तीज पर्व–हिजो र आज – दाङ खबर
Global Luja Dang

तीज पर्व–हिजो र आज

MadanBhandari College

प्रतिमा केसी-यतिबेला घरदेश होस् वा परदेश हाम्रो नेपाली समाज तीजको माहोलले निकै तताएको कुरा सामाजिक सञ्जालहरुमा देख्न तथा पढ्न पाइन्छ । यसैगरी महिनौं अघिदेखि यस्तो नाचगान र खानपानको गर्मी बढेर जाने हो भने हामीले यसलाई आर्थिक हिसावले थेग्न सकिएला ? अथवा भनौं हामीले हाम्रो यो सांस्कृतिक चाड तीजलाई तीजकै रुपमा बचाउन सकिएला ? भन्ने कुराले मनमा डेरा जमाइरहेको छ निकै समयदेखि घच्घचाइरहेको छ।

विभिन्न संघसंस्थाहरुलाई तीजको कार्यक्रम आयोजना गर्न, कलाकारहरुलाई गीत गाउन र म्युजिक भिडियो बनाउन, आफन्तजनहरुलाई तीजको दर खुवाउन, पसलेहरुलाई साडी र सुन बेच्न भ्याइनभ्याइ छ । लाग्छ, हाम्रा चाडवाडको ‘रानी चाड’ नै तीज हो । ‘वेलायतको वक्ताको कुनो’ जस्तै नेपाली महिलाहरुका लागि तीज भएको हुनुपर्छ सायद ।

हाम्रो नेपाली समाज र हिन्दु संस्कृति अनुसार तीज, दसँैं र तिहार हाम्रा महान राष्ट्रिय पर्व हुन् । विहे गरेर पराइघर गएका चेलीवेटीहरुलाई बाबु, दाजुभाइ वा भदैहरु उनीहरुको घरमा लिन जाने र मिलेसम्म लिएर आउने चलन थियो । तीज पर्वले विहे गरेर टाढा गएका छोरीचेलीहरु र माइतीहरु विशेष गरी बा आमासँग भेटघाटको अवसर जुराउँथ्यो। बुहारीले कडा वुहार्तन खप्नु पथ्र्याे। असार साउनको खेति लाउने कामको व्यस्तता र थकाइले गलेको शरीर र मनलाई पुनर्ताजकी बनाउन बा आमाको माया र प्रेमपूर्वक पकाइएको भोजन जीवनदायिनी अमृत नै हो ।

घरमा भएका वस्तुभाउहरुको लागी २÷३ दिन पुग्ने घाँसको व्यवस्था गरेर भए पनि माइतजानका लागि बुहारीहरु निकै उत्साहित हुन्थे ।
हजुरआमाहरुको समेत खुसीले भुइँमा खुट्टै हुने थिएन । घरमा भएका चीजलाई मिठो मसिनो गरी पकाउने विशेष गरी प्रसस्त ध्यु हालेर पकाइएको चाम्रे (रातो वोक्रा हुने अनदी धानको एक प्रकारको भात), विभिन्न मसलाहरु हालेर पकाइएको खीर, पाकेको पहेंलो काँक्राको अचार, अमिलाइएको तामा, चिचिन्डा र घिरौंलाको तरकारी, दहीकेरा आदी परिकारहरु खाने चलन थियो । टोलछिमेकमा जस्को ठूलो आँगन छ त्यहाँ छरछिमेकी तथा दिदीबहिनीहरु सबै जम्मा भएर गीत गाउने, नाच्ने गर्थे दाजुभाइहरुले मादल बजाइदिन्थे । घरमा तथा समाजमा भोगेका दुःखपीडालाई गीतको माध्यमबाट पोखिन्थ्यो। आफ्ना छोरीचेलीका ती विलौना सुनेर कति बावुआमाहरु रोएको पनि देखिन्थ्यो ।

