इनारमा खसेका यी व्यक्तिको पाँच दिनपछि यसरी भयो उद्धार – दाङ खबर
Global Luja Dang

इनारमा खसेका यी व्यक्तिको पाँच दिनपछि यसरी भयो उद्धार

MadanBhandari College

 काठमाडाैँ, बैशाख १७ – सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीमा इनारमा खसेका एक व्यक्तिको पाँच दिनपछि जीवितै उद्धार गरिएकोछ।स्थानीय ५५ वर्षीय सानुमान जिम्बाको नेपाली सेना र नेपाल प्रहरीको टोलीले सोमबार जीवितै उद्धार गरेको हो। जिम्बा १२ वैशाखदेखि हराइरहेका थिए।

पाँच दिनदेखि हराईरहेका जिम्बालाई ३० फिट गहिरो पानी सुकेको इनारबाट जीवितै उद्धार गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए।उद्धारपछि जिम्बालाई उपचारका लागि हरिवनस्थित नमूना अस्पतालमा भर्ना गरिएको छ। ढाडमा सामान्य चोट लागेका जिम्माको अबस्था खतरामुक्त रहेको प्रहरी निरीक्षक कार्कीले बताए।

‘जिम्बा खसेको इनार वरपर घर छैनन्। इनारबाट करिब एक सय मिटर टाढामात्र घर भएकाले उनले इनारबाट कराउँदा कसैले सुनेनछन्,’ प्रहरी निरीक्षक कार्कीले नेपालखबरसँग भने, ‘पानी नभएकाले इनारमा मान्छेको आवतजावत हुने कुरा पनि भएन। खेल्दै गएका एक बालकले इनारभित्र मान्छे रहेकाे जानकारी गराएपछि उनको जीवितै उद्धार सम्भव भएको हो।’

स्थानीय १३ वर्षीय बालक विवस पाख्रीनले सुरुमा इनारभित्र जिम्बालाई देखेका थिए। खेल्दै इनारमा पुगेका बालकले ‘इनारभित्र भुत छ’ भन्दै कराउँदै गाउँतिर गएपछि घटनाको विषयमा स्थानीयले जानकारी पाएका हुन्।त्यसअघि आफन्त र स्थानीयले चार दिनसम्म जिम्बाको खोजी गरेका थिए। जिम्बाका श्रीमतीसहित परिवारका सदस्य सोमबार उनी भेटिँदासमेत जिम्बाको खोजीमा गाउँबाहिरै थिए।

इनारमा मान्छे खसेको जानकारी स्थानीयले प्रहरीलाई दिएपछि सेना र प्रहरी घटना स्थलमा पुगेका थिए।जिम्बा भन्छन्–‘आकाशबाट परेको पानी खाएर बाँचे’सुरुमा उद्धार टोलीले इनारमा फ्रुटी, पानीलगायतका खाद्य पदार्थ झारेका थिए। जिम्बाले २ लिटर पानीसहित फ्रुटी खाएपछि उद्धार गरिएको कार्कीले जानकारी दिए।

१२ गते बारीमा गएको बेला हुण्डरी आउँदा आफू इनारमा खसेको जिम्बाले बताएका छन्।हुण्डरी आएपछि इनारलाई समाएर जोगिने प्रयास गर्दै थिएँ, त्यहीबेला झन् ठूलो हुण्डरी आउँदा म इनारमा खसेँ,’ जिम्बाको भनाई उद्धृत गर्दै प्रहरी निरीक्षक कार्कीले भने।इनारमा खेसेपछि आफूले जति नै चिच्याएपनि कोही आफ्नो उद्धारमा नआएको जिम्बाले बताएका छन्।जिम्बा इनारमा खसेपछि बेलाबेलामा आकाशबाट पानी परिरहेकाले उनको ज्यान जोगिएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।जिम्बाले पनि आफूले आकाशबाट परेको पानी खाएर ज्यान जोगाएको बताएका छन्।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close