Florence Hospital Dang
Majestic Hotel Dang

सम्झनाकाे तरेलीमा मन्त्री अधिकारी

Birala Tyre Dang

विपिन घिमिरे/ मृत्यु शास्वत पक्ष हो । जन्मेपछि मृत्यु, उदाएपछि अस्ताउनु अनिवार्य छ । यी प्रकृतिका अनिवार्य नियम हुन् । यति हुँदाहुँदै पनि कुनै मृत्युले यति धेरै चोट दिँदा रैछन् । मथिङ्गल हल्लाउँदा रैछन् । भुल्न खोज्दा पनि भूल नसकिने, सम्हालिन्छु भन्दा सम्हालिन नसकिने हुँदा रैछन् ।

अफिसमै छु । कामको चाप आज पनि उस्तै छ । फागुनको मध्य दिन, अत्यधिक चिसो बढेको छ । चियाको तलतलले सताउँछ । अनि निस्कन्छु–क्यान्टिनमा । त्यहाँ भेटिन्टन्–मजस्तै चिया पारखीहरु । फुर्सदमा मोवाइल खेलाउने मेरो पुरानै बानी छ । आज नि उही कर्म दोहोरिन्छ । फेसबुक खोल्छु । साथीहरुका पोष्टमा लाइक, कमेन्ट, शेयर गर्दै अघि बढ्छु । यस्तैमा मन झस्काउने खबरले म बिथोलिन्छु । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको खबरले फेसबुकभर छरपस्टिएको भेटाउँछु । चिसाको चुस्किमा हराउने म अन्त कताकता हराउन थालेछु ।

मन्त्री अधिकारीसँग मेरो पारिवारिक कुनै सम्बन्ध छैन । अचम्मको अनौटो भावनात्मक सम्बन्ध रहेको छ । मेरो आश्थाको धरोहर हुनुहुन्थ्यो उहाँ । उहाँ सकुसल रहेको खबर सुन्ने लालच बढेर जान्छ । चिया त्यतिकै छाडेर कार्यक्षेत्र फर्कन्छु । काम गर्न मन लाग्दैन । काम छाडेर उहाँ सम्बन्धि आएका समाचारहरु पढिरहन्छु । अन्त्यमा आउँछ–नचाहेको खबर । उहाँसहित ७ जनाको मृत्युको नमिठो खबर ।

म सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा गायक कलाकारका रूपमा कार्यरत छु । हाम्रो यसो हुँदा हाम्रो सम्बन्ध संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयसँग रहन्छ । त्यसैले पनि उहाँसँग भावनात्मक सम्बन्ध कायम भएको थियो । उहाँ मन्त्री भएपछि भेट नहुने कुरै भएन । तर, नाचघरमा उहाँको बारम्बारको उपस्थितिमा महाप्रबन्धक राजेश थापाको पनि ठुलो भुमिका छ । उहाँ हाम्रो अफिसमा आइरहनुहुन्थ्यो । हामीलाई अभिभावकत्व प्रदान गरिरहनुहुन्थ्यो ।

भावनामा बगेर गीत संगीत मन पर्छ भन्नु यौटा कुरा हो । सबैले यस्तो भन्न सक्लान् । महत्वपूर्ण पक्ष भनेको पेशागत सुरक्षाका लागि लगन जरुरी हुँदोरहेछ । पदमा बसेर नीतिगत निर्णय गर्नु महत्वपूर्ण कुरा रहेछ । जसले संस्थागत विकासमा महत्वपूर्ण फड्को मार्दो रहेछ । स्वर्गीय मन्त्री रविन्द्र अधिकारीबाट हामीले यही पाएका थियौं ।

उहाँ मन्त्री बन्नुपूर्व एकदिन हाम्रो कार्यक्रममा उहाँलाई आमन्त्रण गरेका थियौं । उहाँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा आउनुभएको थियो । उहाँको मन्तव्य सुरू भएको थियो । ‘कलाकारको विषय भएकाले केही नयाँ लाग्न सक्छ–धेरै नीति निर्माताहरूलाई । तर, म सबलाई सम्झाउने छु । तपाईँहरू पनि रोयल्टीको विषयलाई लिएर अझ धेरै कार्यक्रम, वहस गर्नुहोस् र मलाई पनि सजिलो हुन्छ ।’ मलाई सम्झनामा आएसम्म उहाँले त्यो दिन चर्चा गरेका विषयहरु यस्तै थिए ।

कार्यक्रमपछि जलपान सकिएसँगै सबै आआफ्नै बाटो लाग्यौ । संविधान लेखिने हो होइन । राजनैतिक मोडले कति दायाँ बायाँ काट्ने हो, हाम्रा कुरा कतिसम्म सम्वोधन हुने हुन् ? यी र यस्तै विषयले हामीलाई सताइरहन्थे । सबै कुरा रहस्यमै थिए । देशमा भू–कम्प गयो । कुनै पेशाकर्मीको सानो समूहलाई समाएर माग पूरा गर्ने वा गराउने अवस्था थिएन । अन्ततः संविधान आयो स्रष्टा र उस्का सृजना, वौद्धिक सम्पत्ती आदि विषय उल्लेख भए । कलाकारलाई एउटा राम्रो गुण लाग्नुमा रविन्द्र अधिकारीको ठुलो देन रहेको छ । उहाँकै पहलमा संविधानमा हाम्रा मुद्दा समेटिएका हुन् । यो हामीलाई राम्ररी थाहा छ । लगत्तै २०७५ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दा यो विषय अझ बढि खुलेर आयो–जसमा संस्कृति मन्त्रालयको संस्कृति महाशाखा, रोयल्टी समाजलगायत धेरै व्यक्ति तथा संस्थाको साथ रह्यो ।

संस्कृतिप्रतिको सक्रियताले गर्दा हामी संस्थानका कलाकारले धेरै पटक उहाँ समक्ष प्रस्तुति दिन पाएका थियांै । एक पटक गायक पुष्प नेपालीको ‘आज किन साथी मलाई’ बोलको गीत मैले उहाँ सामु गाइरहँदा उहाँले पनि सँगसँगै ओठ चलाइरहेको देख्दा धेरै उत्साह जगाएको थियो । विधिको विधान हो या हामी नेपालीको नियति कलालाई माया गर्ने व्यक्तिलाई गुमाउन पुग्यौं । सो दुर्घटनामा दिवंगत सम्पूर्णप्रति पुन हार्दिक श्रद्धाञ्जली । कला क्षेत्रमा उहाँको अभाव खड्किरहनेछ ।

(लेखक : सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) का गायक कलाकार हुन् )

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang
Open

Expert Education Dang

Close