‘शिरै लाउनी शिरफूल वाकसमा राखुँला, यो मनको वेदना केमा राखूँला’, ‘म चेली अभागिनी माइतै बस्न परेको सधँैभरि बाबालाई भुटोवरिलै’, ‘बिहानै उठेर दैलोपोतो गरे, जेठाजुको अगाडि कपाल नकोरे’ जस्ता वेदना र अर्ति उपदेशका गीतहरु गाइन्थ्यो । समयको विकासक्रमसँगै विभिन्न घटनाक्रमलाई आधार बनाएर गीत रचना गर्ने चलन आयो । त्यसपछि गीतहरुलाई संकलन गरी कितावको रुपमा तीज गीत प्रकाशन हुन थाल्यो । क्यासेटहरु निस्कन थाले । वजारमा पुस्तक र क्यासेटहरुको धमाधम किनबेच हुन थाल्यो । अहिले हामीहरु म्युजिक भिडियोको समयमा छौं । कलाकारहरुलाई मञ्चमा गीत गाउन लगाएर हामी तल कम्मर मर्काइ मर्काइ नाच्छौं । न त आफैले गाउन वजाउन पर्छ न त तीजको दर पकाउन बुढी आमालाई चिसा दाउराको धुवाँमा पिरोल्निनु पर्छ । रेस्टुराँ, पार्टी प्यालेसनै दर खुवाउन तीजमय वनेका छन् । समयको विकाससँगै हामीले पनि सुविधा भोग्न पाएका छौं । देशमा मात्र हैन विदेशमा पनि प्रशस्त भोजभतेर भइरहेका छन ।

विदेशमा पनि कलाकारहरु वोलाउछौं सभा समेलन र नाचगान गरी रमाइलोको अनुभुति गर्छौं । आ आफ्ना संस्कृति झल्किने गरगहना र पोशाक लगाइ आफ्नो संस्कृति प्रतिको प्रेम दर्शाउछौं। तीज हिन्दु नारीहरुको मात्र नभएर सम्पुर्ण नेपालीनारीहरुको महान पर्व वनेको छ यो खुसीको कुरा हो । समयको विकासलाई स्वीकार्नु पर्छ।दशैं र तिहारमा सार्वजनिक विदा दिए पनि हाम्रो पितृसत्तात्मक राज्यलाई तीजको विदाको महसुस भने नभएकै हो ।

तीजको अघिल्लो दिनमा (दुतिया) मीठा मिस्ठान्न भोजन खाइ भोलिपल्ट तीजको व्रत वसी अविवाहित महिलाले असल पति र विवाहित महिलाले पतिको दिर्घायूको कामना गरी देवका पनि देव महादेवको पूजा आराधनागर्ने परम्परा छ । पहिले श्रीमानको खुट्टाको जल खाने चलन थियो । जल खानु र खुट्टा ढोग्नु सरासर दासता हो भने चरम महिला शोषण पनि। चेतनाको विकाससँगै यो चलन निकै कम भएको छ । हरेक मान्छेले आफ्नोआयु आफै लिएर आएको हुन्छ कसैले थपघट गर्न सक्दैन । रह्यो कुरा व्रतको धर्मशास्त्र, ज्योतिषशास्त्र र विज्ञानशास्त्र सबैले हप्तामा एकदिन उपावास वस्नु स्वास्थ्यको लागी राम्रो मानेका छन यदि आफ्नो शरिर स्वस्थ्य रसमयानुकूल छ भने व्रत वस्नु महिलार पुरुष दुवैको लागी राम्रो हो तर पानी पनि नपिइ व्रत वस्नु गलत हो ।

हाम्रो समाज पितृसतात्मक समाज हो । पुरुषहरु नै परिवारको मुलि, समाजका नाइके, राष्ट्रप्रमुख, धर्म, नितिनियम, धन, वल, वुद्दि सबैमा आफुलाई सर्वमान्य वनेको अवस्थाले गर्दा पुरुषहरुलाई भगवान समक्ष असल श्रीमतीको निवेदन गर्नु परेन होला किनभने असल र कुशल पत्नी नपरे पनि उनिहरुलाई वहुविवाह गर्ने स्वतन्त्रता थियोभने महिलाहरु सति जानु पथ्र्याे। यो समयमा सतिप्रथा र वहुविवाह दुवै हटिसकेका छन्। सबै क्षेत्रबाट समानताको कुरा उठिरहेको छ। तीजको गीतमा केटामान्छे कम्मर मर्काएर नाच्न हुन्छ भने तीजको वर्त लिन किन नहुने ? आउनुहोस यसपालीको तीजबाट पतिहरुले पनि पत्नीहरुको दिर्गायू र सुस्वास्थ्यका लागि ब्रत बस्नुहोस् पत्नीप्रतिको निस्ठा देखाउनुहोस् । कतिले सक्नुहुन्छ ?

