नेकपाको सचिवालय बैठक आज बस्दै : भातृसंगठन, प्रदेश र जिल्ला नेतृत्व टुंगो लगाइने – दाङ खबर
Global Luja Dang

नेकपाको सचिवालय बैठक आज बस्दै : भातृसंगठन, प्रदेश र जिल्ला नेतृत्व टुंगो लगाइने

MadanBhandari College

काठमाडौँ, भदौ २७ । प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकतालगायतका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।

यसअघि पटकपटक स्थगित हुँदै आएको बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सचिवालय बैठक बोलाउने विषयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार छलफल भएको थियो ।

तल्ला तहका एकता प्रक्रिया टुङ्ग्याउन बैठक बस्न लगेको हो । प्रवक्ता श्रेष्ठले तल्ला तहका साङ्गठनिक एकता गर्नका लागि बैठक बस्ने थालेको बताउनुभयो । ‘‘बैठकमा पार्टीलाई बुझाइएको प्रतिवेदनका बारेमा छलफल हुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘ती प्रतिवेदन हेरी एकताका लागि निर्णयसमेत गर्दै जानेछौँ ।’’

जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तल्लो तहको पार्टी एकता तीन महीनाभित्र गरिसक्ने बताइएको थियो । एकताका लागि गठन गरिएका कार्यदलले प्रतिवेदन नबुझाउदा प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया लम्बिएको छ । ती तहको पार्टी एकताका लागि चार सदस्यीय कार्यदल बनेको थियो ।

कार्यदलले भदौ ५ गतेभित्र एकताका लागि प्रतिवेदन पेश गर्ने भने पनि नाम र नेतृत्वमा सहमति हुन नसक्दा प्रतिवेदन पेश गर्न सकेनन् । पुनः सचिवालय बैठकले भदौ ७ गतेसम्म जेजस्तो अवस्थामा त्यही अवस्थामा प्रतिवेदन बुझाउन भनिए पनि कुनै कमिटीले पनि प्रतिवेदन बुझाएका थिएनन् । अहिलेसम्म जनवर्गीय सङ्गठनमा इञ्जिनियरङको मात्र एकता भएको छ ।

जनसांस्कृतिक महासङ्घ नेपाल, भूमिहीन र वकिलको सङ्गठनको एकता गर्न बनेको कार्यदलले मात्र प्रतिवेदन पेश गरेको छ । विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राख्ने सहमति भए पनि नेतृत्व टुङ्गिएको छैन । युवा सङ्गठनमा नाम र नेतृत्वमा सहमति हुन सकेको छैन । अहिलेसम्म प्रदेश नं १ र २ कमिटीबाहेक सबै प्रदेश कमिटीले प्रतिवेदन पेश गरेका छन् । प्रदेश एकता कमिटीले प्रदेश, जिल्ला र सल्लाहकार कमिटीको नामावली बुझाएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close