Global Luja Dang

कम्युनिष्ट पार्टीको कार्यालय उद्घाटन गर्दै पोख्रेलले भने-नमुना समाजवाद निर्माण अबको मुख्य कार्यभार–पोख्रेल

Birala Tyre Dang

दाङ, असोज २९ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले अबको मुख्य कार्यभार नमुना समाजवाद निर्माण गर्ने भएको बताउनुभएको छ । आइतबार नेपाल कम्युनिष्ट पार्टी दाङको कार्यालय उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टीका प्रदेश इञ्चार्ज समेत रहनुभएका पोख्रेलले लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर मुलुकमा नमुना समाजवाद निर्माण गर्ने नेकपाको मुख्य कार्यभार रहेको बताउनुभएको हो ।

मुलुक समाजवादको दिशातर्फ अगाडि बढिरहेको भन्दै पोख्रेलले प्राप्त उपलब्धीको रक्षा गर्दै नमुना समाजवाद निर्माण गर्ने तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । नेपाली समाजलाई बलियो बनाउन बलियो कम्युनिष्ट पार्टीको आवश्यकता महसुस गरी एमाले र माओवादी केन्द्रका बीचमा एकता गरिएको भन्दै पोख्रेलले अबको एक महिनाभित्र स्थानीय तहका सबै कमिटीहरु एकीकरण हुने बताउनुभयो ।
पार्टी एकताले देशी बिदेशी सबै शक्तिहरु तर्सिएको भन्दै पोख्रेलले सरकार र पार्टी नेतृत्वका विषयमा छरिएका भ्रम चिर्नु आजको मुख्य आवश्यकता रहेको बताउनुभयो । ‘राजनीतिक स्थायित्व हुने देखेर प्रतिक्रियावादी शक्तिहरु तर्सिएका छन् । दुई पार्टीलाई एक हुनबाट रोक्न विभिन्न हत्कण्डा अपनाएका प्रतिक्रियावादीहरुले अहिले सरकार र पार्टी नेतृत्वका बारेमा विभिन्न भ्रम छर्ने काम गरेका छन्’, पोख्रेलले भन्नुभयो, ‘अहिलेको समय बलियो कम्युनिष्ट पार्टी बनाउने हो । यस्तो बेलामा सबै सचेत हुनु जरुरी छ ।’

सरकारलाई काम गर्न नदिने मुख्य अश्त्र प्रयोगमा परिवर्तन बिरोधीहरु लागिपरेको बताउँदै मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘वर्तमान सरकार बिगतको जस्तो सरकार होइन । पाँच वर्षभित्रमा मुलुकमा व्यापक परिवर्तन गर्ने महान् अभियानमा सरकार छ । बिग्रिएको अर्थतन्त्र सुधार गर्ने कार्यमा सरकारले सफलता हासिल गरेको छ’, मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘सरकारले स्रोतको व्यवस्थापन गरिसकेकाले अब बहुप्रतिष्ठित योजनालाई अगाडि बढाउँदै छौं ।’

सरकारको वजेटको विषयमा जनतालाई बुझाउन नसक्दा समस्या भएको भन्दै मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘हामीले वजेटको महत्व बुझाउन नसक्दा बिरोधी शक्तिहरुले चलखेल बढाएका हुन् । अब सबैले जनताहरुलाई यस विषयमा सचेत बनाउनुपर्छ ।’ हरेक योजनाहरु सफलता उन्मुख भइरहेको भन्दै मुख्यमन्त्री पोख्रेलले दाङको माथिल्लो क्षेत्र भएर मदन भण्डारी राजमार्ग र तल्लो क्षेत्र भएर रेल सञ्चालनको योजना सफल हुँदा दाङको समृद्धि हुने बताउनुभयो ।

दाङ बृहत सिचाई आयोजना र माडी डाइभर्सन यहाँका समृद्धिका आधार भएको मुख्यमन्त्री पोख्रेलले बताउनुभयो । योजनाको महत्व नबुझ्ना दाङले विगतदेखि नै धेरै अवसर गुमाएको भन्दै मुख्यमन्त्री पोख्रेलले सर्वदलिय बैठक बसेर जग्गा उपलब्ध गराएको ५ वर्षभित्रै अन्तर्राष्ट्रिय स्तरको एयरपोर्ट बनाउने कार्यको जिम्मा आफूले लिने बताउनुभयो ।

कार्यदलका सदस्य टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कार्यदलका सदस्य शिवकुमार आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो, भने कार्यदलका सदस्य सुवास पुनले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close