शिवजीको व्रत बस्दा शिवलिंगमा पूजा गर्ने चलन छ। धार्मिक ग्रन्थहरुले पनि शिवलिंगको चर्चा गर्छन् । आदर्शपुरुष रामले पनि शिवलिंगको पुजा गरेको देखाउँछ हिन्दि सिरियल ‘सिया के राम’ ले। अरु सबै भगवानको मुर्ति र फोटोमा पूजा गरिन्छ । तर, शिवजीको मात्र किन शिवलिंगमा पुजा गरिएको होला खै ! यस्तो संस्कार किन र कसरी चल्यो म जानकार छैन । तर, मैले बुझ्ने भएदेखि हाम्रो समाजले यही स्वीकारीरहेको छ यसलाई अश्लील मानेको छैन किन ? मैले पनि धेरैपटक शिवलिंग पूजा गरें मनमा कुनै शंका उत्पन्न भएन । यतिवेला विभिन्न पत्रपत्रिकामार्फत् शिवलिंग पूजा अश्लील हो । शिवलिंग पुजा गर्न हुने छोटा र पातला कपडा लगाइ नाइटो देखाउँदा छाडा भइन्छ ? भन्ने खालका थुप्रै प्रश्नहरु पत्रपत्रिका र सामाजिक सन्जालमा उठेको देखिन्छ । अव यस प्रश्नको उत्तर हिन्दु धर्मका ज्ञाताहरुले नै दिनुपर्छ ।

यसैगरी आजको एक्काइसौं शताब्दीमा आइपुग्दा हरेक कुरा परिवर्तन भएको छ तीज परिवर्तन हुन किन नहुने ? भन्ने प्रश्न पनि उठिरहेका छन। द्रूत गतिमा आधुनिकतातिर बढिरहेको हाम्रो नेपाली समाज तीज विशेषको लागी महिनौं अघिदेखि तयारीमा जुटिरहेको देखिन्छ जस्तै म्युजिक भिडियो वनाउने, गीत रेकर्ड गर्ने आदि । दोहोरीमा जस्तो गाउने र फिल्ममा जस्तो नाच्ने आजभोलिको तीजगीतले कसैको पनि मन पगाल्दैन बरु दाजुभाइ, बुवा,काकाहरुसँग वसेर हेर्न सुन्न असजिलो लाग्ने दृश्य र शब्दहरुमा कैद भएको छ तीज ।

महिनौं अघिदेखि दर खाने खुवाउने महँगा कपडा र सुनको किनबेचको बढ्दो चहलपहलले तीजको भड्किलो गन्ध आइरहेको छ । नारी आफैमा कोमल छे सुन्दर छे, चेतनाको दियो वाल हिरा भन्दा चम्कन्छे । तर, समतामुलक समाजको कल्पना गर्ने हामी नारीहरु नै गहना र कपडामा लोभिदै गयौं भने यो नश्वर शरिर त चम्केला तर कति दिन ? हाम्रो समाजले महिलाई आदर्शको रुपमा हैन जानेर होस या नजानेर नांगो हेर्न चाहन्छ । वास्तवमा हामी जुन कुराको विरोध गरिरहेका हुन्छौं त्यही कुरा आफैले अपनाइरहेका हुन्छौं । यो समयमा हाम्रो देशको विभिन्न पदहरुमा लैंगिक कोणबाट मूल्यांकन गर्ने हो भने राज्यका प्रमुख अंगहरुमा महिलाहरुले नेतृत्व गर्नु भएको छ जुन कुरा महिलाको अवस्था राम्रो भएर हुनुपर्ने हो । तर, अहिले पनि देशका कुना कन्दरामा लाखौं दिदीबहिनीहरु एकसरो कपडालेमात्र लाज ढाक्न बाध्य छन अनि समाजमा महिला हत्याहिंसा र वलत्कारकारका घटनाहरु जस्ताको तस्तै छन् किन ?

तीज व्यापारिक मेला जस्तो बन्दै गएको छ । शिवलिंगको विरोध गर्ने तीजले गिट्टी कुटेर छाक टार्ने नारीको अगाडी फुलवुट्टे साडीमा तोलाका तोला सुनको हार, हातमा बाला र घाटीमा तिलहरी भिरेर हिंड्छ तीजले । यही माहोल यथावत रहने हो भने हाम्रा पर्वहरु साधारण मान्छेको पहुँच भन्दा बाहिर जाने सम्भावना बढ्दै गएको छ। कसैको किन्न सक्ने क्षमता भएर पनि लगाउने शोख हुंदैन भने कसैलाई शोख भएर पनि किन्ने क्षमता हँुदैन । वजारको धर्म बेच्नु हो पैसा कमाउनु हो। विक्रि भएसम्म सबै बेच्छ र आइमाई जातिको विज्ञापन गरी उस्का खाली आँखाको भोको प्यास मेटाउँछ । हामी यो रहस्य बुझ्न खोज्दैनांै। तीजको निहुँमा बजारले के–के बेचिरहेको छ हामीलाई राम्री पुतली मात्र हैन कठपुतली बनाएको पनि छ । त्यसैले तीजलाई गहना र कपडाको मात्र शहरको रुपमा विकास गर्यौं भने भोलि हाम्रो पनि परिचय खोज्न नपर्ला भन्न सकिन्न ।

