नेकपा एकता : प्रचण्ड अमेरिकाबाट फर्किपछि मात्र एकता प्रक्रिया टुंगिने – दाङ खबर
Global Luja Dang

नेकपा एकता : प्रचण्ड अमेरिकाबाट फर्किपछि मात्र एकता प्रक्रिया टुंगिने

MadanBhandari College

काठमाडाै‌ चैत ४-नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकताको प्रस्ताव तयार पार्न सघन छलफल गरे पनि एकता प्रक्रिया केही समय लम्बिने भएको छ।

अध्यक्ष दाहाल अमेरिकातर्फ लागेपछि एकताले औपचारिकता पाउन समय लाग्ने भएको हो । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

केन्द्रमा एकता भएको नौ महिनासम्म तल्ला तहको एकीकरण हुन सकेको छैन । पार्टी एकताको बाँकी काम पूरा गर्न ढिलाइ भइरहेको भन्दै अध्यक्ष दाहालले आफू फर्केपछि टुंग्याउने जानकारी दिए।

श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका उड्नुअघि दाहालले एकता र अन्य राजनीतिक विषय टुंग्याउन अझै घनिभूत छलफल आवश्यक रहेको बताए । १० दिनभित्र फर्किने जानकारी उनले दिए ।

पार्टी एकताका लागि प्रस्ताव तयार गर्ने कार्यदलले काम गर्न नसकेपछि सचिवालयले एकता टुंग्याउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको थियो । त्यही जिम्मेवारीअनुसार गत साता अध्यक्षद्वयले पटक–पटक छलफल गरेका थिए ।

जिल्ला तहको नेतृत्व टुंग्याउने गरी प्रत्येक जिल्लाकेन्द्रित छलफल भएको थियो । जिल्लाका अध्यक्ष र सचिवहरूको नाम पहिले टुंग्याउने र सदस्यहरू तय गर्ने विधि अध्यक्षद्वयले अपनाएका छन् । त्यसअनुसार प्रत्येक जिल्ला नेतृत्वको सूची बनाएर छलफल चलिरहेको छ । प्रारम्भिक केही प्रस्ताव तयार पनि भएको छ । अध्यक्ष फर्केपछि मात्र त्यसलाई थप परिस्कृत गरी सचिवालय र स्थायी समितिमा लैजाने तयारी छ ।

‘अध्यक्षहरूले केही गृहकार्य गर्नुभएको छ तर एक जना अध्यक्ष बाहिर जानुभएकाले उहाँ नफर्किंदासम्म बाँकी काम अघि बढदैन,’ कार्यालय सचिवको भूमिका निर्वाह गरिरहेका नेता कृष्णगोपाल श्रेष्ठले भने। नेकपाको एकीकरण पूरा नहुँदा तल्लो तहका गतिविधि शून्य छन् । केन्द्रीय नेताहरू कामविहीन अवस्थामा छन्।

पूर्वएमाले र पूर्वमाओवादीको कमिटीले तदर्थ शैलीमा काम गरिरहेका छन्। एकीकृत पार्टीको पहिचानसहित तल्लो तहसम्म कुनै गतिविधि भएको छैन।

केन्द्रीय समिति बनेको छ तर एउटा औपचारिकबाहेक बैठक बस्न सकेको छैन । केन्द्रीय नेताहरूको कामको जिम्मेवारी पनि बाँडफाँट गरिएको छैन । प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकिए पनि सबै प्रदेश कमिटीले पूर्णता पाइसकेका छैनन्।

गत जेठमा एकता हुँदै गर्दा तीन महिनाभित्र एकीकरण सक्ने भनिएको थियो । एकताका लागि प्रस्ताव तयार गर्न भन्दै सुरुमा तल्लो कमिटीबाट नाम सिफारिस गर्ने, त्यो सिफारिसका आधारमा माथिबाट कमिटीहरूको टुंगो गर्ने विधि तय गरिएको थियो।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close