Global Luja Dang

राप्तीको जेठो पुस्तकालय सर्वोदयको रूप फेर्ने अभियान

Birala Tyre Dang

दाङ, भदौ १५ । दाङको घोराहीस्थित राप्तीकै पुरानो पुस्तकालय सर्वाेदयको रूप फेर्ने अभियान थालिएको छ । समयअनुसार डिजिटल प्रविधिमा अध्ययन गर्ने र प्रोजेक्टरबाट प्रस्तुति गर्ने तयारी थालिएको हो ।

पुस्तकको संख्या बढाउन र दिगो बनाउन अक्षय कोष वृद्धि अभियान चलाइएको छ । अक्षय कोषका लागि आजीवन सदस्य बढाउन थालिएको हो । हाल १ सयभन्दा बढी सदस्य छन् । आजीवन सदस्य बन्न १ हजार ५ सय रुपैयाँ लाग्छ । पुस्तकालय सञ्चालनमा सहजताका लागि अक्षय कोष स्थापना गरिएको हो ।

अक्षय कोषमा हालसम्म ५ लाख ५० हजार जम्मा भएको र १५ लाख रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको व्यवस्थापन समिति अध्यक्ष सुशील गौतमले बताउनुभयो । संघीय संसदा सभामुख कृष्णबहादुर महरा, नेकपाकी सचेतक शान्ता चौधरी लगायत उच्च तहका व्यक्ति पनि आजीवन सदस्य बनेको उहाले बताउनुभयो । ‘अन्य महत्त्वपूर्ण व्यक्तिहरू पनि आजीवन सदस्य बन्ने क्रम जारी छ,’ उहाले भन्नुभयो, ‘यसले पुस्तकालयको महत्व बढाइरहेको छ  ।’ २०१० जेठ १२ मा स्थापना भएको पुस्तकालयले ठूलो आरोहरअवरोह झेलेको छ ।

प्रजातन्त्रको उदयसँगै प्राप्त शिक्षा, अभिव्यक्ति र राजनीतिक स्वतन्त्रताको उपयोग गर्दै खोलिएको पुस्तकालय विभिन्न कठिनाइका बाबजुद पनि अहिलेसम्म टिकेको छ । ‘पञ्चायतकालमा पुस्तकालय खोल्नै गाह्रो थियो । अधिकांश नेता र राजनीतिक दलका समर्थकको पढ्ने थलो नै यही भएका कारण निगरानी बढ्यो,’ गौतमले भन्नुभयो, ‘एक पटक सबै पुस्तक चोरी भए । फेरि पुस्तक जम्मा गरेर पुरानै अवस्थामा फर्काइयो ।’ समाजसेवी टेकनाथ गौतमले दान दिएको १५ धुर जग्गामा श्रमदान गरेर घर निर्माण गरिएको थियो ।

पुरानै संरचनाको घरमा अहिलेसम्म पुस्तकालय चलेको छ । घोराही १४ गौतमनगर टोलमा अवस्थित पुस्तकालय बजार विस्तारका कारण निकै साँघुरो हुँदै गएको छ । भएको संरचना बचाउँदै समयअनुसार विकास गर्न प्रविधिमैत्री बनाइरहेको समिति कोषाध्यक्ष एवं गौतमनगर टोल विकास समिति अध्यक्ष नुमानन्द आचार्यले बताउनुभयो ।

‘पुरानो पुस्तकालयको अस्तित्व बचाउन र निरन्तर चलाइराख्न आर्थिक स्रोतको खोजी गरिरहेका छौं,’ उहाले भन्नुभयो, ‘पुस्तकहरू थप्ने क्रम पनि जारी छ । विभिन्न व्यक्ति र संघसंस्थाले सहयोग गरिरहेका छन ।’

प्रदेश ५ सरकारले यसपटक पुस्तकालयको विकासमा ५० लाख र शिक्षा मन्त्रालयले १० लाख रुपैयाँ विनियोजन गरेका छन । यसबाट भवन वृद्धि गरी ई–लाइब्रेरी बनाउने योजना रहेको समितिले जनाएको छ । बालपुस्तकालय पनि स्थापना गरिएको छ । जसबाट बालबालिकाले नियमित लाभ लिइरहेका छन । पुस्तकालयमार्फत भाषा शुद्धीकरण अभियान चलाएर घोराहीलाई शुद्ध भाषाको सहर बनाउने योजना रहेको व्यवस्थापन समिति सदस्य शारदा शर्माले बताउनुभयो । ‘अब टोलटोलका साइनबोर्डमा शुद्ध भाषा प्रयोग गर्ने अभियान चलाएका छौं ।’

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close