एकदम भिन्न खालको लामो मिजासमा परिवर्तन (जसले उसलाई वा वरिपरिको वातावरणलाई नोक्सान पुर्‍याउँछ वा पुर्‍याउन सक्छ) वा मिजासको गडबडी एक प्रकारको मानसिक रोग हो। लगातार असामान्य दुःखी वा दिक्दार भइरहने अवस्थालाई उदासी भनिन्छ। लगातार असामान्य खुशी भइरहने वा रिसाउने अवस्था उत्तेजना हो। यसरी एकै मानिसको जीवनमा कहिले उत्तेजना र कहिले उदासी भइरहन्छ भने त्यसलाई दुईधु्रवीय मिजास गडबडी अर्थात् ‘बाइपोलार मुड एफेक्टेड डिसअर्डर’ भनिन्छ। कहिल्यै उत्तेजना नभई बारबार उदासीपन मात्र भइरहने रोग पुनरावृत्ति उदासीपन हो।

उपचारका लागि के गर्ने ?: बारम्बार दोहोरिने रोग हुनाले रोगीहरूलाई राम्रोसँग मद्दत गर्न, समाजमा पुनःस्थापना गर्न औषधिका साथै रोगी तथा उनका परिवार, समाज सबैले उचित ज्ञान, सोचविचार र व्यवहार सिक्न र गर्न आवश्यक हुन्छ। यो रोगमा मिजास मात्र गडबड हुने हुँदा स्वस्थ अवस्थामा उसका अन्य क्षमता स्मरण, बुद्धि, विवेक, कार्यक्षमता आदिमा खासै ह्रास आउँदैन। अझ कसैकसैमा त विशेष जोश जाँगर र प्रतिभा प्रस्फुटन हुन सक्छ। मानव समाजलाई गहकिला योगदान दिने अनगिन्ती विख्यात साहित्यकार, कलाकर्मी, वैज्ञानिक, राजनीतिज्ञ यही रोगबाट पीडित थिए भन्ने तथ्य बिर्सन सकिँदैन। बिरामीको उपचारको रेखदेख, पूर्वसूचक लक्षणहरूका सतर्कतापूर्वक निगरानी आदि बाहेक बिरामीलाई उचित सहानुभूति प्रदान गर्नुपर्छ। ऊसँग आत्मीय व्यवहार गर्नुपर्छ र उसलाई तनावरहित वातावरण प्रदान गर्नुपर्छ।

कसलाई,: उदासीः मानसिक रोगहरूमध्ये सबैभन्दा बढी हुने उदासी नै हो। कुनै पनि व्यक्तिलाई जीवनभर उदासी हुन सक्ने सम्भावना झन्डै १७ प्रतिशत हुन्छ। महिलालाई पुरुषको तुलनामा दोब्बर हुने गर्छ। प्रायः जसो ४० वर्ष औसत उमेरमा यो रोगको सुरुवात हुने गर्छ। अविवाहित, एक्ला व्यक्तिहरूलाई यो रोगको बढी जोखिम हुन्छ। बाइपोलार मुड डिसअर्डरः कुनै पनि जनसमुदायको करिब एक–दुई प्रतिशत मानिस (महिला र पुरुष) दुवैमा बाइपोलार मुड डिसअर्डरका रोगी हुन सक्छन्। प्रायः जसो ३० वर्ष उमेरको हाराहारीमा यो रोगको सुरुवात हुने गर्छ।

किन, र कसरी ? : हालसम्मको अध्ययन–अनुसन्धानबाट यही कारण भनी यकिन गर्ने अवस्था छैन। तर, थुप्रै जोखिमका कारकहरू भएका प्रमाण छन्। वंशानुगत आधार, मस्तिष्कमा हुने स्नायु रसायन (डोपामिन, सेरोटोनिन), वा ग्रन्थि (थाइराइड) आदिको गडबडी, असह्य मनोसामाजिक तनाव, उदासोन्मुख व्यक्तित्व, क्षति अस्वीकार गर्ने बानी आदिले गर्दा मुड डिसअर्डर हुनसक्छ। मनोचिकित्सक प्रा.डा. रवि शाक्यले सम्पूर्ण साप्ताहिकमा लेखेको यो लेख हामीले साभार गरेेका हाैं ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close