Global Luja Dang

६ महिनामा ९३ जनाको मृत्यु

Birala Tyre Dang

तुलसीपुर, पुस १८- पछिल्लो समय सवारी दुर्घटनामा वृद्धि हुन थालेपछि दाङमा सरोकारवाला निकायले चिन्ता गर्न थालेका छन् । सम्बन्धित पक्षले आफूले गर्नुपर्ने कर्तव्यबोध नगरेका कारण सवारी दुर्घटना घट्नुको साटो बढेको उनीहरूको निष्कर्ष छ ।

तुलसीपुर उपमहानगरपालिका, प्रदेश प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयको सहयोग तथा रिपोर्टर्स कल्ब दाङको आयोजनामा तुलसीपुरमा भएको सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी बृहत् छलफलमा सरोकारवाला निकायले सबैले आआफ्नो तर्फबाट जिम्मेवारीबोध गरेमा घटना न्यूनीकरण हुने बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांकअनुसार गत साउन महिनादेखि हालसम्म ९३ जनाले अकालमा ज्यान गुमाएको र करिब ९४ करोडबराबरको सम्पत्तिमा क्षति भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवारी दुर्घटना हुनुका धेरै कारणमध्येको प्रमुख कारण डिभिजन सडक कार्यालय पनि भएको बताएको छ ।

‘डिभिजन सडक सिल्पिङ पार्टनर भयो,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख मदन कुँवरले भने, ‘सडक मर्मत, खाल्डाखुल्डी पुर्ने, जोखिमपूर्ण स्थानमा सांकेतिक चिह्न र भिरको छेउमा गोल राउन्ड राख्ने काम थाहै छैन । राम्रीमा गोल राउन्ड भएको भए यति ठूलो मानवीय क्षति हुने थिएन ।’ यद्यपि यातायात व्यवस्था कार्यालयले पनि सवारीसाधन चेकजाँच र रुट पर्मिटमा खासै ध्यान नदिएको गुनासो गरे ।

यता प्रदेश ५ का मुख्य सहरलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले सवारी दुर्घटनामा ९५ प्रतिशत चालकको लापर्बाहीले हुने गरेको दाबी गरेको छ । चेतनाले मात्रै समस्या समाधान नहुने भन्दै प्रदेश प्रहरी प्रमुख पीताम्बर अधिकारीले कार्यान्वयनको खाँचो रहेको बताए ।

‘चालक अनुमति चाहिन्छ भन्ने पनि थाहा छ, ओभरलोड राख्नुहुँदैन भन्ने पनि थाहा छ,’ प्रदेश प्रहरी प्रमुख अधिकारीले भने, ‘दायाँबायाँ हेरेर चेकिङ भइरहेको भन्दा वरै यात्रु ओराल्ने, लाइसेन्स नभएको वा मापसे गरेका भए बीच बाटोबाटै फर्किने गर्छन् । के त्यो चेतना नभएको हो ?।’ सम्बन्धित पक्ष सबैले बुझेको कुरालाई व्यवहारमा कार्यान्वय गर्ने हो भने धेरै हदसम्म सफलताको बिन्दुमा पुगिने उनले बताए ।

यता दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सवारी दुर्घटनामा सबै पक्षको कमजोरी रहेको बताएका छन् । ‘समयमा सवारीसाधन मर्मत नहुनु, लापर्बाही गर्नु, सडक मर्मत नगर्नु, जथाभावी सडक पार गर्नु, सुधारका पक्षमा काम गर्न नसक्नु वा सुरक्षाको दृष्टिकोणले मैले जिम्मेवारी लिनुपर्छ,’ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘थोर बहुत सबै दोषको भागीदार बन्नुपर्छ ।’

यता तुलसीपुर बजारलाई हर्न निषेधित क्षेत्र घोषणा गरिसकेको तुलसीपुर उपमहानगरपालिकाले भने कार्यान्वयमा चुनौती रहेको बताएको छ। सवारी दुर्घटना न्यूनीकरण र बजारलाई व्यवस्थित गर्न सडक पेटी, मिचेर व्यापार गर्दै आएका ठेला, रिक्सालाई कारबाही गर्दा ठूलै चुनौती खेप्नुपरेको भन्दै तुलसीपुुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले सबैको सहयोगबिना सम्भव नभएको बताए ।

दाङलाई सुरक्षित यात्रा र गन्तव्यका रूपमा परिचत गराउन सबैको सहयोगको खाँचो रहेको बताउँदै प्रमुख पाण्डेले दर्ता र लाइसेन्सबिना सञ्चालनमा आएका सवारी साधनलाई नियन्त्रणमा लिन प्रशासनलाई आग्रह गरे ।‘ लाइसेन्स, इन्स्योरेन्स, मापसे, दर्ता सबै चेक गर्नुहोस्, छैन कारबाही गर्नुस्,’ प्रमुख पाण्डेले भने, ‘तपाईंलाई छोड्नुस् भनेर म फोन गर्दिनँ ।’

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close