मानसिक रोगीको संरक्षण र उपचार बैशाखदेखि – दाङ खबर
Global Luja Dang

मानसिक रोगीको संरक्षण र उपचार बैशाखदेखि

Birala Tyre Dang

नवीन अभिलाषी
दाङ, कार्तिक २९ । सडकमा भौतारिदै आएका कडा खालका मनोसामाजिक समस्या भएका बिरामीहरुको संरक्षण र उपचारका लागि दाङमा सामाजिक स्तरबाटै काम थालिएको छ । आगामी बैशाख १ गतेदेखि मानसिक रोगीहरुलाई उपचार र संरक्षण गर्नेगरी पुर्वाधार निर्माण भइरहेको छ ।

प्रेरणाका लागि अभियान नेपालले पाँच वर्षदेखि मानसिक सन्तुलन गुमाएका व्यक्तिको संरक्षणका लागि काम गर्दै आएको छ । अहिले घोराही उपमहानगरपालिका वडानम्वर–३ कुहिरेपानी मोहननगरमा ८ कोठे भवन निर्माण अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष श्रीधरकुमार लम्सालले बताउनुभयो ।

१ करोड ५० लाख भन्दा बढि खर्च हुने योजनाका लागि अहिलेसम्म ६० लाख रुपैया खर्च भइसकेको उहाँले बताउनुभयो । ‘पुरुष, महिला र बालबालिकाहरुको लागि छुट्टाछुट्टै भवन निर्माण भइरहेको छ’, लम्सालले भन्नुभयो, ‘उनीहरुका लागि औषधि उपचार, खान, बस्न र उनीहरुको हेरचाह गर्ने व्यक्तिको साथै डाक्टरहरुको समेत व्यवस्था हुन्छ ।’ अहिले निर्माण हुन थालेको भौतिक संरचनाले २५ जना मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई राख्न सकिने छ ।

त्यहाँ राखिने बिरामीहरुका लागि आवश्यक पर्ने औषधि र उपचारका लागि खटिने एक जना डाक्टर र एक जना नर्सको व्यवस्था हेल्थ फाउण्डेसन नेपालले जिम्मेवारी लिएको संस्थाका सचिव गुणाकर भुसालले बताउनुभयो । आउने बैशाखदेखि सेवा दिनेगरी सम्पूर्ण तयारीहरु भइरहेको उहाँको भनाई छ ।

दाङमा मानसिक सन्तुलन गुमाएका २५ भन्दा बढि व्यक्तिहरु रहेको संस्थाले बताएको छ । सर्वेक्षणका क्रममा जिल्लाका घोराही, तुलसीपुर, लमही भालुवाङ र विभिन्न स्थानमा २५ भन्दा बढि व्यक्तिहरु रहेको अध्यक्ष लम्सालले जानकारी दिनुभयो । ‘त्यस्ता व्यक्तिहरुका लागि सरकारले नै पहल गर्नुपर्ने हो । तर, सामाजिकस्तरबाट पनि मनोसामाजिक समस्या भएका बिरामीहरुको संरक्षण गर्न सकिन्छ’, उहाँले भन्नुभयो ।

प्रेरणाका लागि अभियान नेपालले पुर्वाधार निर्माणका लागि आवश्यक आर्थिक संकलनका लागि आयोजना गरिएको धार्मिक महायज्ञ सञ्चालन गरेको थियो । असोज १ गतेदेखि ९ गतेसम्म आयोजना गरिएको महायज्ञबाट १७ लाख ८१ हजार ५ सय ९६ रुपैया बचत भएको संस्थाले बताएको छ । महायज्ञबाट ३४ लाख २४ हजार ३ आम्दानी र १६ लाख ४२ हजार ७ सय खर्च भएको थियो । बचतमध्ये ६ लाख ३६ हजार ७ सय संकलन हुन बाँकी रहेको छ, भने १ लाख ३५ हजार ६ सय ३६ रुपैया जिन्सी सामग्री संकलन भएको संस्थाले बताएको छ ।

अघिल्लो आर्थिक वर्षमा घोराही उपमहानगरपालिकाले ५ लाख रुपैया बजेट बिनियोजन गरेको थियो । जिल्ला समन्वय समितिले समेत १ लाख ३२ हजार रुपैया सहयोग बजेट विनियोजन गरेको थियो भने घोराही वडानम्वर ४ ले १ लाख रुपैया बजेट छुट्याएको संस्थाले बताएको छ । तर, यो आर्थिक वर्षमा कुनै पनि स्थानीय सरकारबाट बजेट बिनियोजन नभएको पाइएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close