Victoria College Dang

प्रयाेगविहीन बन्दै सोलार बत्ती विजुलीकाे भर पर्नुपर्ने बाध्यता – Page 2019 – दाङ खबर

प्रयाेगविहीन बन्दै सोलार बत्ती विजुलीकाे भर पर्नुपर्ने बाध्यता

MadanBhandari College

रूपन्देही, माघ २४ । बुटवल–बेलहिया ६ लेन सडकमा जडान गरिएका सोलार बत्ती असफल भएका छन् । बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले निर्माण पूरा भएको क्षेत्रमा सोलार बत्ती जडान गरेको थियो ।

पहिलो चरणमा बुटवलको राजमार्ग चौराहादेखि तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलसम्म २ करोड रुपैयाँभन्दा बढी लागतमा १ सय ५० ओटा सोलार बत्ती जडान गरिएको हो । भैरहवाको बेलहियादेखि देवकोटाचोकसम्म ४० ओटा सोलार बत्ती जडान गरिएको छ ।

दुई वर्षअघि जडान गरिएकामध्ये अधिकांश सोलार बत्ती अचेल बल्दैनन् । बल्ने बत्तीले पनि पर्याप्त उज्यालो दिँदैनन् । यहाँ जडान गरिएका सडक बत्ती स्वचालित हुन् । ‘कुनै–कुनै मात्र बल्छन् । अधिकांशले उज्यालो नै दिँदैनन्,’ शंकरनगरका रामदीप न्यौपानले भने, ‘सोलार बत्ती नाम मात्रको भयो । काम छैन ।’

आयोजनाले तीन वर्षको वारेन्टीसहित सोलार बत्ती जडान गराएको थियो । बिग्रिएका सोलार बत्ती ठेकेदार कम्पनीले मर्मत गरेको बताए पनि ती ‘जुनकिरी’ सरह छन् । आयोजनाले परीक्षणपछि सोलार बत्ती जडान गरिएको बताए पनि त्यसको प्रभाव शून्यप्रायः छ । सडक बत्ती जडान गरेपछि बढ्दो सडक दुर्घटनामा समेत कमी आउने अपेक्षा गरिएको थियो । तर, अचेल जेब्राक्रश नजीकका सोलार बत्ती पनि बल्न छाडेका छन् ।

सडक उज्यालो नहुँदा सडक दुर्घटनाको जोखिम उत्तिकै रहने सवारी चालकहरू बताउँछन् । यो सडकमा छाडा चौपाया हिँड्ने भएकाले कैयौं पटक सवारीसाधनहरू त्यस्ता चौपायासँग ठोक्किने गरेका छन् ।

दोस्रो चरणमा ड्राइभरटोलदेखि मणिग्रामसम्म थप सयओटा जडान गर्ने बताएकोमा प्रभावकारी नदेखिएपछि आयोजना सोलार जडानबाट पछि हटेको छ । सोलारबत्ती ३५/३५ मिटरको दूरीमा जडान गरिएको छ । आयोजना प्रमुख जीवेन्द्र मिश्र भन्छन्, ‘घाम सधैं नलाग्नु, प्यानलमा धूलो जम्नु, तीन वर्षपछि ब्याट्री फेर्नु पर्ने जस्ता कारणले सोलार प्रभावकारी नदेखिएको हो ।’

सोलारको विकल्पमा विद्युत्
सोलार बत्ती असफल भएपछि आयोजनाले विद्युत् बत्तीकै विकल्प अघि सारेको छ । अब बाँकी सडकमा विद्युत् बत्ती जडान गर्नेगरी काम अघि बढाइएको आयोजना प्रमुख मिश्रले बताए । आयोजनाले सबैभन्दा पहिला ड्राईभरटोलदेखि मणिग्रामसम्म विद्युत् सडक बत्ती जडान गर्नेछ । तिलोत्तमा नगरपालिकाले सडक बत्तीको महशुल तिर्ने भएपछि पहिलो चरणमा यहीँबाट काम अघि बढाउन थालिएको उनले जानकारी दिए ।

अभियानबाट

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्