हामीले हाम्रा भावी सन्ततीहरुलाई कस्तो संस्कार र संस्कृति हस्तान्तरण गर्ने त्यो कुरा प्रमुख हो । यो हाम्रो सोच र व्यवहारमा भर पर्छ अनि अहिले भैरहेको विकास र परिवर्तनमा पनि। समय परिवर्तनशील छ, यसको साथसाथै सबै कुरा परिवर्तन हुन्छन् र हुनुपर्छ। हामी सबै एकदिन मरिन्छ यो धु्रवसत्य कुरा हो अनि खगोलविद्हरु पनि यो पृथ्वी ध्वस्त हँुदैछ भन्दै तिथिमिति तोक्छन् । सबै कुरा परिवर्तनशिल छ । तर, हामीले ल्याउने परिवर्तन सबैका लागि सहज र सकारात्मक हुनुपर्छ । सबैको पहुँचमा हुनुपर्छ । हाम्रा धर्म र संस्कारमा भएका गलत अर्थ लाग्ने विषयहरुलाई परिमार्जन गरी हाम्रो संस्कृति वचाउनुपर्छ मर्न दिनु हुँदैन भने परिवर्तनको आगोमा सल्केर हामी पनि मर्नु हुँदैन । हामीले घर बनाउँदा जतितलाको बनाए पनि जग जमिनबाटै उठाउनुपर्छ त्यस्तै गरी हामीले चाडबाड मनाउँदा त्यो पर्वको मुलभुत कुरा के हो भुल्नु हुँदैन । पर्व मनाउने निहुमा पर्वलाई अपर्व बनाउनु पनि हुँंदैन। वजार तताउन, पैसा कमाउन बनाइएका सबै म्युजिक भिडियोहरुले के साँच्चै तीजको सही वकालत गरेका छन् वा संस्कृतिको नाममा बिकृति थपिएका छन् ?

संसारमा धेरै देश, जात र धर्मका मान्छेहरु छन् । सबैले आफ्नो धर्म, संस्कार र संस्कृति बचाइराखेका छन् । सबैभन्दा लचिलो र खुकुलो हामी नै छौं होला । हामीले नै धर्म परिवर्तन गर्छौं, हामीले नै पाश्चात्य संस्कृति भित्र्याउँछौं र भन्छौं विविध संकृतिले धनि हाम्रो देश । भोलि हाम्रो संस्कृति कुनै एनजीओ आइएनजीओले कोर्ष बनाएर पढाउनु पर्ने, छिमेकीसँग सापटी माग्नु पर्ने हुने पो हो कि ?

माथिका यी सबै विचार पोख्नुको मतलव म तीजको विपक्षमा, परिवर्तनको विपक्षमा भएको हुँदै होइन । समाज परिवर्तन एउटा ब्यक्तिले गर्न सक्ने विषय पनि होइन। हाम्रो देश, हाम्रा संकृतिहरु कितावमा नभएर हाम्रा दैनिक जीवनमा हामीसँगै भावानात्मक रुपमा सम्मानपुर्वक युगौंयुगसम्म बाँचिरहून्, हामीलाई त्यसको मुलमर्मसँगै बचाइरहून् भन्ने हामी सबैको चाहना हो । हरेक नेपाली महिलालाई मन पर्ने पर्व हो तीज । तीज मनाउनु पर्छ यसमा कसैको दुइमत छैन तर सबैको पहुँच पुग्ने हिसावले सहज, सभ्य र भव्य तरीकाले मनाउनु पर्छ । महिनौंदेखि चल्ने खर्चिलो र भड्किलो तीजलाई कुशे औंसी (बाबाको मुख हेर्ने दिन) देखि पन्चमीसम्म ५ दिनसम्म मनाउने गरेमा सरल र व्यवस्थित हुन्थ्यो कि ।

अन्तमा तीज भव्य र सभ्य सुखद् होस् । देश विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई हरितालिका तीज २०७५ को हार्दिक शुभकामना ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close