नेविसंघ बचाउन दुवै गुट सक्रिय – दाङ खबर
Global Luja Dang

नेविसंघ बचाउन दुवै गुट सक्रिय

MadanBhandari College

काठमाडौं मंसिर १ । नेपाल विद्यार्थी संघको नेतृत्व महाधिवेशन मार्फत चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्ने दुई समूहकाबीच नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा नाराबाजी भएको छ।

नेपाल विद्यार्थी संघको महाधिवेशनका सम्बन्धमा छलफल गर्न बोलाईएको पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी हुन आएका नेताहरुलाई दबाब दिन दुवै पक्षले पार्टी कार्यालय परिसरमा नाराबाजी गरेका हुन्।

पुर्व मन्त्री समेत रहेका केन्द्रीय सदस्य वीर बहादुर बलायरले शान्त बस्न आग्रह गर्दा नाराबाजीमा उत्रिएका विद्यार्थी र नेता बलायरबीच झण्डै झण्डै हातहालाहालको अवस्था श्रृजना भएको थियो। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य शुशिल भट्ट लगायतको समूहले महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गर्दै टिके प्रथाको विरोधमा नाराबाजी गरेको हो।

अर्का विद्यार्थी नेता बलदेव तिमिल्सिना लगायतको समूहले नयाँ तदर्थ समिति गठन गरेर अघि बढ्नु पर्ने माग गर्दै नाराबाजी गरेका हुन्। दुवै पक्षले आ आफ्नो हितमा निर्णय गराउन पार्टी कार्यालयमा नाराबाजी गरेका हुन्।

बैठकमा सहभागी हुन आएका सभापति शेर बहादुर देउवालाई दुवै पक्षले घेराबन्दी गर्दै नाराबाजी गरेका थिए। नेविसंघले ३ महिना अघि पार्टी केन्द्रीय समितिमा पेस गरेको विधान र नियमावलि पास हुन नसक्दा नेविसंघको भावि नेतृत्वमा अन्यौल छाएको हो।

भोलिदेखि नेविसंघको थप गरिएको पदावधि पनि सकिँदै छ। विद्यार्थी नेता भट्ट समुहले हालको पदाधिकारीलाई नै महासमिति आयोजक समिति बनाई प्रजातान्त्रिक प्रक्रियाबाट महाधिवेशन मार्फत नेतृत्व चयन गर्नुपर्ने अडान लिँदै आएको छ।

तीन महिना अघि बुझाएको पार्टीको विधान र नियमावलि पास नगरी पार्टी नेतृत्व नयाँ तदर्थ समिति गठन गरी आफु अनुकुलको बनाउने प्रयासमा लागेपछि विरोधमा उत्रिएको विद्यार्थी नेता भट्टले बताए।

यो समाचार तयार पार्दा सम्म पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बस्न सकेको छैन। नेताहरु आन्तरिक बैठकमा बसिरहेको सुचना प्राप्त भएको छ। कार्यालय परिसरमा दुवै पक्षका विद्यार्थीको नाराबाजी चलिरहेको छ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close