प्रदेश ५ सरकारसँग राजश्वबारे जानकारी – दाङ खबर
Global Luja Dang

प्रदेश ५ सरकारसँग राजश्वबारे जानकारी

MadanBhandari College

बुटवल, मङ्सिर १८ । प्रदेश नं ५ को सार्वजनिक लेखा समितिले प्रदेश सरकारले सङ्कलन गरेको राजश्व, खर्चका विषयमा जानकारी लिएको छ ।

समितिले आयोजना गरेको बैठकमा प्रदेश नं ५ को अर्थ मन्त्रालयका सचिव थानेश्वर गौतमले सवारीसधान कर, घरजग्गा रजिस्टे«शन करबाट उठेको राजश्व प्रदेश सञ्चित कोषमा जम्मा नभएको जानकारी दिनुभयो । उहाँले मनोरञ्जन कर, प्राकृतिक स्रोत (गिट्टी ढुङ्गा) को शुल्क र कृषि आयकर प्रभावकारी हुन नसकेको उल्लेख गर्दै प्रदेश सरकारबाट बजेट न्यून खर्च भएको छ भन्नुभयो । सचिव गौतमले विज्ञापन कर पालिकाले तोक्ने र पालिकाले कार्यान्वयन गर्ने जानकारी दिनुभयो ।

लेखा समितिका सभापति डिल्ली चौधरीले सुशासन र भ्रष्टाचार रोक्ने कार्यक्षेत्र समितिको भएको उल्लेख गर्दै नदीजन्य पदार्थ अहिले पनि ठेक्का नगएकाले यसमा पनि सुशासन नदेखिएको बताउनुभयो । उहाँले नदीजन्य पदार्थ पहिले थुपार्ने र वर्षायाममा बेच्ने प्रक्रिया भ्रष्टाचार भएको बताउनुभयो । प्रदेशसभा सदस्य तिलक शर्माले करमा एकरुपता नहुँदा समस्या देखिएको बताउनुभयो ।

भौतिक पूर्वाधार समितिमा मन्त्री
प्रदेश नं ५ को भौतिक पूर्वाधार तथा विकास समितिलाई प्रदेशको गौरवका आयोजनाबारे जानकारी दिइएको छ ।

सचिवालयमा बसेको बैठकमा सो प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री वैजनाथ चौधरीले वित्तीय प्रगति शून्य देखिए पनि भौतिक प्रगति भएको जानकारी दिँदै सौर्य तथा वैकल्पिक ऊर्जामा काम गर्न कुनै एकाइ छैन भन्नुभयो । उहाँले पाल्पाको तिनाउ र रुपन्देहीको घमाहामा पुल निर्माणको काम भएको उल्लेख गर्दै १० वटा नीति र विधेयक केही मस्यौदा भएको तथा केहीमा छलफल भइरहेको जानकारी दिनुुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, “स्वीकृत दरबन्दीमध्ये ५० प्रतिशत दरबन्दी अहिले पनि रिक्त छ ।” उहाँले सङ्घीय सरकारले जनशक्ति पूरा गर्न नसक्ने अवस्थामा प्रदेश सरकार स्वयंसेवक जनशक्ति ल्याउन तयार रहेको उल्लेख गर्दै जनशक्ति नभएका कारण काम गर्न ढिलाइ भइरहेको बताउनुभयो ।

प्रदेशसभा सदस्य धर्मलाल श्रीवास्तवले प्रदेश सरकार सुस्त भएको आरोप लगाउँदै प्रभावकारी काम गर्न नसेकेको बताउनुभयो । प्रदेशसभा सदस्य वीरबहादुर रानाले सडक निर्माणका काम नियमित रूपमा हुन नसकेकाले त्यसलाई नियमित गर्न आग्रह गर्नुभयो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close