मुख्यमन्त्रीहरुको एउटै आवाज – दाङ खबर
Global Luja Dang

मुख्यमन्त्रीहरुको एउटै आवाज

MadanBhandari College

काठमाडौँ, माघ ३ । प्रदेशका मुख्यमन्त्रीहरुले कुन स्तरका योजना कुन सरकार (सङ्घ, प्रदेश र स्थानीय) ले सञ्चालन गर्ने भन्ने स्पष्ट खाका ल्याउन सामूहिक रुपमा आग्रह गर्नुभएको छ ।

उहाँहरुले अहिले पनि एउटै योजनामा तीनै तहबाट बजेट विनियोजन भइराखेको तर्फ राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराउँदै सामूहिक खाका भएमा आर्थिक समृद्धि हासिल गर्न सजिलो हुने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगद्वारा आजोजित प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज यहाँ सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको ४४औँ बैठकमा सहभागी हुँदै मुख्यमन्त्रीहरुले आफूहरुलाई अहिले पनि जनशक्ति, बजेट अभाव भइरहेकातर्फ सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कुन योजना कुन तहबाट सञ्चालन गर्ने सोका बारेमा मापदण्ड बनाई योजना पूरा हुने खालको बजेट विनियोजन गर्न माग गर्नुभयो । उहाँले आधारभूत आवश्यकता पूरा गर्न कति किलोमिटर सडक निर्माण गर्नुपर्छ, कति विद्यालय भवन निर्माण गर्नुपर्छ, कति अस्पताल निर्माण गर्नुपर्छ यसको खाका योजना अयोगबाट कोरिनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले राष्ट्रिय गौरवका योजनाको अनुगमन र मूल्याङ्नको जिम्मा प्रदेश सरकारलाई पनि दिन आग्रह गर्दै प्रादेशिक तहबाट पनि आवधिक योजना अघि बढिरहेकाले कुन योजना कुन तहले सञ्चालन गर्ने भन्ने श्वेतपत्र जारी गर्न माग गर्नुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई योजना हस्तान्तरण गरेर मात्र नभइ आवश्यक बजेट पनि विनियोजन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच अझ प्रभावकारी समन्वय हुुनु आवश्यक छ ।”

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ठेक्का सम्झौता भएका २५ वटा सडक आयोजनामा कुनै रकम विनियोजन नभएकोतर्फ ध्यानाकर्षण गराउँदै एउटा योजनामा एउटा मात्र सरकारले रकम विनियोजन गरिनुपर्ने बताउनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास योजनामा जमीन प्राप्ति समस्या सम्बोधन हुनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।

‘विकास खर्च उत्साहजन बनाउनुपर्छ’
अर्थमन्त्री डा युवराज खतिवडाले चालू आवको यस अवधिसम्म विकास योजनामा उत्साहजनक खर्च नभएकातर्फ ध्यानाकर्षण गराउँदै अन्तरप्रदेश परिषद्को निर्णयलाई कार्यान्वयनमा ल्याउन जोड दिनुभयो । उहाँले सार्वजनिक खरीद ऐन संशोधनका क्रममा रहेको जानकारीसमेत दिनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सार्वजनिक खरीद ऐन संशोधन गर्दै सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको जानकारी दिनुभयो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आयात निर्यातबीच सन्तुलन कायम गर्न ध्यान दिनुपर्ने बताउनुभयो । वन तथा वातावरणमन्त्री शक्ति बस्नेत प्राकृतिक स्रोत व्यवस्थापनमा विषेश ध्यान दिन आग्रह गर्नुभयो ।

खानेपानीमन्त्री बीना मगरले आधारभूत खानेपानी सेवा उपलब्ध गराउन खानेपानी आयोजना समयमै सम्पन्न गर्न बजेट अभाव भएकातर्फ ध्यानाकर्षण गराउनुभयो । सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले राष्ट्रिय गौरवका २२ आयोजनामध्ये ८० प्रतिशतभन्दा बढी प्रगति भएका १२ मात्र योजना रहेको जानकारी दिँदै ५० देखि ७९ प्रगति भएका आयोजना चार वटा मात्र रहेको बताउनुभयो । मन्त्रालयगत रुपमा चौमासिक बजेट खर्च सन्तोषजनक रुपमा अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close