सामुदायिक विद्यालयले गर्‍यो स्वास्थ्यकर्मी नियुक्त – दाङ खबर
Global Luja Dang

सामुदायिक विद्यालयले गर्‍यो स्वास्थ्यकर्मी नियुक्त

MadanBhandari College

रोल्पा चैत २९ । रोल्पाको एक सामुदायिक विद्यालयले विद्यार्थीका लागि स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण माध्यमिक विद्यालयले सो सेवा दिने भएको हो । आफ्नै स्रोतबाट स्वास्थ्यकर्मी नियुक्त गरी विद्यालयबाटै विद्यार्थीलाई नियमित स्वास्थ्य सेवा दिने भएको हो ।

शैक्षिक सत्र २०७६ को वैशाखदेखि स्वास्थ्यकर्मी भर्ना गर्न विद्यालयले विज्ञापनसमेत प्रकाशित गरिसकेको छ । “अधिकांश समय बिताउने विद्यार्थीहरुको स्वास्थ्यप्रति संवेदनशील हुन जरुरी रहेको महसुस गरी नर्स वा एचएस्तरको स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरी भर्ना प्रक्रिया थालनी गरेका छौँ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले भने, “विद्यालयमा अध्ययन गर्ने छात्राको महीनावारी व्यवस्थापन तथा अन्य विद्यार्थीसमेत व्यक्तिगत सरसफाइमा स्वास्थ्यकर्मीको सेवाबाट लाभान्वित हुनेछन् ।”

पदपूर्तिका लागि विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विज्ञापन प्रकाशित गरिसकेको विद्यालयका प्रधानाध्यापक मधुसुदन पोखरेलले जानकारी दिए । “अधिकांश समय विद्यार्थीको स्वास्थ्य उपचारका लागि परिचालन गर्छौँ, केही समय बचे स्वास्थ्यकर्मीबाटै स्वास्थ्य शिक्षाको कक्षासमेत सञ्चालन गर्छौँ”, पोखरेलले भने ।

वर्षको शुरु, बीच र अन्त गरी तीनपटक सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गराई हरेकको स्वास्थ्य व्यक्तिगत विवतरणसमेत विद्यालयमा राखिने प्रधानाध्यापक पोखरेलले भनाइ थियो ।

“सामान्य औषधि तथा प्राथमिक उपचारका सामान विद्यालयमा राखेर विद्यार्थीको उपचार गर्ने तथा ठूलो समस्या देखिए नजिकको स्वास्थ्य केन्द्रमा सिफारिश गर्ने गरी स्वास्थ्यकर्मीलाई परिचालन गर्छौँ”, पोखरेलले भने । जिल्लाको नमूना घोषित सो विद्यालयले विद्यार्थीको स्वास्थ्यमा देखाएको संवेदनशीलता सकारात्मक रहेको अभिभावकले प्रतिक्रिया दिएका छन् ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close