गाई र माछापालनले फेरिएको जीवन – दाङ खबर
Global Luja Dang

गाई र माछापालनले फेरिएको जीवन

Birala Tyre Dang

लुम्बिनी, मङ्सिर १-रुपन्देहीको सियारी गाउँपालिका–३, लक्ष्मीपुरका सुभाष कुर्मीलाई २०६१ साल अघिसम्म घर व्यवहार चलाउन धौँधौँ थियो तर, अहिले उहाँ सबै खर्च कटाएर वार्षिक रु ६० लाख बढी बचत गर्नुहुन्छ ।

“बिहानदेखि साँझसम्म जति खटे पनि खानलाउन सारै दुःख थियो, जग्गा जमीनले केही हुन्थेन ।” उहाँले विगत सम्झिँदै भन्नुभयो, “घरमा पालेका दुइवटा गाईको दूध बेचेर जेनतेन घर व्यवहार चलाउँथे ।” अहिले चार पाङ्ग्रे गाडी चढ्न थालेको उहाँले बताउनुभयो ।

कृषि विकास बैंकको सहुलियत दरको रु तीन करोड ऋण अनुदानमा उहाँले शुरु गरेको व्यावसायिक माछा र गाईपालन राम्रो हुँदै गएपछि अहिले दिनचर्या फेरिएको छ । विसं २०६७ मा उहाँले आठ पोखरीबाट माछापालन गर्नुभएका उहाँले पोखरीमा ग्रास, रहु सिल्भर, कमन, नौनी, विगोट र भाकुर जातका माछा पाल्दै आउनुभएको छ । गतवर्ष पोखरीबाट कुर्मीले ३५० क्विन्टल माछा बिक्री गरेको र यस वर्ष ४५० क्विन्टल बिक्री गर्ने लक्ष्य राखेको कुर्मी बताउनुहुन्छ । गतवर्ष नेपालकै सबैभन्दा बढी माछा उत्पादन गर्ने उत्कृष्ट कृषकका रुपमा उहाँले राष्ट्रिय पुरस्कारसमेत पाइसक्नुभएको छ ।

माछापालनसँगै अहिले उहाँले गाई फार्मबाट समेत राम्रो कमाइ गर्नुभएको छ । फार्ममा अहिले होलिस्टोन क्रस, जर्सी र लोकल फिजिसियन गरी तीन प्रजातिका गाई छन् । गाईले दिने दूधबाट दैनिक १२५ लिटर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । साथै उहाँले चार वटा नर्सरी समेत बनाउनु भएको छ ।

माछा र गाई फार्ममा गरी जग्गाबाहेक रु चार करोड लगानी गर्नुभएका उहाँ वर्षेनी माछा उत्पादन वृद्धि भइरहेकोमा दङ्ग हुनुहुन्छ । पैसा नभए पनि योजना भएपछि सरकारी सहयोग पाइने उल्लेख गर्दै उहाँले भन्नुभयो, “मैले व्यावसायिक कृषि गर्ने योजना बनाए, सफल गराउन कृषि विकास बैंकले ठूलो सहयोग ग¥यो ।”

कृषि विकास बैंक लि क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक मीनराज पोखरेलले कृषि पेसा अङ्गाल्ने कृषकलाई ब्याज अनुदान दिएर प्रोत्साहन गरिँर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यावसायिक कृषि गर्नेलाई प्राथमिकताका साथ सहुलियत दरको ऋण दिने सरकारी योजना नै छ ।” रुपन्देहीमा अहिले दूध प्रतिलिटर रु ५० देखि ५२ मा बिक्री हुँदै आएको छ । माछा प्रतिकेजी रु २०० देखि २५० सम्म बिक्री भइरहेको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close